साङयोङ मोटर्सको आधिकारिक वितरक आइएमएस मोटर्स् , मोवाइल व्यापारको सफलता पछि अटोमोवाईल व्यापार शुरु
काठमाडौं, २९ बैशाख । आइएमएस ग्रुप कोरियाको चर्चित अटोमोबाइल कम्पनी साङयोङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक बनेको छ । आइएमएस मोटर्सले आज लाजिम्पाट उत्तरढोका साङयोङ नयाँ शो रुम खोल्नुको साथै नयाँ लक्जरी कोरियन ब्राण्ड साङयोङका गाडीहरु समेत बिक्री शुरु गरेको छ । उक्त कार्यक्रमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्रा तथा आइएमएस मोटर्सका प्रमुख कार्यकारी अधिकृत डिकेश मल्होत्राले गरेका छन् । कम्पनीले नयाँ शोरुपमा शोरुमले टिभोली, कोराण्डो, रेक्टोन, क्यारोन, र एक्टयोन नामका लक्जरी कार तथा एसयूभीका मोडलहरु बिक्रीमा राखेको छ । हरेक मोडलमा एवीएस तथा इबीडी स्टिम, अल्ट्रा हाई स्ट्रेन्थ् स्टिलबाट बनेको बडी फ्रेम लगायतका सुविधा छन् ।टिभोलीको बढी बुटस्पेश, डुअल अटोमेटिक ए.सी., एक्टिभ एडब्लुडी, आकर्षक डे–टाइम रनिङ्ग लाइट सुविधा छ । यसको मूल्य ५३ लाख ७५ हजार रुपैयाँ राखिएको छ । त्यस्तै कोराल्डोमा ब्लुटुथ कनेक्टिभिटी, सात जनाको सिटिङ्गस्पेश, प्रिमियम लेदर इन्टिरियर, ३ ड्राइभरको सिट मेमोरी लगायत सुविधा छ । यसको मूल्य ७५ लाख २५ हजार रुपैयाँ राखिएको छ । रेक्टोन गाडीमा आकर्षक एचआईडी हेड ल्याम्प्स्, फ्रन्ट् डुअल एयरब्याग सुविधा छ । यसको मूल्य ९९ लाख ७५ हजार रुपैयाँ राखिएको छ । नयाँ स्पोर्ट डिजाइनमा आरामदायी इन्टीरियर, झनै उत्कृष्ट सुरक्षा दिने एक्टयोन स्पोर्टस् गाडीको मूल्य ५५ लाख रुपैयाँ तोकिएको छ । साङयोङका विभिन्न स्थानहरुमा दुई आधिकारिक सर्भिस सेन्टरहरु खोलेको छ । त्यसमा अटो होम प्रा. लि., यूएन पार्क, ललितपुर र अटो भिलेज प्रा. लि.रातोपुल, काठमाडौं रहेका छन् । आइएमएस मोटर्स्ले साङयोङको गाडी खरिद गर्नुहुने पहिलो १४ “विशेष” ग्राहकहरुका लागि स्त्र्mयाच् कुपन मार्पmत विशेष उपहारको पनि योजना राखेको उनले बताए । उक्त आकषर्क उपहारहरु बजाज पल्सर एनएस २००, सामसुङ एस७ एड्ज, सामुसुङ टीभी ४० इन्च तथा वासिङ्ग मेशिनरहेका छन् । साङयोङका गाडी नेपाली बजारमा धेरै वर्ष पहिले भित्रेको हुन् । तर हालसम्म करिव ५०० अटा गाडी मात्र गुडिरहेको छन् । आफूले यो मोटरको बजारीकरण र बिक्री पछिको सेवामा विशेष जोड दिने केही वर्षभित्रै नेपालको अटोमोवाईल क्षेत्रमा उल्लेख्य उपस्थिति जनाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलोत्राले बताए । मोवाईल बजारमा नम्वर वान पोजिशनमा रहेको आईएमएसले अटोमोवाईल बजारमा पनि राम्रो स्थान लिन सकिने विश्वास लिएको ग्रुपका अध्यक्ष दीपक मलोत्राले बताए । अटोमोबाइल क्षेत्र एउटा प्रगतिशील उद्योग हो जहाँ नियमित रुपमा प्रोडक्ट इन्नोभेशन तथा टेक्नोलोजीमा उन्नती भइरहन्छ । यस्ता उद्योगहरुको ध्यानाकर्षण आजभोली विकासोन्मुख बजारहरुमा आएको छ । नेपाल पनि डिस्पोजेबल इन्कम तथा जीवनशैलीमा उन्नती हुँदै आएको एक उदाउँदो बजार प्रमाणित भइसकेको छ । नेपालको यहि बजारलाई सम्बोधन गर्ने लक्ष्य लिई आइएमएस ग्रुपले आइएमएस मोटर्स्को स्थापना गरेर अगाडि बढेको उनले बताए ।
किन बढ्यो बजेटको सिलिङ, थप बजेटका यी हुन् कार्यक्रम
काठमाडौं, २९ बैशाख । आगामी आर्थिक बर्षको लागि राष्ट्रिय योजना आयोगले दिएको ९ खर्ब रुपैयाँको बजेट सिलिङमा झण्डै डेढ खर्ब रुपैयाँ बढ्ने भएपछि थप रकमका के कस्ता कार्यक्रम आउछन् भन्ने कौतुहलता बढेको छ । अर्थमन्त्रालय आगामी आर्थिक बर्षको लागि १० खर्ब ६० अर्ब रुपैयाँको हाराहारीमा बजेट तयार पारिरहेको छ । अर्थमन्त्रालय स्रोतले दिएको जानकारी अनुसार भूकम्प पछिको पुननिर्माणको लागि १ खर्ब ५० अर्ब रुपैयाँ जति बजेटको ब्यवस्था गरिने भएको छ । आयोगले यसअघि दिएको ९ खर्ब २० अर्ब रुपैयाँको सिलिङमा पनि भूकम्प पछिको पुननिर्माणको लागि १ खर्ब ५० अर्ब रुपैयाँ बजेट ब्यवस्था गर्ने भनिएको थियो । यसकारण पुननिर्माणको लागि बजेटको आकार बढेको होइन । सरकारले बजेट सिलिङ बढाउनुका पछाडि विषेश गरेर ४ कार्यक्रम रहेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । यसमा सामाजिक सुरक्षावापत दिदै आइएको भत्ता बढाउने, स्थानीय निकायको लागि दिने अनुदान बृद्धि गर्ने, कर्मचारीको तलब भत्ता बढाउने र उर्जा क्षेत्रमा थप बजेटको ब्यवस्था गर्ने कार्यक्रम रहेको स्रोतको दाबी छ । यी ४ कार्यक्रमको लागि करिब डेढ खर्ब रुपैयाँ बजेट बढेको हो । सरकारले आगामी आर्थिक बर्षदेखि बृद्ध, अपांग, द्धन्द्ध पीडित र एकल महिलालाई दिदै आएको सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने तयारी गरेको छ । २०५१ सालमा एमाले नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ता त्यसयताका सरकारले निरन्तरता दिदै आएका छन् । सरकारले स्थानीय निकायलाई दिने अनुदान रकम पनि बढाउने भएको छ । यो प्रत्येक गाविसलाई दिइने अनुदान कम्तिमा पनि ५ लाख रुपैयाँले बढाउने गरी बजेट तयार हुदै गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । गाविस, नगरपालिका र जिल्ला विकास समितिहरुलाई दिने अनुदान रकम बढाउदा कम्तिमा पनि ७ अर्ब रुपैयाँ बढ्ने अर्थमन्त्रालयको भनाइ छ । सरकारी कर्मचारीको तलब भत्ता बृद्धि गर्ने कार्यक्रम पनि समावेश भएकोले बजेटको आकार बढेको अर्थमन्त्रालय स्रोतको भनाइ छ । सरकारले निजामति कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, विश्वविद्यालयहरु, संघ संस्था र समितिका कर्मचारीहरुको तलब बृद्धि गर्ने तयारी गरेको हो । कर्मचारी संघ संगठनहरुले कम्तिमा पनि २५ प्रतिशतले तलब बृद्धि गर्न दबाब दिइरहेका भएपनि अर्थमन्त्रालयले भने सबै तहका कर्मचारीको १५ प्रतिशतले बढाउने गरी गृहकार्य गरिरहेको स्रोतको भनाइ छ । तलब बृद्धि गर्दा अवकास पाएका कर्मचारीले पाउने पेन्सन रकम समेत बढ्छ । यो कार्यक्रमको लागि करिब ५० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । आगामी आर्थिक बर्षको बजेटको आकार बढाउने अर्काे कार्यक्रम भनेको उर्जाका कार्यक्रम थप हुदा हो । सरकारले आगामी १० बर्षभित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । यस्तै प्रत्यके प्रदेशमा इन्धन भण्डारण केन्द्र स्थापना गर्ने सोच पनि सरकारको छ । यस्तो कार्यक्रम थप भएकोले पनि बजेटको आकार बढेको हो ।
अब गाविसले बर्सेनि कम्तिमा पनि २५ लाख सरकारी अनुदान पाउने
काठमाडौं, २८ बैशाख । सरकारले आगामी आर्थिक बर्षदेखि गाविसहरुलाई दिने अनुदान बढाउने भएको छ । गत बर्ष मात्रै प्रतिगाविस ५ लाख रुपैयाँ बढाएको सरकारले आगामी आर्थिक बर्षदेखि यस्तो अनुदान पुन ५ लाख रुपैयाँ नै बढाउने तयारी गरेको हो । चालु आर्थिक बर्षसम्म सरकारले गाविसको स्तर अनुसार प्रतिगाविस २०, २५ र ३० लाख रुपैयाँ बर्सेनि अनुदान दिदै आएको छ । आगामी आर्थिक बर्षदेखि यस्तो अनुदान बृद्धि गरेर प्रतिगाविस २५, ३० र ३५ लाख रुपैयाँ दिन लागिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । गत आर्थिक बर्षमा सरकारले स्थानीय निकायहरुलाई अनुदान दिनको लागि ३६ अर्ब ५३ करोड रुपैयाँ बजेट छुट्टयाएको थियो । यस्तो रकम स्थानीय निकायका कर्मचारीलाई तलब भत्ता तथा अन्य प्रशासनिक खर्च सहितको हो । जिविसहरुलाई दिने रकम पनि यसैमा ब्यवस्था गरिएको हुन्छ । यस्तै नगरपालिकाहरुलाई दिने अनुदान रकम पनि यसैमा समावेश हुन्छ । आगामी आर्थिक बर्षदेखि गाविस, नगरपालिका र जिविसको अनुदान बढाउदा सरकारी कोषवाट करिब ७ अर्ब रुपैयाँ जति रकम स्थानीय निकायमा जाने अर्थमन्त्रालय स्रोतको भनाइ छ । सरकारले आगामी आर्थिक बर्षदेखि कर्मचारीको तलब भत्ता पनि बढाउने तयारी गरेको छ ।