अटोमोबाइलको बजार ३५ प्रतिशतले बढिरहेको छ–अञ्जन श्रेष्ठ
अञ्जन श्रेष्ठ, अध्यक्ष–नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सवारीहरुको प्रदर्शनी नाडा अटो शो २०१६ हुँदैछ । नाडा अटोमोबाइल्स एशोसिएशनले आयोजना गर्ने उक्त मेलामा नेपालमा बिक्री हुने प्राय सबै सवारी साधन, सवारी सहायक बस्तुहरुको प्रदर्शनी हुने, ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने र २ अर्ब भन्दा बढीका करोबार हुने अनुमान गरिएको छ । मेलाको तयारी कस्तो छ ? मेलाबाट सवारी पारखीले के पाउने छन् ? प्रस्तुत छ, नाडा अटोमोवाइल्स एशोसिएशनले आयोजना गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्न र नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले दिएको जवाफको सारः नाडा अटो शोको तयारी कस्तो छ ? यहि भदौं १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा ११ औं नाडा अटो शोको आयोजना गर्दैछौं । सबै खाले तयारीहरु अन्तिम चरणमा पुगिसकेको छ । सहभागी हुने ब्राण्ड, तिनको लोकेशन लगायतका सबै कुरा निश्चित भैसकेका छन् । अटो शोमा अटोमोबाइल्सका कुन–कुन उत्पादन समेटिँदैछन् ? र कति स्टल रहनेछन् ? मेलामा ७४ वटा कम्पनीका १२५ वटा स्टलहरु रहने छन् । त्यसमा १६ वटा ब्राण्डका चार पाङग्रे, १५ वटा ब्राण्डका दुई पाङग्रे तथा ५ वटा ब्राण्डका हेवी कमर्शियल सवारी साधनहरू रहने छन् । साथै, नाडा अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् । कुन–कुन ब्राण्डले सहभागीता जनाउँदैछन् ? नेपाली बजारमा उपस्थितका भएका प्राय सबै ब्राण्डलाई सहभागी गराउने प्रयास गरेका छौं । जस्तो कि चार पाङग्रेमा डाट्सुन, फियट, फोर्ड, होण्डा, हुण्डाई, किया, महिन्द्रा, एमजी, निशान, रेनाउल्ट, स्कोडा, सुजुकी, टाटा, टोयोटा, भक्सवागन र साङयोङ रहेका छन् । त्यस्तै २–पाङग्रेमा बजाज, बेला, बेनेली, हिरो, होण्डा, केटिएम, महिन्द्रा, रोयल इनफिल्ड, रनर, स्कोमाडी, सुजुकी, टिभिएस, युएम ग्लोबल, भेस्पा र यामाहा रहेका छन् । त्यस्तै, हेवी कमर्शियलमा अशोक लिलेण्ड, आइसर, इस्कोर्ट, महिन्द्रा र टाटा रहेका छन् । त्यसबाहेक पनि बिभिन्न वित्तीय संस्था, नया प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एसेसरिजहरूको पनि सहभागिता रहने छ । मेला कस्तो हुने पूर्वानुमान गर्नु भएको छ ? अटोमोवाईल क्षेत्रको यो सबैभन्दा ठूलो मेला हो । ६ दिनसम्म चल्ने नाडा अटो शोमा ५० हजार आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरेका छौं । उहाँहरुले मेलामा पक्कै पनि धेरै नयाँ कुरा देख्न पाउनु हुनेछ । गतसाल ४० हजारले अवलोकन गरेका थिए । गत सालको नाडा अटो शो मेलामा १५० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसपाली करिब २ अर्बको कारोबार हुने अनुमान गरेका छौं । नाडा अटो शो बेच्ने मात्रै नभएर ब्राण्डिङ गर्ने स्थलका रुपमा पनि स्थापित हुँदै आएको छ । त्यसैले अब वर्षमा दुई पटक अटो शो गर्ने कि भनेर हामीबीच छलफल भैरहेको छ । अर्थतन्त्रमा अटो मोबाइल्स क्षेत्रको योगदान कति छ ? अटो मोबाइल्स क्षेत्र भनेको मुलुकको अर्थतन्त्रको मेरुदण्ड नै हो । करिव बर्षेनी पाँच हजार करोड रुपैयाँ बराबर कारोबार हुने गरेको छ । देशको कुल राजस्वमा करिब २० प्रतिशत योगदान अटोमोबाइल क्षेत्रले पुर्याएको छ । बीमा बजारमा करिब ४५ प्रतिशत हिस्सा अटोमोबाइल क्षेत्रले नै ओगटेको छ । करिब १७ लाख नेपालीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अटो मोबाइलको बजार वृद्धिको अवस्था कस्तो छ ? भूकम्प र नाका बन्दीका बाबजुद पनि गत वर्ष ३५ देखि ४० प्रतिशत बजार बढेको थियो । यसपालीमा पनि सोही मात्रामा बजार वृद्धि हुन्छ । यसको स्कोप अझै ठूलो छ, त्यसैले बजार अझै वृद्धि हुन्छ । करको दरमा सधै असन्तुष्ठि व्यक्त गर्दै आउनु भएको छ, किन ? विश्वमै नभएको भन्सार दर हामी कहाँ छ, अटो मोबाइल क्षेत्रमा । अब यसलाई बिलासिताको बस्तुबाट आवश्यक बस्तुका रुपमा मान्यता दिनु पर्छ त्यसका लागि करको दर घटाउनु पर्छ भन्ने हाम्रो माग हो । खास गरी सरकारी अधिकारी तथा नीति निर्माताले अटोमोवाईल क्षेत्रलाई विलासीका बस्तुको रुपमा लिनु भएन । यसलाई बिलासीको बस्तुबाट आवश्यकताका बस्तुका रुपमा परिभाषित गरिनुपर्छ भन्ने हाम्रो माग हो । ५ हजार करोड रुपैयाँको कारोबार हुन्छ भन्नु भयो । यति ठूलो बजार भए पनि नेपालमा नै एसेम्बल गरी मोटर निर्माण किन गर्न सकिएको छैन ? हामी पनि एसेम्बलको काम गर्नु पर्छ भन्ने निष्कर्षमा पुगेको धेरै पहिले नै हो । त्यसका लागि सरकारसँग पनि विशेष सुबिधा माग गर्दै आएका छौं । नेपालमा एसेम्बल गरियो भने त्यसले सहायक कम्पनीहरुको स्थापना गराउँछ र रोजगारीको ठूलो अवसर सृजना हुन्छ । एसेम्बलका लागि सरकारले छोटो समय सुबिधा दियो भने लामो समयसम्म अर्थतन्त्रामा योगदान पुग्छ । यसपालीको बजेट मै केहि सुबिधाका लागि आग्रह गरेका थियौं । तर त्यस्तो सुबिधा केहि पनि आएन् । बजाज मोटर साइकलको एसेम्बल युनिट स्थापना भैसकेको छ । त्यहि छुटको बिषयमा कुरा नमिलेर उत्पादन बजारमा ल्याउन नसकिएको हो । सडक मर्मत तथा सम्भार दस्तुर उठाइँदै आएको छ, तर सडकको दुर्दशा र दुर्घट्ना घटेका छैनन् नि ? सरकारलाई सडक मर्मत तथा सम्भार दस्तुर लिन र त्यस कोषले सडक मर्मत गर्न हामीले नै सरकारलाई सुझाव दिएका हौं । तर सरकारले त्यो शिर्षकमा रकम उठाए पनि काम गरेन । सुरुमा दुई प्रतिशत, त्यसपछि पाँच प्रतिशत हुँदै यसपाली ७ प्रतिशत सडक मर्मत तथा सम्भार दस्तुर पुर्याएको छ । त्यो रकम राजश्व खातामा हालेको देखिन्छ । अब त्यो ७ प्रतिशत दस्तुर छुट्टै कोष बनाएर सडक मर्मतमा खर्च गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । ट्राफिक व्यवस्थापनमा पनि सोही कोषको केहि रकम खर्च गर्न सकिन्छ । नेपालमा यतिबेला सडक विस्तारको काम द्रुतगतिमा अघि बढेको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण छिचोल्ने सडक करिडोरहरुको काम अघि बढेसँगै त्यसको पुष्टि हुन्छ । तर त्यसको गुणस्तर मापनको उपयुक्त विधि अबलम्बन गरिनु आवश्यक छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक एशियाका कार्यकारी प्रमुखले भने–नेपालमा पुँजी र व्यवसाय वृद्धि गर्छौ
काठमाडौं, ७ भदौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वलले नेपाल राष्ट्र बैंकले तोकेअनुसार पुँजी वृद्धि गर्ने र नेपालमा बैकिङ व्यवसाय विस्तार गर्ने बताएका छन् । दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका एशिया क्षेत्रीय प्रमुख कार्यकारी कन्वलले नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवि नेपालसँग भेटमा २०७४ असार मसान्तसम्ममा तोकिएको पुँजी वृद्धि गरिने प्रतिवद्धता जनाएका छन् । उनले पुँजी वृद्धिबारे स्पष्ट मोडल छिट्टै स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको संचालक समितिले बनाएर राष्ट्र बैंकसमक्ष पेस गर्ने जानकारी दिएको राष्ट्र बैंक स्रोतले बतायो । उनले नेपालमा लगानी विस्तारमा जोड दिने स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको नीति रहेको सन्देश छोडेर गएका छन् । पछिल्लो समयमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको वित्तीय अवस्थामा पनि सुधार आएको जानकारी दिदै उनले नेपालको लगानी अवस्था र वित्तीय बजारको बारेमा जानकारी लिएका थिए । ‘उहाँको भ्रमणले हामीलाई उत्साहित गरेको छ, लगानी विस्तारमा जोड दिनु भएको छ’ बैंकका प्रवक्ता दिवाकर पौडेलले भने–पुँजी वृद्धिबारे हामीले यसअघि नै राष्ट्र बैंकलाई २०७४ असार मसान्तसम्म तोकिएको पुँजी पुर्याउने प्रतिवद्धता जनाएका थियौं।’ पुँजी वृद्धिको मोडालिटीबारे सञ्चालक समितिले निर्णय गर्न बाँकी नै रहेको उनले बताए । २०७४ असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्छ । यस बैंकको हाल चुक्ता पुँजी २ अर्ब ८१ करोड रुपैयाँ छ भने संचित कोषमा ४ अर्ब ४० करोड रुपैयाँ छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा ७५ प्रतिशत सेयर लगानी स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको रहेको छ ।
यसकारण आए कन्वल नेपाल, यस्तो छ स्ट्याण्डर्ड चार्टर्ड बैंकको पूजी बृद्धिको योजना
काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुको चुक्ता पूजी कम्तिमा पनि ४ गुणाले बढाएर ८ अर्ब रुपैयाँ हुनै पर्ने बाध्यकारी ब्यवस्था गर्यो । सो अनुसारको चुक्ता पूजी बढाउनको लागि आगामी असार मसान्तसम्मको समय सीमा दिइएको छ । राष्ट्र बैंकले गत बर्षको भदौ मसान्तभित्रमा पूजी बृद्धिको योजना पेश गर्न सवै बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दियो । पछि त्यस्तो योजना आफ्नो बैंकको वेबसाइटमा नै राख्नुपर्ने ब्यवस्था पनि राष्ट्र बैंकले गर्यो । यो ब्यवस्था अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले न पूजी बृद्धिको योजना राष्ट्र बैंकमा पेश गर्यो, न त दोस्रो निर्देशन अनुसारको पूजी बृद्धिको योजना आफ्नो वेबसाइटमा नै राख्यो । स्ट्याण्डर्ड चार्टर्डको यस्तो रबैयाले सो बैंकले अव के गर्छ भन्ने प्रश्न लगानीकर्तामा छ । प्रतिस्पर्धी बैंकहरु भने उसलाई किन यस्तो सुविधा भनेर प्रश्न गरिरहेका छन् । ‘राष्ट्र बैंकले तोके अनुसारको ब्यवस्था कायम गर्छाैं भन्ने प्रतिवद्धता जाहेर गरेको छ,’ स्ट्याण्डर्ड चार्टर्ड बैंकले पूजी बृद्धिको योजनामा के गर्छ भन्ने प्रश्नमा राष्ट्र बैंकका अधिकारी बताउदै आएका थिए । यसविचमा स्ट्याण्डर्ड चार्टर्डले नेपाल छोड्न लागेको हल्ला पनि चल्यो । कहिले कुन बैंकले र कहिले कुन बैंकले सो बैंक खरिद गर्ने भन्ने हल्ला पनि चल्यो । स्ट्याण्डर्ड चार्टर्डले हटौडा, पोखरालगायतका शाखा बन्द गरेपछि उसले नेपाल छाड्न लागेको भन्ने हल्लालाई थप बल पनि मिलेको थियो । यसविचमा अर्काे हल्ला पनि आएको थियो । त्यो हल्ला के थियो भने स्ट्याण्डर्ड चार्टर्डले आफूलाई विदेशी शाखाको मान्यता देउ भन्ने प्रस्ताव राष्ट्र बैंक समक्ष गर्यो । तर यी कुनै पनि हल्ला पुष्टी हुन सकेका थिएनन् । राष्ट्र बैंकका अधिकारीले पनि यसै हो भनेर प्रष्ट जवाफ दिन सकिरहेका थिएन । आफूहरुसँगको कुराकानीमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृतले ‘म पनि हेडक्वाटरको जवाफ कुरेर बसेको छु,’ भन्ने जवाफ दिने गरेको राष्ट्र बैंकका अधिकारीहरु बताउथे । यसैविच गत आइतवार स्ट्याण्डर्ड चार्टर्ड बैंकका आसियान तथा दक्षिण एशिया क्षेत्रीय प्रमुख कार्यकारी अजय कन्वल दुई दिने नेपाल भ्रमणमा आएपछि यो विषय पुन चर्चामा आएको छ । किन आए त कन्वल ? स्ट्याण्डर्ड चार्टर्डले शाखाको मान्यता माग्छ ? नेपाल छोड्छ ? वा पूजी थप्छ ? यी तिनै ओटा प्रश्नको जवाफ लिएर कन्वल नेपाल आएका राष्ट्र बैंक स्रोतले जानकारी दियो । स्रोतले दिएको जानकारी अनुसार स्ट्याण्डर्ड चार्टर्डले नेपाल नछोड्ने प्रष्ट पारिसकेको छ । ‘८ अर्ब पूजी पुर्याउनु पर्ने ब्यवस्था लगत्तै नेपाल छोड्ने मनस्थितिमा बैंक देखिएको थियो, तर हामीले नछोड्न एक प्रकारको अनुरोध नै गर्यौं, उसको यहाँका पदाधिकारीदेखि हेडक्वाटरसम्मका पदाधिकारीको निकट सम्पर्कमा रह्यौं, उसले केही सहुलियत माग्यो, हामीले तोकिएको समयमा पूजी पुर्याउने वाहेकको सहुलियत दिन तयार छौं भन्ने जानकारी गरायौं, कन्वलको अहिलेको भ्रमण त्यसैको मूर्त रुप हो,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने । स्रोतको अनुसार यो बर्षको बोनसवाट कति पूजी थप्ने, हकप्रद दिने कि एफपिओ जारी गर्ने भन्ने जस्ता कुरा स्ट्याण्डर्ड चार्टर्डले सार्वजनिक नगर्दा पनि हुने छुट राष्ट्र बंैकले दिएको छ । यस्तै उसका सम्भाब्यता नभएका स्थानका शाखा बन्द वा स्थानान्तरणको सुविधा पनि राष्ट्र बैंकले दिएको छ । ‘तोकिएकै समयमा पूजी पुर्याउन स्ट्याण्डर्ड चार्टर्ड ग्रुपले ग्यारेन्टी गर्ने र हामीले थप प्रक्रियागत कुरामा छुट दिने भन्ने भएको थियो, कन्वल त्यही ग्रुप ग्यारेन्टीको लागि नेपाल आएका हुन्,’ स्रोतले भन्यो ।