बस चढेपछि एक हजार भाडा ?

गोरखा, ८ कात्तिक । पेट्रोलियम पदार्थको अभावले गर्दा दसैँ मानेर गन्तब्यमा फर्केका गोरखाका यात्रु समस्यामा परेका छन् । अहिले यहाँका ३२ ओटा ग्रामीण मार्गमा १० ओटा मात्रै सवारी चलेका छन् । यात्रुहरुले बस, जीप, ट्र्याक्टर, माइक्रोमा चर्को भाडा तिरेर गन्तब्यमा जानुपरेको गुनासो गरेका छन् । गोरखा बसपार्कबाट काठमाडौँका लागि छुटेका यात्रुबाहक गाडीले प्रतियात्रु एक हजार भाडा उठाएका छन् । “छतमा चढेर यात्रा गर्दा पनि सिटमा बसेकै भाडा लिन्छन्,” मसेलका विशाल गुरुङ्गले भने–“एउटै गाडीमा १८० जनाभन्दा बढी यात्रु कोचिएका हुन्छन् । प्रत्येक यात्रुसँग एक हजारका दरले भाडा उठाउँछन् ।” भच्चेक बजार, बालुवा बजार, बारपाक, भालुस्वाँरा, हर्मी, चोरकाटे, छोप्राक, पालुङटार, आँपपीपललगायत ठाउँका यात्रुहरु गाडीमा कोचिएर यात्रा गर्न बाध्य छन् । साविकको भाडाभन्दा दोब्बर, तेब्बर भाडा उठाएर यातायात व्यवसायीले ग्रामीण रुटमा बस चलाएका छन् । दैनिक २० भन्दा बढी सवारी यात्रु बोकेर काठमाडौँ गएपनि इन्धन अभाव भएपछि दैनिक छ ओटामात्रै सवारी चल्दै आएको छ । चितवनको ठोरीबाट महङ्गो मूल्य तिरेर ल्याएको तेल बसमा राखेर यातायात व्यवसायी समिति गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समितिका व्यवसायीले बस, माइक्रो, ट्रक चलाएका छन् । रातो प्लेटका मालबाहक जीपले पनि नियम विपरीत यात्रु बोकेका छन् । गोरखास्थित कलश आयल स्टोर्सबाट भने रुटमा छुटेका बसलाई मात्रै इन्धन उपलब्ध गराएको छ । स्थानीय प्रशासनले यात्रु लिएर काठमाडौँ गएका सवारीलाई ३० लिटरका दरले इन्धन उपलब्ध गराएको हो । इन्धन नपाएर अधिकांश सवारीसाधन बसपार्क ग्यारेजमा थन्किएको व्यवसायीले जनाएका छन् । गोरखा–काठमाडौँको भाडा माइक्रोमा ३९० हो । तर, पेट्रोलियम पदार्थको अभाव भएको मौका छोपेर व्यवसायीले एक हजार भाडा उठाएका हुन् । त्यस्तै मिनीबसको भाडा ३५० भएपनि अहिले व्यवसायीले प्रतियात्रु रु सात सय भाडा लिँदै आएका छन् । बसमा कोचिएर यात्रा गर्दा यात्रुहरु बेहोससमेत हुने गरेका छन् । एउटै गाडीमा छ जनासम्म बेहोस हुने गरेको यात्रुहरु गुनासो गर्छन् । जिल्ला प्रहरी कार्यालय गोरखाले बसको छतमा बसेर जोखिमपूर्ण रुपमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । कच्ची सडकमा छत चढेर यात्रा गर्दा दुर्घटना हुने भएकाले छतमा यात्रु नचढाउन व्यवसायी, यातायात मजदुर र यात्रुलाई प्रहरीले आग्रह गरेको छ । तर, व्यवसायीले छतमा राखेर यात्रुलाई गन्तब्यमा पु¥याइआएका छन् । मझुवा देउराली, बाह्रकिलोलगायत मुख्य चोकमा प्रहरी, ट्राफिक प्रहरीले छतमा बसेका यात्रुलाई ओराले पनि प्रहरी बिट कटेपछि यात्रुहरु छतमा चढेर यात्रा गर्दै आएका छन् । यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष नारायण खत्रीले छतमा जोखिमसाथ यात्रा नगर्न यात्रुलाई आग्रह गरिएको बताए । “छतमा चढेर यात्रा नगर्नुहोला,” उनले भने, ‘पेट्रोलियम पदार्थको जोहो गरेर सकेसम्म यात्रुलाई सुरक्षितसाथ गन्तब्यमा पु¥याउने हाम्रो तयारी छ ।’ रासस

भारतीय नाका बन्दीसँगै देशैभर इन्धनको कालोबजारी

काठमाडौं, ८ कात्तिक । भारतले जारी राखेको अघोषित नाका बन्दीका कारण मुलुकभर इन्धनको चरम अभावसँगै कालोबजारी पनि बढेको छ । सिमावर्ती जील्लाबाट मोटरसाईकल र प्लाष्टिकका ग्यालिनमा पेट्रोलीयम पदार्थ नेपाल भित्र्याएर पुर्वपश्चिम राजमार्ग हुँदै देशका प्रमुख शहर तथा काठमाडौंसम्म पेट्रोलीयम ढुवानी भैरहेको छ । सरकारले त्यसरी पेट्रोलीयम पदार्थको ढुवानीमा कडाई गरेको भएपनि स्थानिय प्रशासनको समेत मिलेमत्तोमा देशैभर पेट्रोलीयम पदार्थको कालोबजारीले प्रश्रय पाईरहेको हो । राजधानीमा भित्रिने सबै जसो सवारी साधनमा ग्यालिनका ग्यालिन पेट्रोलीयम पदार्थ ओसार्ने गरिएको छ । बिभिन्न नाकामा चेकजाँचका लागि बसेका प्रहरीहरुले घुस खाएर त्यसरी पेट्रोलीयम पदार्थ भित्र्याउने जाँचोपाँचो मिलाउने गरेका छन् । मुख्यतया झापा, मोरंग, सुनसरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुबाट पेट्रोलीयम पदार्थको कालोबजारीको चाँजोपाँजो मिलाउने गरिएको छ । भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ । यसरी ल्याइएको पेट्रोल प्रतिलिटर १५० देखि १८० सम्ममा बिक्री गर्ने गरिएको छ । तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् । कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन् । काँकरभिट्टाका एक व्यापारीले पेट्रोल राजधानी र पोखरासम्म पु¥याउने गरेको स्वीकार्दै प्रतिलिटर ५०० सम्ममा पेट्रोल बिक्री गरेको बताए । पेट्रोलको डिमाण्ड बढि राजधानीसहित देशभर पेट्रोलको डिमाण्ड उच्च रहेको छ । सरकारले नीजि सवारी साधानलाई पेट्रोल नदिने निर्णय गरेसँगै त्यसको डिमाण्ड बढेको हो । कालोबजारीमा संलग्नहरुले पनि पेट्रोलकै ढुवानीलाई प्राथमिकतामा राख्ने गरेका छन् । दुई गुणा भन्दा बढि मुल्यमा बेच्न पाईने भएपछि पुर्वपश्चिम राजमार्ग आसपासका शहरहरुमा पेट्रोलीयम पदार्थको कालोबजारी पेशा जस्तै बनेको छ ।

असोजमा काठमाडौबाट १० लाख बाहिरिए, १३ लाख भित्रिए

काठमाडौँ, १ कात्तिक । विगत १ महिनादेखि काठमाडौं उपत्यकामा ग्यास छैन, पेट्रोल छैन, सार्वजनिक सवारीसाधन चलेका छैनन् । बजार पसलहरु बन्द छन् । तर एउटा अनौठो तथ्य सार्वजनिक भएको छ । त्यो तथ्य हो असोज महिनामा काठमाडौवाट वाहिरिने भन्दा भित्रिने यात्रुको संख्या करिब ३ लाखले बढी छ । ट्राफिक प्रहरीले दिएको यस्तो तथ्यांकले काठमाडौप्रतिको आम मानिसको सोचाइ निकै भिन्न रहेको पुष्टी गरेको छ । इन्धनको अभावले गर्दा यस वर्ष दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज महिनाभरमा उपत्यका बाहिर गएका एक लाख ३२ हजार ९ सय ५१ सवारी साधनमा १० लाख ५५ हजार २ सय ३२ मानिस बाहिरिएका छन् । यहि समयमा उपत्यका भित्रिएका एक लाख ३१ हजार २ सय ६६ सवारीमा १३ लाख १७ हजार ३ सय ४२ यात्रु प्रवेश गरेको महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘यस वर्ष तराईमा आन्दोलन र भारतसँगको सीमा नाकाबन्द रहेकाले उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हुनसक्छ’– प्रवक्ता भट्टले भने । रासस