राष्ट्रिय परीक्षा बोर्डलाई अनेरास्ववियुको ध्यानाकर्षण पत्र

NEB काठमाडौं । राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिए । खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ । तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ । तीमध्ये दुई सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ । विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्यांकलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ । यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।

२५ वर्षअघि ११ र १२ कक्षामा फेल भएका विद्यार्थीले मौका परिक्षा दिन पाउने

NEB काठमाडौं । २५ वर्षअघि ११ र १२ कक्षामा भर्ना भएर परीक्षामा सहभागी भई फेल भएका विद्यार्थीले मौका परिक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले ०५६ देखि यता कक्षा ११ र १२ को परीक्षामा सहभागी भएर अनुत्तीर्ण भएका, डी र ई ग्रेड प्राप्त गरेका र अनुपस्थित भएका विद्यार्थीलाई मौका परीक्षा लिन लागेको जनाएको छ । परीक्षा दिएर फेल भएका र परीक्षामा अनुपस्थित भएकाले पनि आउँदो वैशाखमा हुने परीक्षा दिन पाउने भएका छन् । कक्षा १२ का लागि रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएकालाई अन्तिम एक पटकका मौका दिइने छ । परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले मंसिर २७ गतेभित्र आफू पढेको विद्यालय मार्फत परीक्षा आवेदन दिन सक्ने भएका छन् । बोर्डका अनुसार परीक्षार्थीले हरेक कक्षाको एक हजार रुपैयाँ परीक्षा शुल्क तिर्नु पर्ने छ । कक्षा ११ र १२ दुवैको परीक्षा दिने हो भने दुई हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यस्तै प्रयोगात्मक विषय मात्र बाँकी छ भने एक हजार तिर्नु पर्ने हुन्छ । परीक्षा आवेदन फाराम भर्ने परीक्षार्थीहरूले पुरानो पाठ्यक्रमअनुसार परीक्षामा सहभागी हुनु पर्नेछ ।

पोखरा विश्वविद्यालयमा उपकुलपतिमा खुला प्रतिस्पर्धा, मंसिर ५ गतेसम्म दरखास्त पेश गर्नुपर्ने

काठमाडौं । पोखरा विश्वविद्यालयले रिक्त उपकुलपतिका लागि आवेदन आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । समितिले कात्तिक २४ गते स्वीकृत गरेको पोखरा विश्वविद्यालयको रिक्त उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि–२०८१ बमोजिम दरखास्त आह्वान गरेको हो । इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा प्रथमपटक सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने छ ।