पासाङल्हामु राजमार्ग सुधार कार्य शुरू
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चे–स्याफ्रुबीच सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य शुरू भएको छ । रसुवा तथा नुवाकोट जिल्लाका सडक मार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा जिल्लाको सानुभार्खु खोल्छा आसपासको असहज स्थानमा ग्याविन पर्खाल लगाउने काम अगाडि बढाएको हो । बाह्र घुम्ती क्षेत्रको सतहमा बिग्रिएका सडकसमेत मर्मत अगाडि बढाएकोे छ । समयमै राजमार्ग मर्मतको थालनीले नेपालको उत्तरी नाका रसुवागढीबाट आयात निर्यात हुने सामग्रीको साथै रसुवामा सञ्चालित विद्युत् आयोजनामा एवं अन्य विकास निर्माणका सामग्री ढुवानीमा सहज हुने आशा बढ्न थालेको छ । सडक सतहमा गत वर्ष भएको सामान्य मर्मत सुधारले खाद्यान्न ढुवानीका साथै नियमित चल्ने यात्रुवाहक बस तथा एम्बुलेन्सलगायतका सवारी साधन चलाउन केही सहजता आइसकेको सवारी चालकले बताएका छन् । नेपाल–चीनबीचको व्यापार व्यवसाय गर्ने अन्तर्राष्ट्रिय राजमार्ग भएकाले पछिल्लो समय मर्मत सुधारमा सडक प्राविधिकले ध्यान दिन थालेको स्थानीयवासीले बताएका छन् । बेत्रावतीबाट कालिकास्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्म ५४ किलोमिटर भू–भागअन्तर्गत राजमार्गको जीर्णस्थान विष्लेषण गरी मर्मतमा पहिलो प्राथमिकता दिने कार्ययोजना अनुरूप काम अगाडि बढिरहेको इञ्चार्ज इञ्जिनीयर राजेन्द्र मर्हजनले बताए । टेवा पर्खाल र सडक सतहको ढलान कार्य स्याउबारी तथा ग्राङक्षेत्रमा समेत अगाडि बढाइएको छ । यस चालु आर्थिक वर्षभित्र ५४ किमी राजमार्गको इलाकाभित्र ७०० मिटर सडक सतहमा ढलान गर्ने कार्ययोजना बनिसकेको बताइन्छ । लागत अनमान गराई निर्माण व्यवसायी छनोटको कामसमेत सम्पन्न भइसकेकाले सडक मर्मतको काम छिटोछरितो हुने सडक डिभिजन कार्यालयले जनाएको छ । चालु आवमा रसुवा खण्डका पासाङल्हामु राजमार्ग ममर्तमा रु छ करोड ५० लाखभन्दा बढी खर्च हुने प्राविधिकले बताएका छन् । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने रसुवा तथा नुवाकोटका राजमार्ग सुधार गराउन यस वर्ष नेपाल सरकारले यथेष्ट बजेट व्यवस्था गरेको बताउँदै सडक कार्यालयका प्रवक्ता रामप्रसाद पौडेलले राजमार्गको मर्मतसम्भार छिटोभन्दा छिटो सम्पन्न गराउन सम्पूर्ण प्राविधिक समूह अहोरात्र जुटिरहेको जानकारी दिए । गत आवमा ग्राङ एवं मुलखर्क आसपास क्षेत्रका सडक सतहमा भएको ढलानले सवारी साधन चलाउन निकै सहजता आएको सवारी चालक सुवास तामाङले बताए । स्याफ्रुबेँसीबाट रसुवागढी क्षेत्रको १६ किलोमिटर भू–भागको राजमार्ग भने रसुवागढी जलविद्युत् आयोजनाले मर्मत सुधारको काम गर्दै आएको छ । वर्षायामको पहिरो पन्छाउने र हिउँदमा सडक सतह सम्याउनेजस्ता मर्मतका अधिकांश काम जलविद्युत् आयोजनाबाट हुँदै आएको जानकारी दिँदै गोसाइँकुण्ड गाउँपालिका–२ ले सडक निर्माण भएयता हालसम्म टेवा पर्खालको काम भने नभएको बताएको छ । चीन सरकारको सहयोगमा निर्माण भएकोे स्याफ्रुबेँसी–रसुवागढी राजमार्गका भू–भागमा डोजरले मिलाएको भरमा मात्र निर्वाधरूपमा सयौँ सवारी साधन आउजाउ भइरहेको टिमुरे घट्टेखोलाका समाजसेवी सुनामवाङदी तामाङले जानकारी दिए । रासस
ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभरको निर्माणका लागि अध्ययन सुरु
काठमाडाैं । काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । परामर्शदाता कम्पनीले ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार यसका लागि अहिले विस्तृत डिजाइन गर्ने काम अघि बढिरहेको छ । यस वर्ष निर्माणका लागि ठेक्कामा जान सकिने उनको भनाइ छ । उनले भने, “कम्तीमा एउटा ठाउँमा भए पनि ठेक्का प्रक्रियामा जान सकिनेछ ।” यस वर्ष ग्वार्कोमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आवमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण अघि बढाइने योजना रहेको छ । चीन सरकारले दुई वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथको चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएहको छ । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै आकाशेपुल निर्माण सम्पन्न गरेको छ । ती स्थानमा ‘फ्लाइओभर’ बनाउन आकाशेपुल भत्काउन नपर्ने उनले बताए । उनले भने, “आकाशेपुल नभत्काएर पनि त्यही ठाउँमा बनाउन सकिने विकल्प छ ।” सरकारले चालु आर्थिक वर्षमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । सरकारको लगानीमा निर्माण हुन लागेका यी नै पहिलो फ्लाइओभर हुनेछन् । ती ‘फ्लाइओभर’ चार लेनको हुने विभागले जनाएको छ । निर्माण शुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने बताइएको छ । नेपाली निर्माण व्यवसायीलाई नै निर्माणको जिम्मेवारी दिन सकिने महानिर्देशक शर्माले बताए । विगतमा जटिल प्रकतिका पुल निर्माण गरेका व्यवसायीलाई नै यसको जिम्मेवारी दिइनेछ । उपत्यकामा अबको केही वर्षमा विभिन्न स्थानमा ‘फ्लाइओभर’ को निर्माण हुने भएको छ । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि फ्लाइओभर नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेको हो । सरकारको लगानीमा यी तीन स्थानमा निर्माण गर्ने योजना बनाइरहँदा चक्रपथमा चीन सरकारले, कोटेश्वर, बानेश्वर र थानकोटमा जापान सरकारको सहयोगमा निर्माण गर्ने गरी छलफल भइरहेको छ । यी सबै ‘फ्लाइओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा फ्लाइओभरको सङ्ख्या झण्डै आठ पुग्नेछ । काठमाडौं उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थान बानेश्वर र जडीबुटी चोक रहेका छन् । यी दुवै स्थानमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ‘फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ । जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ । बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ । त्यस्तै नेपालको सडक यातायातको इतिहासमा पहिलो नेपालकै पहिलो आधुनिक सुरुङमार्ग निर्माण हुँदा त्यससँगै ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण हुँदैछ । नागढुङ्गा सिस्नेखोला सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ । सो सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्ने बताइएको छ । जाइकाले आर्थिक र प्राविधिक सहयोग गर्ने गरी सरकारसँग सम्झौता भएको थियो । गत वर्ष असोजमा सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गरेका सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो । विसं २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रूपमा कलङ्की–चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा फ्लाइओभर र अण्डरपास निर्माण गरिने भएको छ । चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म अण्डरपास निर्माण गरेको थियो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकमा जाम हुने भन्दै फ्लाइओभर र सुरुङको विकल्प खोज्न थालिएको हो । रासस
म्याग्दीमा मोटर चल्ने तीन पुल निर्माण शुरु
सांकेतिक तस्विर बागलुङ । गण्डकी प्रदेश सरकारले म्याग्दीमा मोटर चल्ने तीन वटा पुल निर्माण एकैसाथ शुरु गरेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामीण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण शुरु गरिएको हो । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले नौ करोड ८० लाखको लागतमा ठेक्का सम्झौता गरेका फरक–फरक निर्माण कम्पनीहरुले पुल निर्माणलाई तीव्रता दिएका जानकारी दिए । “गत आर्थिक वर्षमै सम्झौता भए पनि कोरोनाको जोखिम र बाढी पहिरोका कारण व्यवसायी कार्यक्षेत्रमा परिचालन हुन सकेका थिएनन्”, उनले भने, “हिउँद लागेसँगै पुल निर्माणको काम धमाधम भइरहेको छ । निर्धारित समयभित्रै पुल निर्माण गरिसक्ने तयारीसहित ठेकेदारले उपकरण र मजदुर परिचालन गरेका छन् ।” मालिका गाउँपालिकाको दरबाङदेखि सिरदी हुदै निस्कोट र मङ्गला गाउँपालिकाको अर्मन जोड्ने सडकअन्तरगत म्याग्दी खोलामाथि ४० मिटर लामो ट्रस प्रविधिको पुल निर्माण गर्न चार करोड ४५ लाखमा प्रदीप–जुम्ली जेभीले ठेक्का लिएको छ । विसं २०७७ साउन ४ गते सम्झौता भएको यो आयोजनाको म्याद दुई वर्षको छ । खोलाको दायाँ र बाँया किनारमा पहाड भएकाले त्यसैमा खाडल खनेर पिल्लर बनाई पुलको ट्रस जोड्ने र ढलान गर्ने डिजाइन बनेको छ । निर्माण कम्पनीका प्रतिनिधि प्रवीण सापकोटाले पुलको जग राख्ने र खाडल खन्ने काम सकिएको बताए । मालिका गाउँपालिका–७ बिम र धवलागिरि गाउँपालिका–६ मराङको सिमाना भएर बग्ने अर्गलास्थित मराङ खोलामा २५ मिटर लामो आरसिसी टिबिएम प्रविधिको पुल निर्माणका लागि सन २०२० को मार्च १२ मा फेवा–सावित्री जेभीले ठेक्का सम्झौता गरेको थियो । दुई करोड ७२ लाखमा ठेक्का लिएको यो योजनाको म्याद एक वर्षको छ । पुलको जग खनेर पिल्लरको ढलान शुरु गरेको निर्माण कम्पनीका प्रतिनिधि रामचन्द्र कार्कीले बताए । यसैगरी अन्नपूर्ण गाउँपालिका–७ र ८ को सिमानास्थित संसारे खोलामा १६ मिटर लामो मोटर चल्ने पुल बनाउन २०७६ फागुनमा रायमाझी–हिमालयन जेभीले ठेक्का सम्झौता गरेको थियो । रु दुई करोड ६३ लाखमा सम्झौता गरेको ठेकेदारले एकातर्फको पिल्लरको ढलान शुरु गरेको छ । यो पुलको म्याद पनि आगामी फागुन महिनासम्म छ । कार्यालयमार्फत मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल निर्माणाधीन अवस्थामा छ । भारवाङको पुल निर्माणका लागि २०७६ असारमा देव एन्ड सायर बिएन जेभीले छ करोड २४ लाखमा ठेक्का लिएको थियो । कम्पनीका प्रतिनिधि नारायण जिसीले नौ महिनापछि काममा फर्किएर निर्माणलाई तीव्रता दिएको बताए । यसैगरी दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तरगत गत वर्ष ठेक्का सम्झौता भएको दाङखोलाको मोटर चल्ने पुलको पुनःडिजाइन गर्दा लम्बाई बढाउनुपर्ने देखिएको इञ्जिनीयर अर्यालले बताए । यसअघि १५ मिटरको पुल बनाउने डिजाइन तयार पारे पनि बाढीले धेरै कटान गरेपछि २५ मिटर लामो बनाउनुपर्ने भएको हो । आठ दशमलव चार मिटर फराकिलो हुने सबै पुलको छ मिटरमा ढलान र दायाँबायाँ एक दशमलव दुई मिटरको पैदल हिँड्ने फुटपाथ हुनेछ । पुल निर्माण भएपछि ग्रामीण सडकमा बाह्रै महिना नियमित सवारी सञ्चालन हुने बताइएको छ । रासस