आयो एसएलसीको नतिजा
काठमाडौं, २ असार । परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल प्रकाशित गरेको छ । यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३ दशमलब ६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् । यस्तै, ३ दशमलब २ भन्दा माथी देखि ३ दशमलब ६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् । २ दशमलब ८ भन्दा माथी देखि ३ दशमलब २ जीपीएमा ४८ हजार ६ सय ११ जना, २ दशमलब ४ भन्दा माथी देखि २ दशमलब ८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २ दशमलब ४ जीपीएमा ९४ हजार ७ सय १६ र १ दशमलब ६ भन्दा माथी देखी २ दशमलब ४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जना पास भएका छन् । एसएलसी परिक्षामा सामेल भएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परिक्षा रद्ध गरिएको छ । परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुनस् परिक्षा दिन पाउने छन् । परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुनस् परिक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुनस् परिक्षा साउन २१ गतेदेखि हुनेछ । यसमा नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् ।
मूल्य वृद्धि अझै १० प्रतिशत, जनताको भान्छा सहज भएन
काठमाडौं, २ असार । सरकारले जनताको दैनिकी सहज बनाउने प्रतिवद्धता सार्वजनिक गरिरहँदा मुल्य वृद्धि(मुद्रास्फीती) भने अझै १० प्रतिशत कायमै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख महिनासम्मको आर्थिक तथा वित्तिय प्रतिवेदनले मुल्य वृद्धि(मुद्रास्फीती) अझै दोहोरो अंकमै रहेको देखाएको हो । २०७२ सालको पुषमहिनामा यस्तो मुल्य वृद्धि १२ दशमलब १ प्रतिशतको उच्च बिन्दुमा पुगेको थियो । केन्द्रिय बैंकले तयार पारेको प्रतिवेदन अनुसार २०७३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९ दशमलब ६ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० दशमलब ४ प्रतिशत देखाएको छ । घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति पुनः केही बढ्न गएको केन्द्रिय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयात घटेको भएपनि चालू आर्थिक वर्षको राजश्व भने लक्षित ४ खर्ब ७५ अर्ब भन्दा बढी सङ्कलन हुने प्रतिवेदनमा उल्लेख छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को प्रथम दश महिनाको तथ्याङ्कको आधारमा आर्थिक परिदृश्यमा क्रमिक सुधार गएको निष्कर्ष पनि निकालेको छ । मुलुकको दक्षिणी भन्सार नाकाहरूमा भएको अवरोध हटे सँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह, सरकारी राजस्व सङ्कलन एवम् पुँजीगत खर्चमा भएको वृद्धिबाट आर्थिक क्रियाकलाप सुधारोन्मुख रहेको केन्द्रिय बैंकले निष्कर्ष निकालेको छ । केमा कति बढ्यो मुल्य ? सबै भन्दा बढि २३ दशमलब ४ प्रतिशत दलहन तथा गेडागुडीको मूल्य बढेको छ भने तरकारीको मूल्य २० दशमलब १ प्रतिशतले बढेको छ । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशमलब ४ प्रतिशत र १५ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ । महंगीयो काठमाडौं चालु आर्थिक वर्षमा काठमाडौं सबै भन्दा महंगो शहरका रुपमा स्थापित भएको छ । काठमाडौंको मुल्य वृद्धिदर ११ दशमलब ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौंको मूल्य वृद्धिदर ६ दशमलब ८ प्रतिशत मात्रै थियो । अघिल्लो वर्ष पहाडमा ११ प्रतिशत रहेको मुल्य वृद्धिदर यो वर्ष घटेर ७ दशमलब ७ प्रतिशतमा झरेको छ । तराईको मुल्य वृद्धिदर पनि ६ दशमलब ९ प्रतिशतबाट बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ ।
यस्ता छन् सेयर बजार बढ्नुका कारण
काठमाडौं, १ असार । पछिल्लो केहि दिनदेखि नेप्सेले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । कारोबार रकम दुई अर्ब नाघ्ने देखि नेप्से परिसूचक समेत दैनिक नयाँ उचाईमा पुगिरहेको छ । आइतबारदेखि बुधबारसम्ममा नेप्से परिसूचक ५२ अंकले बढेको छ भने ७ अर्ब २५ करोडको कारोबार भैसकेको छ । अर्थतन्त्र खुम्चिएर शुन्य दशमलब ७७ प्रतिशतको वृद्धिदरमा सिमित हुँदा पनि बजार निरन्तर उकालो लागेपछि सेयर बजारका जानकारहरुकै मत पनि बाझिन थालेको छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डले लगानी कर्ता सचेत हुनुपर्ने बताएको छ भने नेप्सेले बजार बढ्नुलाई स्वभाविक मानेको छ । सेयर बजार विश्लेषक पनि बजार बढ्नुलाई अस्वभाविक मान्दैनन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सह प्रवक्ता मुराहरी पराजुली भन्छन–‘बजारमा जोखिम मापनको आधार के हो ? कति बढ्यो भने जोखिम मान्ने ? त्यसकारण बजारलाई जोखिम उन्मुख भन्न मिल्दैन् ।’ उनले अहिले सेयर बजार खुम्चिनु पर्ने कुनै कारण नरहेको बताउँदै भने–सिडिएसले कारोबारलाई सहज बनाएको छ, तरलता बढेकाले सस्तो ब्याजदरमा ऋण लिएर लगानी कर्ता सेयर बजारमा आएका छन्, आत्तिनु पर्ने अवस्था छैन् ।उता, नियामक निकायका रुपमा रहेको धितो पत्र बोर्डले भने लगानी कर्ता सचेत हुनु पर्ने बताउन थालेको छ । ‘बजार बढ्नु राम्रो हो तर सेयर बजारका लगानी कर्ता जहिल्यै सचेत हुनु पर्छ, अहिले त बजार निरन्तर बढिरहेको छ, त्यसकारण पनि लगानी कर्ताले बिशेष ध्यान पुर्याउनु पर्छ’, बोर्डका प्रवक्ता निरज गिरिले भने । बजारमा बढेको तरलता, सिडिएस प्रबिधीले ल्याएको सहजताले सेयर बजार बढेको तथ्य भने गिरि पनि स्विकार गर्छन् । बैंक तथा वित्तिय क्षेत्रको परफरमेन्स सन्तोषजनक रहेको तथा रेमिटेन्स आप्रवाह नघटेकाले सेयर बजार बढेको पनि उनले बताए । बजार विश्लेषक रविन्द्र भट्टराई पनि सेयर बजार बढ्नुलाई स्वभाविक नै मान्छन् । उनको विश्लेषणमा यो परफरमेन्स पुस मार्केट नभएर डिमाण्ड पुल मार्केट हो । त्यसकारण पनि बजार दैनिक बढिरहेको उनको निष्कर्ष छ । सेयरको मुल्य बढेका कारण पुराना लगानी कर्ता आकर्षित भएको र त्यसले नयाँलाई समेत बजारमा तानेको भट्टराई बताउँछन् । बुधबार मात्रै बजार ६ दशमलब ३२ अंकले बढेर नेप्से परिसूचक १६२० दशमलब ५७ अंकमा पुगेको छ । यो दिन १३५ कम्पनीको १७ लाख ९२ हजार कित्ता सेयर एक अर्ब ३९ करोडमा कारोबार भएको हो ।