आइकाओको सर्टिफिकेट ल्याउन नसक्दा नेवानीको ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स धरापमा
काठमाडौं, ११ जेठ । नेपाल वायु सेवा निगमको ग्राउण्ड ह्याण्डलिङ लाइसेन्स धरापमा परेको छ । पुर्व प्रतिवद्धता अनुसार अन्तराष्ट्रिय वायु सेवा निगम(आइकाओ)को सर्टिफिकेट ल्याउन नसक्दा निगमको ग्राउण्ड ह्याण्डलिङ लाइसेन्स धरापमा परेको हो । निगमका तत्कालिन महाप्रबन्धक मदन खरेलले सन २०१६ को फेब्रअरी भित्र आइकाओबाट ग्राउण्ड ह्याण्डलिङ सेवा गुणस्तरिय रहेको प्रमाण पेश गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो प्रतिवद्धता अनुसार ग्राउण्ड ह्याण्डलिङ सेवाको गुणस्तर सम्बन्धी आइकाओले प्रदान गर्ने सर्टिफिकेट बुझाउन नसकेपछि निगमको लाइसेन्स धरापमा परेको हो । तर निगमका प्रवक्ता रामहरी शर्माले भने आइकाओको सर्टिफिकेट र ग्राउण्ड ह्याण्डलिङको लाइसेन्सबिच कुनै सम्बन्ध नरहेको दावी गरे ।‘नेपालमा कुनै पनि कम्पनीले आइकाओको सर्टिफिकेट लिएका छैनन्, अबको तीन महिनामा नेपाल वायु सेवा निगमले आइकाओको सर्टिफिकेट पाउँछ, त्यो सर्टिफिकेट नपाएकाले ग्राउण्ड ह्याण्डलिङको लाइसेन्स नविकरण नभएको होइन ।’ उनले ग्राउण्ड ह्याण्डलिङको स्तरोन्नतिका लागि भारतीय परामर्श दाता मार्फत काम भैरहेको र आगामी तीन महिनाभित्रै आइकाओको सर्टिफिकेट प्राप्त हुने दावी समेत गरे । तर निगम श्रोतले भने पुर्व प्रतिवद्धता अनुसार ग्राउण्ड ह्याण्डलिङको अन्तराष्ट्रिय मापदण्ड पुरा गरेको आइकाओ सर्टिफिकेट नभएकाले लाइसेन्स नविकरण नभएको बतायो । ‘ग्राउण्ड ह्याण्डलिङको गुणस्तरमा क्यानले प्रश्न उठाएपछि तत्कालिन महाप्रबन्धकले सन २०१६ को फेब्रुअरी भित्र आइकाओको सर्टिफिकेट ल्याउने प्रतिवद्धता अनुसार दुई वर्षका लागि लाइसेन्स नविकरण गराएका थिए, सो प्रतिवद्धता पुरा नभएकाले क्यानले लाइसेन्स नविकरण नगरेको हो ।’ निगम श्रोतले विकासन्युजलाई भन्यो ।
फास्ट ट्रयाक र निजगढ विमानस्थलका लागि २५ अर्ब बजेट
काठमाडौं, १० जेठ । बारा, पर्सा, रौतहट र सर्लाहीका २० सांसदले काठमाडौं–निजगढ फास्ट ट्रयाक र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन माग गरेका छन् । बाराको निजगढमा सो क्षेत्रका सांसदहरु सम्मिलित संसदिय बिशेष सरोकार समितिले चालु आर्थिक बर्षको बजेट मार्फत पर्याप्त रकम बिनियोजन गरेर काम अघि बढाउनु पर्ने बताएका हुन् । कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले यी दुई आयोजना विरुद्ध राष्ट्रिय/अन्तराष्ट्रिय चलखेल सुरु भएको बताउँदै नेपाल आफैंले यी आयोजना निर्माण गर्ने दृढता व्यक्त गरे । उनले निजगढ विमानस्थल तथा फास्ट ट्रयाकको काम आफ्नै प्रधानमन्त्री कालमा सुरु भएको बताउँदै निर्माणको जिम्मेवारी समेत आफैंले उठाउने बताएका थिए । ‘फास्ट ट्रयाक र निजगढ विमानस्थलको काम मेरै कार्यकालमा सुरु भएको हो, अब निर्माणको नेतृत्व पनि मै गर्छु ।’ पुर्व प्रधानमन्त्री नेपालले भने । संसदिय बिशेष सरोकार समितिका संयोजक तथा पुर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले तराई मधेशका जनताको विकास र समृद्धिसँग जोडिएको फास्ट ट्रयाक र निजगढ विमानस्थलको काम अघि बढाउन दबावमुलक अभियान थालिएको बताए । उनले हुलाकी राजमार्ग तथा बिशेष आर्थिक क्षेत्रलाई समेत अघि बढाउनु पर्नेमा जोड दिए । फास्ट ट्रयाक र विमानस्थललाई २५ अर्ब बजेट आगामी आर्थिक वर्षको बजेटमा फास्ट ट्रयाकका लागि २५ अर्ब बजेट माग गरिएको बताए । फास्ट ट्रयाकका लागि २० अर्ब र विमानस्थलका लागि ५ अर्ब बजेट माग गरिएको र अर्थमन्त्रालय समेत सकारात्मक रहेको उनले जानकारी दिए । एक हजार पाँच सय भन्दा बढि स्थानियहरुको सहभागीता रहेको कार्यक्रमले चार बुँदे बिशेष प्रस्ताव समेत पारित गरेको छ । त्यसमा यी दुई आयोजनाको निर्माण आरम्भ तथा हुलाकी राजमार्ग र बिशेष आर्थिक क्षेत्र सेजको निर्माण एंव सञ्चालन रहेका छन् ।
हिमालय एयरलाइन्सको काठमाडौं–दोहा नियमित उडान जेठ १८ गतेदेखि, अन्तराष्ट्रिय उडानको ५० प्रतिशत बजार लिने घोषणा
काठमाडौ, १० जेठ । हिमालय एअरलाइन्स्ले जेठ १८ गतेदेखि काठमाडौं–दोहामा नियमित उडान भर्ने भएको छ । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास गरी १५८ सीट क्षमताको विमान एअरबस ३२०–२०० ले सो दिनदेखि नियमित रुपमा काठमाडौँ–दोहा उडान भर्ने कम्पनीले जनाएको छ । कम्पनीले शुरुमा सातामा तीन दिन उडान भर्ने र केही समयपछि दैनिक उडान भर्ने जनाएको छ ।कम्पनीले अन्तराष्ट्रिय उडानको ५० प्रतिशत बजार अगट्ने महत्वकांक्षी लक्ष्य पनि लिएको छ । उक्त उडान काठमाडौँबाट स्थानीय समय अनुसार राती ११ बजे उडेर विहान १ः३० बजे दोहामा अवतरण गर्नेछ । त्यसैगरी दोहाबाट विहान २ः३० बजे उडेर १०ः१५ बजे काठमाडौँ अवतरण गर्नेछ । नेपालीहरुको यात्रालाई सरल बनाउने गरी रात्री उडान तालिका बनाएको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘रातीको उडान भर्दा नेपालीले दिनभरी आफ्नो काम गरेर यात्रामा निस्कन सक्ने, राती होटलमा बस्ने खर्च बचत हुने, दोहाबाट नेपाल आउने नेपालीले ११ बजे नै काठमाडौं एयरपोर्टबाट वाहिरीन सक्नेछन्’ उनले भने । bikashnews.com कतार र नेपालबीच नियमित उडानले दुई देशबीच पर्यटन प्रवर्धन र जनस्तरमा सम्बन्ध विकास विस्तार गर्न निकै मद्दत गर्ने श्रेष्ठले बताए । नेपालबाट अन्तराष्ट्रिय उडान भर्ने सबै जहाजमा कम्तिमा ६० प्रतिशत यात्री नेपाली नै हुने भएकोले हिमालयन एयरलाईन्स्मा नेपाली सँस्कृतिको झलक दिँदै उच्च स्तरीय सेवा प्रदान गर्ने बताए । केही महिना पछि एयरलाइन्स्ले भारतको नयाँ दिल्ली, चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने तालिका बनाएको उनले बताए । कम्पनीका व्यापार महाप्रबन्धक राजु केसीले आगामी पाँच वर्षभित्र नेपाली आकाशबाट उड्ने अन्तराष्ट्रिय उडानको ५० प्रतिशत बजार लिने कम्पनीको लक्ष्य रहेको बताए । हाल नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय उडानको ५ प्रतिशत हिस्सा मात्र लिदै आएको छ । ९५ प्रतिशत बजार विभिन्न देशका २९ वटा हवाई सेवा प्रदायक कम्पनीले लिएका छन् । कम्पनीले आगामी पाँच वर्ष भित्र पन्ध्र वटा ३२० सिरिजका जहाज ल्याएर काठमाडौँबाट एसियाका विभिन्न गन्तब्य तथा अन्य मुलुकका विभिन्न शहरहरुमा उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ । कम्पनीले नयाँ जहाज मात्र किनेर चलाउने नीति लिएको केसीले बताए । एअरलाइन्स्ले केही समयपछि लामो दुरी उडान भर्ने ए ३३० सिरिजका जहाज ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिकाको लागि उडान भर्ने योजना बनाएको छ । एअरलाइन्सले कतारको लागि जेनरल सेल्सएजेन्ट (जीएसए) क्लियोपेट्रा टाभल्सलाई नियुक्त गरेको छ । सो कम्पनीले कतारमा एअर लाइन्सको मार्केटि, बजार विकास, आरक्षण, टिकेटिङ लगायत सेवाहरुको प्रतिनिधित्व गर्ने छ । हिमालय एअरलाइन्स्ले कतारी बजारमा सुपथ मुल्यमा आरामदायी सेवा प्रदान गर्ने जनाएको छ । एअरलाइन्स् आफ्ना ग्राहकहरुलाई विश्वासीलो र तोकिएको समयमानै गतब्य स्थानमा पु¥याउने सेवा दिने प्रतिबद्घता जनाएको छ । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स्ले चैत ३१, २०७२ मा कोलम्बो, श्रीलंकामा उडान भरेर आफ्नो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो । त्यसै अनुसार हिमालय एयरलाइन्स्ले आफ्नो व्यवसायिक उडान सुरु गर्न सम्पूर्ण तयारी पूरा गरिसकेको छ । यस शिलसिलामा एअरलाइन्स्ले आफ्ना विमान चालक, परिचारिका र प्राविधिक कर्मचारीहरुलाई तालिम दिने लगायत सम्पूर्ण तयारी पूरा गरीसकेको छ । संयुक्त लगानीमा सञ्चालित यस एअरलाइन्स्मा ५१.०१ प्रतिशत लगानी नेपालीको छ भने ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ।