वायुसेवा निगमले माग्यो सरकारसँग २५ अर्ब ऋण, बेलायत-काठमाडौं सीधा उडान भर्ने योजना

काठमाडौं, १७ मंसिर । नेपाल वायु सेवा निगमले सरकारसँग सस्तो ब्याजदर हुने गरी २५ अर्ब रुपैयाँ ऋण दिन माग गरेको छ । निगमले २ ओटा नयाँ वाइड बढी जहाज खरिद गरेर बेलायत सीधा उडान भर्नको लागि सरकारसँग ऋण मागेको हो । निगमले पूर्ववर्ति कोइराला सरकारकै पालामा सो ऋण माग गरेको थियो । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले तत्कालिन अर्थमन्त्री डा. रामशरण महतसँग सरकारले नै ऋण दिन प्रश्ताव गरेका थिए । अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार तत्कालिन अर्थमन्त्री डा. महतले सरकारले संस्थानहरुलाई प्रत्यक्ष ऋण दिन मिल्ने नमिल्ने सम्बन्धमा मन्त्रालयको बजेट महाशाखा प्रमुख बैकुण्ठ अर्यालसँग छलफल पनि गरेका थिए । ‘तत्कालिन अर्थमन्त्री र बजेट महाशाखा प्रमुख अर्यालका विचमा सरकारले संस्थानहरुलाई ऋण दिन मिल्ने नमिल्ने सन्दर्भमा छलफल पनि भएको थियो, अर्यालले मन्त्रिपरिषवाट निर्णय भएमा ऋण दिन मिल्ने बताएपछि अर्थमन्त्रीले प्रक्रिया अगाडि बढाउन र निगमको ब्यापारिक योजना पेश गर्न भन्नु भएको थियो,’ मन्त्रालय स्रोतले भन्यो । निगमका प्रबन्ध निर्देशक कंसाकारले सरकार जमानी बसेर बैंक वित्तीय संस्थावाट ल्याएको ऋण महंगो पर्ने हुदा निगमको प्रतिस्पर्धी क्षमता कमजोर हुने र सरकारले विकास बजेट खर्च गर्न नसकिरहेको अवस्थामा त्यस्तो रकम निगमलाई ऋण दिदा पैसा पनि खर्च हुने र ब्याज पनि पाइने भन्दै यस्तो प्रश्ताव गरेका स्रोतको भनाइ छ । यसअघि सरकार जमानी बसेर कर्मचारी संचयकोषवाट १० अर्ब रुपैयाँ ऋण निगमले लिएको थियो । सो ऋणको ब्याज १० प्रतिशत छ । निगम ब्यवस्थापनले सरकारले ऋण दिने र त्यस्तो ऋणको ब्याज ७ देखि ८ प्रतिशत भएमा आफूहरुलाई सहज हुने प्रश्ताव अर्थमन्त्रालयमा गरेको छ । निगमका प्रबन्ध निर्देशक कंसाकारले सरकारसँग २५ अर्ब रुपैयाँ ऋण माग गरेको पुष्टी गरे । ‘थप २ ओटा वाइड बढी खरिद गरेर बेलायत सीधा उडान भर्नको लागि २५ अर्ब रुपैयाँ ऋण माग गरिएको हो, सरकारले ७ देखि ८ प्रतिशत ब्याजमा ऋण दिन्छ भने हामी ७ महिनाभित्रमा नयाँ जहाज खरिद गरेर बेलायत सीधा उडान सुरु गरिसक्छौं,’ प्रबन्ध निर्देशक कंसाकारले भने । निगमको अहिलेको तयारी अनुसार ऋण प्राप्त भएमा ७ महिनाभित्रमा २ ओटा वाइड बढी जहाज थपिने छन् । निगमले एयर बसका जहाज खरिद गर्ने योजना बनाएको छ । नयाँ जहाज थपिए पछि दैनिक कम्तीमा एउटा उडान काठमाडौवाट बेलायत गर्ने योजना निगमको छ । निगमको योजना अनुसार काम हुन सकेमा बेलायतवाट काठमाडौं आउने समयका साथै खर्च पनि आधा कम हुने दाबी गरिएको छ । अहिले युरोपवाट काठमाडौं सीधा उडान छैन । विभिन्न स्थानमा ट्रान्जिट हुने भएकोले समय बढी लाग्ने र खर्च पनि बढी हुने गरेको निगमका अधिकारीहरुको भनाइ छ ।

विदेशिएका नेपाली घर परिवारसँग सम्पर्कविहीन बन्दै, कुन देशमा कति नेपाली हराए ?

काठमाडौँ, १७ मंसिर । मिठो खाने, राम्रो लाउने र घरपरिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिने नेपाली पछिल्लो समय घरपरिवारसँगै सम्पर्क विहिन हुने क्रम बढेको छ । रोजगारीको शिलशिलामा विभिन्न देश पुगेका नेपाली आफ्नो घर परिवारसँग गरेको वाचा र प्रतिबद्धता अनुसार सम्पर्कमा रहन नसक्ने क्रम बढेको पाइएको हो । प्रवासी नेपाली समन्वय समितिले दिएको जानकारी अनुसार पछिल्लो तीन बर्षमा मात्रै १ सय २३ जना नेपाली घर परिवारको सम्पर्क वाहिर छन् । आफ्नो परिवारको सदस्य सम्पर्क विहिन भएपछि परिवारले संघमा दिएको निवेदनको आधारमा यस्तो संख्या पत्ता लागेको हो । संघले हराउने नेपालीको संख्या र हराउनुको कारण बारे प्रतिवेदन नै तयार पारेको छ । सो प्रतिवेदनका अनुसार विदेशमै विवाह गर्ने, भने जति तलब नपाएपछि ऋण तिर्न नसकेर परिवारसँग सम्पर्कमा नबस्ने, कम्पनीले सम्पर्क गर्न नदिने, विदेशमा जेल पर्ने जस्ता कारणले विदेशिएका कामदार नेपाली परिवारसँग सम्पर्क विहिन हुने गरेका छन् । बैदेशिक रोजगारीमा गएकामध्ये अहिलेसम्म सबैभन्दा बढी मलेसियामा ५१ जना नेपाली हराएका छन् । यस्तै साउदी अरबमा २८ जना, कुवेतमा २४ जना, कतारमा ७ जना, दुबईमा ४ जना, सिरिया र ओमनमा २/२जना तथा बहराइन, जोर्डन, भारत, लेबनानमा १/१ जना नेपाली परिवारबाट सम्पर्कमा नरहेको भनी समितिमा निवेदन परेको थियो । समितिका परियोजना संयोजक सुजाता उप्रेतीले पछिल्लो समय नेपाली विदेशिएपछि परिवारको सम्पर्कमा नआउने सङ्ख्या ठूला रहे पनि उनीहरुको खोजी गर्नु कठिन काम भएको बताइन । विदेशिएका सम्पर्कमा नरहँदा परिवारका सदस्यले आफ्नो मान्छे जिउँदो छ कि मरेको छ भन्ने मानसिक तनाव र सामाजिक तनाव ब्यहोरी रहनुपरेको उनको भनाइ छ । समितिको सक्रियतामा त्यसरी सम्पर्कविहीन भएर बसेका बितेको तीन वर्षमा ५२ जनालाई नेपाल फर्काइ सकिएको संघले जानकारी दिएको छ ।

दैनिक १२ घण्टा लोडसेडिङ, खाना पकाउन सजिलो, उद्योग चलाउन सकस

काठमाडौं, १७ मंसिर । शुक्रबारदेखि दैनिक १२ घण्टासम्म लोडसेडिङ हुनेछ । नेपाल विद्युत प्राधिकरणले जारी गरेका नयाँ लोडसेडिङ तालिका अनुसार सर्बसाधारणको घरमा दैनिक ७ देखि साढे १० घण्टा लोडसेडिङ हुने छ भने डेडिकेटेड लाईन जोडिएको औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ । सर्बसाधारणको घरमा एक हप्तामा ६२ घण्टा लोडसेडिङ हुनेछ भने उद्योगमा हप्तामा ९६ घण्टा लोडसेडिङ हुनेछ । नयाँ तालिका विद्युत् प्रयोग गर्ने चुलो सुचारु गराउन के्रन्द्रीत छ । हप्तामा तीन दिन विहान ८ बजेभन्दा अघि बेलुका ८ बजेपछि खाना पकाउन मिल्ने छ । हप्तामा तीन दिन विहान ८ बजेपछि र बेलुका ८ बजेअघि खाना पकाउन मिल्ने छ । हप्तामा एक दिन विहाना ९ बजेपछि र बेलुका जुनसुकै बेला खाना पकाउन मिल्ने छ । ग्यासको अभावले सहरी क्षेत्रको भान्छा बढी प्रभावित भएकोले उनीहरुलाई राहात मिल्नेगरी लोडसेडिङको तालिका बनाइएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लले बताए । तर उद्योग चलाउनेले निकै सकस बेहोर्नु पर्नेछ । डेडिकेटट लाईन भएको उद्योगहरु मध्ये अधिकांशले दिउँसको समयमा विजुली पाउने छैनन् । औद्योगिक क्षेत्रअनुसार विहान ५ बजेदेखि साँझ ५ बजेसम्म, विहान १० बजेदेखि बेलुका १० बजेसम्म, राती १२ बजेदेखि १२ बजेसम्म, साँझ ५ बजेदेखि विहान ५ बजेसम्म लोडसेडिङ हुनेछ । लोडसेडिङ अवधि बढी भएपनि औद्योगिक उत्पादनलाई सहयोग पुग्ने गरी तालिका तयार गरिएको काफ्लेले बताए । ‘नियमित १२ घण्टा उद्योग चलाउन मिल्छ । उद्यमीले दिउँसो बन्द गरेर राती उद्योग चलाउन सक्छन् ।’ राती उद्योग चलाउँदा उज्यालोको लागि थप विद्युत खपत हुने भएकोले उद्योग दिउँसोे नै चलादा सबैलाई फाइदा हुने उद्योगीहरुको भनाई छ ।