स्ट्याण्डर्ड चार्टर्ड बैंकको नेतृत्वमा सिंगापूरबाट नगद डलर ल्याइदै
काठमाडौं, १३ भदौ । बजारमा अमेरिकी डलरको अभाव बढेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको नेतृत्वमा ४ बाणिज्य बैंकले सिंगापूरवाट कार्गाे गरेर डलर ल्याउने तयारी थालेका छन् । आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गाे गरेर नेपाल भित्र्याउनले गृहकार्यमा बैंक जुटेका हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सहित नविल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले सिंगापूरवाट नगद डलर ल्याउन लागेका हुन् । यसका लागि ती बैंकले नेपाल राष्ट्र बैंकसँग समन्वय गरिरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुंगानाले जानकारी दिए । सिंगापूरमा अमेरिकी डलर भए नभएको बारेमा बुझ्ने कार्य भइरहेको र त्यहाँ पनि नगद डलर नभए के विकल्प अपनाउने भन्ने विषयमा छलफल भइरहेको ढुंगानाले जानकारी दिए । यी बैंकहरुले विदेशमा रहेका आफ्नो खातावाट झिकेर डलर नेपाल ल्याउन लागेका हुन् । सवै बाणिज्य बैंकको विदेशी बैंकमा खाता हुन्छ । त्यस्तो खातामा बाणिज्य बैंकहरुले विदेशी मुद्रा राख्ने गरेका हुन्छन् । नगद डलरको माग अधिक भएपछि बैंकहरुले आफ्नो खाताको रकम झिकेर नेपाल ल्याउन लागेका हुन् । यसअघि बाणिज्य बैंकहरुले यसरी विदेशवाट डलर नेपाल ल्याएका थिएनन् । बजारको माग धान्नको लागि बैंकहरुले डलर ल्याउने प्रस्ताव गरेकोले सोको स्वीकृति प्रदान गर्न लागिएको कार्यकारी निर्देशक ढुंगानाले बताए । कुन बैंकले कति परिमाणमा डलर ल्याउन लागेका हुन भन्ने अझै यकिन नभएको उनको भनाइ छ । डलर ल्याउनको लागि नै आवश्यक प्रक्रिया मिलाउन हिमालयन बैंकको उच्च टोली यही साता सिंगापूर जाने तयारी भएको छ । बैंकहरुले आफूले विदेशमा राखेको डलर नै नेपाल ल्याउने हुन् । उनीहरुले अन्तराष्ट्रिय ब्यापारको लागि ब्यापारीहरुले खोलेको प्रतितपत्र (एलसी) को २२ प्रतिशत, आफूसँग भएका सवै अमेरिकी डलर र फरवार्ड कन्ट्याक्टको शतप्रतिशत अमेरिकी डलर विदेशी बैंकमा खाता खोलेर राख्न पाउने ब्यवस्था छ । बाणिज्य बैंकहरुले सोही रकम नेपाल ल्याउन लागेका हुन् । यसरी विदेशवाट डलर ल्याउदा यहाँको विनिमय दर अनुसार आर्थिक रुपमा सम्भाब्य हुने नहुने बैंक आफैले निक्र्योल गर्नुपर्ने हुन्छ ।
चालु अावको पहिलो महिनामा उद्योग विभागमार्फत ४७ अर्ब लगानी प्रतिवद्धता, उर्जा क्षेत्रमा बढि
काठमाडौं, १३ भदौ । नेपालमा लगानीको वातावरण विस्तारै विकास भएसंगै चालु आर्थिक वर्षको पहिलो महिनामै ठूलो मात्रामा लगानीको प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को पहिलो महिना साउनमा ४७ अर्ब ३८ करोडको लगानी गर्ने प्रतिवद्धता सहित ४७ वटा साना ठूला उद्योग दर्ता भएका छन्। गत वर्षको यहि अवधिमा हेर्ने हो भने जम्मा जम्मा ५ अर्ब ८७ करोड रुपैँया बराबरको स्वदेशी लगानीको प्रतिबद्धता आएको थियो। उद्योग विभागका अनुसार साउनमा आएको लगानी गत आर्थिक वर्षको भन्दा झन्डै आधा हो । गत आर्थिक वर्षभरी १ खर्ब २२ अर्ब कुल लगानीको प्रतिवद्धता आएको थियो । विभागका अनुसार साउन महिनामा निर्माण क्षेत्रमा १ अर्बको लगानीसहित निर्माण कम्पनी दर्ता भएको छ । उत्पादनमूलक क्षेत्रमा सात वटा कम्पनीले १ अर्ब ६६ करोड लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । सेवा र पर्यटन क्षेत्रमा दुर्इ/ दुर्इवटा कम्पनीले क्रमश १ अर्ब २० करोड र ३२ करोड ९० लाख लगानी गर्ने प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता भएका छन् । उद्योग विभागले गत वर्ष करिब सवा १५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता भएका ३ सय ४१ वटा विदेशी संयुक्त लगानीका परियोजनालाई स्वीकृति दिएको छ । अघिल्लो वर्ष करिब साढे ६७ अर्बका वैदेशिक लगानी प्रतिबद्धता भएका ३ सय ६८ वटा परियोजनाले स्वीकृति पाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सेवासम्बन्धी परियोजनाको संख्यामा वृद्धि भएको छ । तर, उत्पादन, पर्यटन र ऊर्जासम्बन्धी परियोजनाको संख्यामा कमी आएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए। गत वर्ष भूकम्प, नाकाबन्दी र तराई अान्दोलनका कारण लगानी कम भएको न्यौपानेको ठहर छ । गत वर्ष नाकाबन्दीका कारण लगानीकर्ता हत्तोसाहित भएर लगानी कम भएको र यो बर्ष मुलुकमा ठूलो केहि घटना नघटे लगानी बढ्ने उनले बताए। यो वर्षको पहिलो महिनामा विदेशी लगानीको प्रतिबद्धता भने ७९ करोड मात्रै भएको छ । अघिल्लो वर्षको पहिलो महिनामा पनि ७९ करोड नै विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।यो वर्षको पहिलो महिनामा मात्रै स्वदेशी लगानी तर्फ २ हजार ८ सय ७८ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ भने विदेशी लगानी तर्फ १ हजार ४ सय ४ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ । दर्ता भएका उद्योग र रोजगारी प्रतिवद्धता संस्थापक लगानी कर्ता २०७३ साउन महिनाको लगानी दर्ता भएका उद्योगको संख्या २०७३ साउनको रोजगारी संख्या नेपाली लगानी कर्ता ४७ अर्ब ३८ करोड ४७ (साना ३३ मध्यम ११ ठुला १३ ) २,८७८ जना विदेशी लगानी कर्ता ७९ करोड २ लाख ४६ (साना ४२ मध्यम ४ ) १,४०४ जना यो तथ्यांक उद्योग विभागको मात्र हो । लगानी बोर्ड मार्फत भएका विदेशी लगानी प्रतिबद्धता भने यस तथ्यांकमा समावेश गरिएको छैन।
नेपाल बैंक पूर्ण प्रतिस्पर्धी भएको निष्कर्ष, नयाँ अवसरको ढोका खुला, ५१ प्रतिशत सेयर बिक्री गर्ने सरकारको तयारी
काठमाडौं, १२ भदौ । ‘नेपाल बैंकले गत वर्ष ३ अर्ब १ करोड खुद नाफा गरेको छ । नेपालका बैंकहरुले गत आर्थिक वर्षमा कमाएको नाफामा सबैभन्दा बढी हो’ बैंकको प्रगतिबारे जानकारी दिन आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले भने–‘नेपाल बैंकको वित्तीय अवस्था राम्रो भएको छ र बैंक पूर्ण प्रतिस्पर्धी भएको छ ।’ नेपाल बैंकले आगामी आर्थिक वर्षमा पनि ३ अर्ब १ करोड वा सो भन्दा बढी खुद नाफा आर्जन गर्न सक्छ ? विकासन्युजको प्रश्नमा उनले भने–‘हाम्रो लक्ष्य र प्रयास गत वर्षको भन्दा बढी नाफा कामाउने तर्फ केन्द्रीत हुनेछ तर त्यति नै कमाउन सकिन्छ भनेर निश्चित गर्न सकिदैन’ उनले भने । गत वर्ष बैंकले १ अर्ब १४ करोड रुपैयाँ बराबरको सम्पत्ति बिक्री गरेको थियो । करिब ६२ करोड रुपैयाँ राईट व्याक (पुराना कर्जा असुली)बाट आर्जन भएको छ । त्यसको संचित प्रभावले बैंकको नाफा ६ गुणाले वृद्धि भएको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा ४८ करोड रुपैयाँ मात्र थियो । तर चालु आर्थिक वर्षमा त्यति धेरै नाफा हुनेमा धेरै आशंका गरिएको छ । बजेटमा सरकारी कर्मचारीको तलवमा २५ प्रतिशत वृद्धि गरिएकोले नेपाल बैंकको कर्मचारी खर्च करिब ६६ करोड रुपैयाँ वृद्धि हुने भएको छ । बैंकको पुँजी प्रयाप्तता अनुपात ११ प्रतिशत नाघेकोले बैंकले थप सेयर तथा सम्पत्ति बिक्री गर्ने बैंकको योजना बनाएको छैन । बैंकको खराव कर्जा अनुपात २.७२ प्रतिशतमा झरेकोले पुराना कर्जा असुली तथा राईट व्याकबाट बैंकको नाफामा उल्लेख्य योगदान बढ्ने छैन । नयाँ अवसर वित्तीय रुपमा स्वस्थ्य भएकोले अब नेपाल बैंकका लागि नयाँ अवसरको ढोका खुला भएको बैंकका प्रमुख कार्यकारी अधिकृत शाह बताउँछन् । राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पूरा भएकोले बैंकले नयाँ शाखा खोल्ने, नयाँ ठाउँमा व्यवसाय विस्तार गर्ने, सहायक कम्पनीहरु खोल्ने, सेकेण्डरी मार्केटमा लगानी गर्ने, सूचना र प्रविधिमा आधारित नविनतम सेवाहरु सञ्चालन गर्ने र आम्दानी वृद्धि गर्ने ढोका खुला भएको शाहले बताए । शाहका अनुसार नेपाल बैंकले स्माट बैकिङका लागि पूवार्धार तयार गरेको छ र नयाँ योजना बनाएर स्वीकृतिको लागि राष्ट्र बैंक पठाईएको छ । आगामी नोभेम्बरसम्ममा बैंकले भिसा कार्ड सेवा समेत उपलब्ध गराउने छ । साझा यातायातसँगको सहकार्यमा बस यात्रुलाई ई–टिकटको व्यवस्था समेत गर्न लागिएको छ । यस्तो सेवाले बैंकको ग्राहक वृद्धि र आम्दानी वृद्धिमा उल्लेख्य सहयोग गर्ने शाहले बताए । सम्पत्ति व्यवस्थापन कम्पनी र सेयर बिक्री त्यसैगरी बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी खडा गर्ने, ५१ प्रतिशत सेयर रणनीतिक साझेदारलाई दिने तयारी गरिरहेको बैंकका अध्यक्ष जनार्दन आचार्यले बताए । ‘नेपाल बैंकलाई निजीकरण गर्ने र एसेट म्यानेजमेन्ट कम्पनी खडा गर्ने वित्तीय क्षेत्र सुधार कार्यक्रमको प्रमुख लक्ष्य हुन्, त्यसमा अहिले पनि परिवर्तन भएको छैन’ सरकारको प्रतिनिधित्व गर्ने बैंकका अध्यक्ष आचार्यले भने–पहिला नेपाल बैंकको ४२ प्रतिशत सेयर थियो, अहिले ६२ प्रतिशत भएको छ । यतिबेला ६२ प्रतिशत सेयर मध्येबाट ५१ प्रतिशत सेयर बिक्री गरेर रणनीतिक साझेदार ल्याउन सरकारलाई सजिलो भएको छ ।’ ‘यसअघि नै बैंकको साधारणसभाले ५१ प्रतिशत सेयर दिएर रणनीतिक साझेदार भित्र्याउने निर्णय गरिसकेको छ । त्यसलाई कार्यान्वयन गर्ने विषयमा सरकारसँग छलफल भईराखेको छ’ अध्यक्ष आचार्यले भने । नेपालका बैंकहरु मध्ये सबैभन्दा बढी स्थर सम्पत्ति नेपाल बैंकसँग भएको तर त्यसको अधिकतम उपयोग गर्न नसकिएको निश्कर्षसहित सम्पत्ति व्यवस्थापन एकाई स्थापनाको तयारी भईरहेको उनले जानकारी दिए । ‘काठमाडौंको न्यूरोडमा १३ रोपनी जग्गा बैंकको स्वामित्वमा छ । बैंकका भवनहरु पुराना भइसकेका छन् । जग्गाको उचित सदुपयोग हुन सकेको छ । यस्तो सम्पत्ति देशका प्रमुख सहरमा धेरै छन्, त्यसको अधिकतम प्रयोग गर्दै उचित लाभ लिने हाम्रो उदेश्य हो’ उनले भने । २३ प्रतिशत हकप्रद सेयर हाल बैंकको सेयर पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ छ । २३.७३ प्रतिशत हकप्रद सेयर जारी गरेर ८ अर्ब चुक्ता पुँजी पुर्याउने बैंकको योजना छ । हाल बैंकको ग्राहकमा ११ लाख भन्दा बढी निक्षेपकर्ता र १५ हजार भन्दा बढी ऋणी रहेको बैंकले जानकारी दिएको छ । असार मसान्तसम्ममा बैंकमा निक्षेप ८९ अर्ब र कर्जा ६३ अर्ब रुपैयाँ छ ।