अमेरिकीहरूसँग ४११ खर्ब डलर विद्यार्थी ऋण, थप साढे ४४ अर्ब डलर स्वीकृत
काठमाडौं । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन् । पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्र्ने ह्वाइट हाउसले बताएको छ । ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार छिन् । उनले रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । यो घोषणा कोभिड–१९ महामारीपछि घरपरिवारहरूले उच्च जीवनयापन लागतको भार महसुस गरिरहेको र मतदाताहरूले सर्वेक्षणहरूमा अर्थतन्त्रलाई महत्त्वपूर्ण चिन्ताका रूपमा उल्लेख गरेको बेलामा आएको छ । पछिल्लो कदमसँगै सार्वजनिक सेवा ऋण माफीअन्तर्गत १० लाखभन्दा बढी मानिसको ऋण रद्द गरिएको राष्ट्रपति बाइडेनले वक्तव्यमा उल्लेख गरेका छन् । शिक्षक, नर्स र अन्य व्यक्तिहरूलाई समर्थन गर्ने कार्यक्रमको प्रतिबद्धतामा १० वर्षको सार्वजनिक सेवा र १० वर्षको भुक्तानीपछि विद्यार्थी ऋण माफी समावेश थियो । ‘धेरै लामो समयसम्म सरकारले आफ्नो प्रतिबद्धताहरू पूरा गर्न असफल भयो र केवल सात हजार मानिसले मात्र माफी पाएका थिए,’ बाइडेनले भने, ‘म उच्च शिक्षालाई किफायती बनाउन कहिल्यै काम गर्न रोक्ने छैन ।’ उपराष्ट्रपति ह्यारिसले उच्च शिक्षा जीवनभरको ऋण नभई आर्थिक अवसरको मार्ग हुनुपर्ने बताइन् । उनले पनि लागत कम गर्न, उच्च शिक्षालाई अझ किफायती बनाउन र विद्यार्थी ऋणको भार कम गर्न काम जारी राख्ने प्रतिज्ञा गरिन् । कोरोना भाइरस महामारीको समयमा पूर्वराष्ट्रपति ट्रम्पले लागू गरेका विद्यार्थी ऋण भुक्तानीको रोक्कापछि बाइडेनले लाखौँ अमेरिकीका लागि विद्यार्थी ऋण रद्द गर्ने प्रयासहरू सुरु गरेका छन् । अमेरिकीहरूसँग ४११ खर्ब डलर विद्यार्थी ऋण छ र केहीले जागिर र परिवार सुरु गर्दा दशकौँसम्म तिर्नुपर्ने हुन्छ ।
स्कुलमा खाजा खान पाएपछि नियमित आउन थाले विद्यार्थी
फाइल फाेटाे कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन । बीचमै विद्याय छाडने विद्यार्थीको सङख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्याएको हो । आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढने गरेका छन् । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हुँदै आएको थियो । ‘कक्षा दोहर्याउने, बीचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो’ विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका श्रोत शिक्षक डवलबहादुर ठगुन्नाले भने, ‘दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन् ।’ उनका अनुसार नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्नाले बताए । ‘कुन बार कस्तो खाने कुरा खुवाउने भन्ने बारे ‘मेनु’नै बनाएका छौं’ उनले भने, ‘त्यसै अनुरुप विद्यार्थीलाई पौष्टिक आहार प्रदान गर्ने स्थानीय उत्पादनमा आधारित खाजा बनाएर विद्यार्थीलाई वितरण गरिन्छ ।’ विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतबा खिर, सोमबार दालभात, मङगलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, विहीबार खिचडी र शुक्रवार फलफुल खुवाइने गरिन्छ । खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एक जना भान्सेको पनि व्यवस्था गरिएको छ । विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए । खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुडा खरिद संगै भान्सेको मासिक तलब सात हजार रुपैयाँ व्यहोरिदै आएको छ । यो संगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यन्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर (फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ । दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन/तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरुलाई कार्यान्वयनमा लैजाने गरिन्छ । दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए । ‘खाजा खुवाउदा विद्यार्थीलाई बस्नका लागि असहज हुदै आएकाले आगामी वर्ष आवश्यक बेन्चहरु निर्माण गर्ने योजना बनाएका छौं’ उनले भने, ‘बेन्चका लागि आवश्यक पर्ने काठका लागि सामुदायिक वन र निर्माण गर्दा लाग्ने खर्चका लागि वडा कार्यालयलाई गुहार्छौ ।’ विसं २०७७ सालमा तर्जुमा गरिएको दिवा खाजा कार्यक्रमको प्रति विद्यार्थी १५ रुपैयाँका दरले उपलव्ध गराउने रकम हालको महंगीमा नपुग्ने भएकाले यसमा बढोत्तरी गर्नु पर्ने विद्यालयका शिक्षहरुले जनाएका छन् । विद्यालयमा दिवा खाजा कार्यक्रमसंगै अग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदयिक विद्यालय मध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए । ‘विद्यालर्थीलाई पोषणयुक्त खाजाको व्यवस्थापनको कार्य गर्नु चुनौतिपूर्ण रहेपनि विद्यालयले गरेर देखाएको छ’ उनले भने, ‘व्यवस्थापन गरे जस्तो सुकै चुनौती भएपनि कार्य गर्न सकिदो रहेछ भन्ने उदाहरण यस विद्यालयको दिन सकिन्छ ।’ विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले थप प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन संयन्त्रण निर्माण गरेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए । ‘अनुगमन संयन्त्रले विद्यालयमा दिवा खाजाको अवस्था, ‘मेनु’ अनुसार खाजा खुवाए नखुवाएको, भान्सा सरसफाइको अबस्था लगायत बारे जानकारी लिने छ’ उनले भने, ‘मापदण्ड विपरित खाजा खुवाइएको पाइए सम्बन्धित विद्यालयलाई सचेत गर्ने र सचेत गर्दा समेत नटेरेमा नियम अनुसार कारवाही हुने छ ।’ दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले वर्षमा जम्मा एक सय ८० दिनका लागि शिक्षा शाखाले विद्यालयमा बजेट पठाउने गरेको छ । दिवा खाजामा प्रोटिन, चिल्लो पदार्थ, आयोडिन, जिङक, भिटामीन ए लगायत समावेश गरिएको हुनु पर्छ । प्रति विद्यार्थीलाई दिवा खाजा एक सय ५० देखि दुई सय ग्राम सम्म उपलव्ध गराउनु पर्ने प्रावधान रहेको छ । नगरपालिकामा ६५ बालविकास केन्दमा दुई हजार पाँच सय १८ र सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म पाँच हजार पाँच सय २० गरी आठ हजार ३८ बालबालिकालाई दिवा खाजा कार्यक्रममा समेटिएको छ । नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन । रासस
दसैँको दक्षिणा ‘शिक्षामा लगानी’
काठमाडौं । दसैँको समयमा अधिकांश बालबालिकाको हातमा पैसा हुन्छ । दक्षिणामा पाएको यस्तो रकम कतिपय बालबालिकाले अनावश्यक खर्च गर्छन् भने केहीले मात्रै उपयोगी काममा खर्च गर्छन् । कैलालीको टीकापुर–१ की समृद्धि पोखरेल यस वर्षको दसैँको दक्षिणा चित्रकलाका सामान खरिदमा खर्च गर्ने योजनामा छिन् । कक्षा ६ मा अध्ययनरत समृद्धि दसैँ बिदा भएलगत्तैदेखि चित्रकला सिकिरहेकी छिन् । ‘मलाई चित्र बनाउन रुचि छ, त्यसैले दसैँको बिदा सदुपयोग गरिरहेकी छु, सपटकको दक्षिणा चित्रकलाका लागि आवश्यक पेन्टिङका सामान किन्ने योजनामा छु,’ उनले भनिन् । कक्षा ७ मा अध्ययनरत कैलालीको लम्की चुहाकी सोनी उपाध्याय पनि यसपटकको दक्षिणाले अध्ययनका लागि आवश्यक ‘नोट कापी’ किन्ने तयारीमा छिन् । ‘मैले गत वर्षको दक्षिणाबाट राम्रो लुगा किनेकी थिए, यस वर्ष भने आफूलाई वर्षभरि पुग्ने कापी किन्ने हो । दसैँको रकम अनावश्यक खर्च नगर्ने सोँचेकी छु,’ उनले भनिन् । कक्षा १० मा अध्ययनरत बन्दना रेग्मी पनि दसैँ खर्च जोगाउने तयारीमै छिन् । गत वर्ष साथीहरूसँग टीकापुर पार्कमा पिकनिक गएकी बन्दना यस वर्ष अध्ययनका लागि आवश्यक सामग्री किन्ने योजना रहेको बताउँछिन् । ‘के किन्ने भनेर योजना बनाउँदैछु । स्कूल झोला अध्ययनका लागि उपयोगी सामग्री किन्ने कि भन्ने सोचमा छु,’ उनले भनिन् । हरेक वर्ष बडादसैँलगायत चाडपर्वमा प्रायः सबैजसो विद्यालयमा करिब एक महिना लामो बिदा हुने गरेको छ । कतिपयले घरायसी काम, घुमफिर र रमाइलो काममै बिदा गुजार्ने गर्छन् । शिक्षकहरू भने चाडपर्वको समय अनावश्यक काममा खेर फाल्नुभन्दा सिर्जनात्मक काममा प्रयोग गरेर बिताउँदा राम्रो हुने बताउँछन् । यसका लागि अभिभावकले नै वातावरण बनाइदिनुपर्ने शिक्षक कृष्ण जैसीको सुझाव छ । ‘एक महिना बिदा हुन्छ । यो समय सिर्जनात्मक र नयाँ सिकाइका लागि प्रयोग गर्नु उपयुक्त हुन्छ । विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने समय पनि हो यो । त्यसैले अभिभावकले नै आफ्ना बालबालिकालाई चाडपर्वमा पाएको दक्षिणा राम्रो काममा खर्च, बचत गर्ने बानीको विकास, पैसाको महत्व बुझाउने र सदुपयोग गर्न सिकाउनुपर्छ,’ उनले भने, ‘यो समयमा नयाँ पुस्तक पढ्ने, नयाँ पुस्तक किन्ने जस्ता कार्यमा खर्च गर्न सकिन्छ । यसका लागि अभिभावकले नै उत्प्रेरित गर्न आवश्यक छ ।’ टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थी पनि लामो बिदालाई त्यत्तिकै खेर नफाली अभिभावक र बालबालिकाले रमाइलो वातावरणमा व्यावहारिक सीप सिकाउन प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् । ‘मानिसको जीवनमा सधैँ काम र पढाइको व्यस्तता हुनसक्छ । सबैलाई रमाइलो वातावरण र मनोरञ्जन चाहिन्छ । यसर्थ अभिभावकले बालबालिकालाई समय र पैसा अनावश्यक खर्च गर्नु हुँदैन भनी सिकाउनुपर्छ । रमाइलो वातावरणमा घरको काम सिकाउने, सिर्जनशील काममा लगाउनसके राम्रो हुन्छ,’ उनले भने ।