८९ लाख कित्ता सेयर बेच्दै नेपाल बैंक, चार कम्पनीका सेयरको मूल्य तोकियो

काठमाडौं, २२ कात्तिक । नेपाल बैंकले विभिन्न चार कम्पनीमा रहेको करिब ८९ लाख कित्ता प्रबद्र्धक सेयर बिक्री गर्दै छ । राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, नेपाल इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटल लिमिटेडमा रहेको ८८ लाख ७८ हजार ६३० कित्ता सेयर बिक्री गर्दैछ । ती कम्पनीहरुको सेयर बिक्री टेण्डर प्रक्रियाबाट बढाबढ मूल्यमा गरिने भएको छ । बैंकले टेण्डर गर्ने प्रयोजनको लागि सम्बन्धित कम्पनीहरुको सेयरको न्यूनतम मूल्य तय गरेको छ । सेयर बिक्री मूल्याङ्कन उपसमितिले न्यूनतम मूल्य तय गरी सञ्चालक समितिमा प्रतिवेदन पेश गरेको छ । स्रोतका अनुसार राष्ट्रिय बीमा कम्पनीको सेयरको मूल्य सबैभन्दा बढी छ । यस कम्पनीको न्यूनतम मूल्य प्रति कित्ता ४ हजार ३१२ रुपैयाँ ३५ पैसा तोकिएको छ । पछिल्लो समयमा उक्त सेयर ४ हजार ७ सयमा कारोबार भएको छ । नेपाल बैंकसँग राष्ट्रिय बीमा कम्पनीको १ लाख ३६ हजार ४१० कित्ता सेयर रहेको छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री भए पनि नेपाल बैंकले ५८ करोड ८२ लाख ४७ हजार रुपैयाँ आम्दानी गर्नेछ । नागरिक लगानी कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार ५४१ रुपैयाँ तोकिएको छ । बैंकसँग कोषको ३ लाख ३३ हजार ९४० कित्ता सेयर छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री भएमा पनि बैंकल १ अर्ब १ करोड ६२ लाख ४७ हजार आम्दानी गर्ने छ । नेपाल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता न्यूनतम २७९ रुपैयाँ ८१ पैसा तोकिएको छ । बैंकसँग नेपाल इन्स्यारेन्सको १३ लाख ४२ हजार २८० कित्ता सेयर रहेको छ । उक्त सेयर न्यूनतम मूल्यमा बिक्री हुँदा पनि ३७ करोड ५५ लाख ६० हजार रुपैयाँ बैंकले आम्दानी गर्नेछ । त्यस्तै नेपाल बैंकसँग तारागाउँ रिजेन्सी होटल लिमिटेडको ७० लाख कित्ता सेयर छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकत्ता १७२ रुपैयाँ २२ पैसा तोकिएको छ । यस होटलको सेयर बिक्रीबाट बैंकले कम्तिमा एक अर्ब २० करोड ५५ लाख ४० हजार आम्दानी गर्नेछ । कृति क्यापिटल कम्पनीले दिएको रिपोर्टका आधारमा उक्त मूल्य निर्धारण गरिएको स्रोतले बतायो । अर्थमन्त्रालयका प्रतिनिधि राजीव गौतम, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निराज गिरी, सञ्चालक निश्चल प्रधान र प्रमुख कार्यकारी अधिकृत देबेन्द्रप्रताव शाह रहेको उपसमितिले तयार गरेको मूल्य निर्धारण प्रतिवेदनबारे अन्तिम निर्णय लिन आज बैंक सञ्चालक समितिको बैठक बोलाईएको स्रोतले बतायो । सेयर बिक्रीबाट आएको रकम बैंकको संचित नोक्सानी पूर्ति गरिने भएको छ । असार मसान्तसम्ममा बैंक २ अर्ब ५९ करोड रुपैयाँ संचित नोक्सानमा छ । बैंको सेयर बिक्रीबाट कम्तिमा ३ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुनेछ । मूल्य बढाबढ गरिने हुँदो ३ अर्ब ५० करोड रुपैयाँसम्म आम्दानी हुन सक्ने बैंकको विश्लेषण रहेको छ । राष्ट्र बैंकले तोकेअनुसार पुँजी प्रयाप्तता कायम गर्न सेयर बिक्री गर्नु परेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताव शाहले बताएका छन् ।

नविल बैंकको नाफा ६६ करोड, भूकम्प र नाका बन्दीको असर देखिएन

काठमाडौं, २० कात्तिक । नविल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६६ करोड ३८ लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले कमाएको भन्दा १५ करोड ९० लाखले बढि हो । गत आर्थिक बर्षको पहिलो तीन महिनामा बैंकले जम्मा ५० करोड ४८ लाख मात्रै नाफा कमाएको थियो । नविलको ब्याज आम्दानी एक अर्ब ५० करोड रुपैंयाँ पुगेको छ भने ब्याज खर्च जम्मा ६० करोड ६३ लाख रहेको छ । बैंकले सो अवधीमा एक खर्ब ९ अर्ब ८६ करोड निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी भने जम्मा ६७ अर्ब ४३ करोड मात्रै गर्न सकेको छ । भूकम्प र भारतीय नाका बन्दीका कारण बैंकले यथेष्ठ मात्रामा पूँजी परिचालन गर्न भने नसकेको देखिन्छ । यद्यपी बैंकको नाफामा भने यी दुबै घट्नाले असर गरेको देखिन्न । बैंकको प्रति सेयर आम्दानी पनि ६५ रुपैंयाँ ३ पैसाबाट बढेर ७१ रुपैंयाँ २३ पैसा पुगेको छ । बैंकको प्रति सेयर नेटवर्थ र पिई रेसियो भने घटेको छ । प्रति सेयर नेटवर्थ ३१२ रुपैंयाबाट घटेर २७८ रुपैंयाँमा खुम्चिएको छ भने पिई रेसियो पनि ३५ रुपैंयाँ ९९ पैसाबाट घटेर ३३ रुपैंयाँ १३ पैसामा झरेको छ ।

जलविद्यु्त् कम्पनीको सेयरमा ३५ अर्बको आवेदन, संस्थागत लगानीकर्ताको माग बढी

काठमाडौँ, १७ कात्तिक । जलविद्युत् लगानी तथा विकास कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरको माग अत्याधिक भएको छ । विहीबारसम्ममा ३५ अर्बरुपैयाँ बढीको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । कोषका प्रबक्ता सुशील कुमार अर्यालका अनुसार अन्तिम दिन १९ गते साँझसम्ममा २ लाख १० हजार भन्दा बढी आवेदन परेको छ र ३५ अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन भएको प्रारम्भिक विश्लेषण गरिएको छ । कम्पनीले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गरेको हो । त्यसमा १२ करोड रुपैयाँ सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । आवेदकको उत्साह र विश्वासले आफूलाई अत्यन्तै उत्साहित बनाएको जलविद्युत् लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए । जलविद्युत लगानी तथा विकास कम्पनीको सेयरमा हरेक बीमा कम्पनीले १० करोड रुपैयाँभन्दा बढी लगानी आवेदन गरेको बुझिएको छ । लघुवित्त, वित्त कम्पनी, विकास बैंक, वाणिज्य बैंक लगायत संस्थागत लगानीकर्ताले नै करिव २५ अर्ब रुपैयाँ बराबरको सेयर माग गरेको अनुमान गरिएको छ । सर्बसाधारणबाट १० अर्बभन्दा बढीको सेयर आवेदन परेको छ । बैंकहरुमा तरलता उच्च रहेको र लगानीको अवसरहरु कतै नभएकोले बैंक तथा वित्तीय संस्थाहरुले यस कम्पनीको सेयरमा ठूलो लगानी गरेको नेपाल विकास बैंकर्स संघको अध्यक्ष कृष्णराज लामिछानेले बताए । देश संकटपूर्ण अवस्थामा रहेको समयमा २ अर्बको सेयर निश्काशन हुँदा ३५ अर्ब रुपैयाँ लगानीको प्रस्ताव आउनुले अझै पनि ठूलो परियोजनामा लगानीको स्रोत जुट्ने सम्भावना देखिएको छ ।