पाउँछन् त भूकम्प पीडितले पहिलो किस्तामै एक लाख ५० हजार ?
काठमाडौँ, २१ साउन । तत्कालिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्प पीडितलाई घर बनाउन एकमुष्ठ अनुदान दिनुपर्ने भन्दै केहि दिन संसद अवरोध गर्यो । त्यसपछि सरकार र काँग्रेसबिच पहिलो किस्तामा एक लाख ५० हजार रुपैंयाँ दिने सहमति भएको थियो । तर दाताहरुले भूकम्प पीडितलाई एकै पटक एक लाख ५० हजार दिनु नहुने अडान राखे । यतिबेला एकै पटक भूकम्प पीडितलाई दुई लाख दिनु पर्छ भन्ने नेपाली काँग्रेसको समर्थनमा सरकार बनेको छ । के काँग्रेस प्रमुख घटक रहेको नयाँ सरकारले भूकम्प पीडितलाई एकै पटक दुई लाख रुपैंयाँ दिन्छ ? अथवा तत्कालिन सरकारसँग भएको सहमति अनुसार पहिलो किस्ता वापत एक लाख ५० हजार रुपैंयाँ दिन्छ त ? प्रश्न खडा भएको छ । तर नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ ४५ दिन भित्र उपलब्ध गराउने भन्दै आफ्नो पहिलो निर्णय गरेका छन् । यद्यपी हालसम्म ४२ हजार ८ सय ८२ परिवारले भने पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ पाइसकेका छन् । दुई लाख ९८ हजार ६ सय ५५ घरधनीसँग अनुदान सम्झौता गरिसकेको छ । पुननिर्माण प्राधिकरणले ५ लाख ३३ हजार परिवारलाई अनुदानको पहिलो किस्ता प्रदान गर्दै पुनः निर्माण कार्यलाई शीघ्र रुपमा अघि बढाईरहेको छ । यस्तै पहिचानका क्रममा रहेका गरिब घरपरिवारको पहिचान कार्य सम्पन्न गर्न उनीहरुको जीवनस्तर उकास्न ‘गरिबका लागि सरकार’ विशेष अभियान सञ्चालन गरी आय आर्जन, शिक्षा, स्वास्थ्य, बिमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसँग एकीकरण र खाद्यसुरक्षा जस्ता कार्यक्रम कार्यान्वयन गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । उनले चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा आगामी तीन महिनाभित्र चिकित्सक पठाई सक्ने साथै जिल्ला तथा सोभन्दा माथिल्लास्तरका सरकारी अस्पतालले एकै छातामुनी सुबै सुविधा दिने नीतिअन्तर्गत गुणस्तरीय औषधि उपलब्ध गराउन औषधि कक्ष चालु आवमा नै सञ्चालन गर्न निर्देशन दिएका छन । शिशुको जन्मदर्ता गराउँदा प्रोत्साहन भत्ता त्यसैगरी मुलुकभरका दलित र कर्णालीका नवजात शिशुको जन्मदर्ता गर्न तोकिएको म्यादभित्रै आउने परिवारलाई प्रोत्साहन स्वरुप एक हजार प्रदान गर्न समेत प्रधानमन्त्री दाहालको निर्देशन रहेको प्रधानान्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तबहादुर श्रेष्ठले जानकारी दिए ।
सेयर बजारमा ११३ अंकको गिरावट, कहाँ गए लगानीकर्ता ?
काठमाडौं, २० साउन । असार १२ गते १८८१ अंकमा पुगेर नेप्से परिसूचकमा इतिहासकै सर्वाधिक उचाई कायम भएको थियो । सो दिन दुई अर्ब २६ करोड रुपैंयाँ बराबरको सेयर किनबेच भएको थियो । तर त्यसको ठिक आठ दिन अर्थात साउन २० गते बजार घटेर १७६८ दशमलब ६० अंकमा झरेको छ । आठ दिनमा बजार ११३ अंकले घटेको छ भने कारोबार रकम पनि १५० करोडमा सिमति भएको छ । एक साता अघि लगानी कर्ता कहाँबाट आएका थिए र अहिले कहाँ गए भन्ने जिज्ञासा उत्पन्न भएको छ । तर नियामक निकायसँग यसको चित्त बुझ्दो जवाफ भेटिन्न । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरि भन्छन–‘बजार बढ्नुको पछाडी पनि कारण थिएन, घट्नुको पछाडी पनि कुनै कारण देखिन्न ।’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले त झन बजार घट्यो भनेर आत्तिनै नपर्ने दावी गरे ।‘हिजो जुन मात्रामा बजार बढेको थियो, आज त्यो मात्रामा घटेको छैन्, यो आत्तिने समय नै होइन, बजार फेरी बढ्न सक्छ ।’ विश्लेषक भट्टराइले भने । लगानी कर्ताले भने बजार अनाश्यक रुपमा बढेकाले घट्ने क्रम जारी रहने दावी गरे ।‘बजार अनावश्यक रुपमा बढेलकाले ठुला लगानी कर्ता धेरै समय पहिले सुरक्षित भैसकेका थिए, अब बजार घट्ने कुरा स्वभाविक हुन्छ’, नाम उल्लेख नगर्ने सर्तमा एक लगानी कर्ताले भने । ब्रोकरहरुको अनावश्यक चलखेलका कारण बजार बढेको आरोप पनि उनले लगाए । त्यसो त धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले केहि पहिले मात्रै सेयर बजारका साना लागनी कर्ता जोखिममा पर्ने भन्दै सचेत गराएका थिए । बजारमा कालोधन लगानी भएको आशंका गर्दै धितोपत्र बोर्डले छानबिन थालेपछि बजार घट्ने क्रम सुरु भएको हो । त्यस्तै, ब्रोकरहरुले आफन्तका नाममा कारोबार गरेको आंशकामा पनि बोर्डले छानबिन थालेको छ । त्यसले पनि बजार घटाउन भूमिका खेलेको बताइन्छ । त्यसो त बजारमा नयाँ लगानी भित्रिएकाले पनि बजार आकाशिएको र अहिले पुनः घट्न थालेको बताउनेहरु पनि प्रशस्तै छन् । यो पनि पढ्नु होस (किन घट्दैछ सेयर बजार ? यस्ता छन् चार कारण)
बैंकहरुले व्याज माथि व्याज लगाउन नपाउने, पेनाल व्याज २ प्रतिशत भन्दा कम लिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं, २० साउन । बैंक तथा वित्तीय संस्थाहरुले ऋणीसँग व्याज माथि व्याज लगाउन नपाउने भएका छन् । त्यस्तै पेनाल व्याज पनि बढीमा २ प्रतिशत लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । ‘कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा बार्षिक पेनाल ब्याजदर २ प्रतिशत भन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ’ राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशिकामा भनिएको छ । त्यस्तै पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ता (साँवा, ब्याज) रकममा बार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधीका लागि कायम हुन आउने रकम भन्दा बढी लिन पाइने छैन । त्यस्तै, पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न पाइने छैन । राष्ट्र बैंकका सहयाक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार यसअघि राष्ट्र बैंकले पेनाल व्याजदरको सीमा तोकेको थिएन । कर्जा भुक्तानीमा ढिलाई हुँदा बैंकहरुले पेनाल व्याज बढी लिए भन्ने गुनासो उपभोक्ताबाट आएपछि नयाँ व्यवस्था गरिएको हो । बैंकहरुले व्याज र पेनाललाई पु्ँजीकरण (क्यापिटलाईज) गरेर त्यसमाथि व्याज लगाउन पनि नपाउने व्यवस्था गरिएको उनले बताए । यसअघि बैंकहरुले भाका नाघेका ऋणीबाट उठाउन बाँकी व्याजमा पुनः सावाको सरह व्याज लगाउदै आएका थिए । नयाँ व्यवस्थाले तोकिएको समयमा कर्जाको किस्ता तथा व्याज भुक्तानी गर्न नसेका तर ढिला गरि बैंकको ऋण भुक्तानी गर्ने ग्राहकलाई लाभ मिल्नेछ । बैंकको आम्दानीमा भने थोरै नाकारात्मक असर पर्नेछ ।