आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी
काठमाडौं । शंकरदेव क्याम्पस प्रमुख डा. कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोपको खण्डन गरेका छन् । आईतबार यहाँ पत्रकार सम्मेलन गरी उनीहरुले भ्रष्टाचार भएको भन्ने आरोपको खण्डन गरेका हुन् । शंकरदेव क्याम्पस प्रशासन र स्ववियुमाथि क्याम्पस प्रमुख, लेखाप्रमुख र स्ववियु पदाधिकारीसँग मिलेर आर्थिक अपचलन गरेको आरोप लागेको छ । क्याम्पस प्रमुख डा आचार्यले आर्थिक हिनामिना र भ्रष्टाचार भइरहेको भन्ने आरोपमा आफू सहमत नरहेको स्पष्ट गरे । उनले आफू क्याम्पस प्रमुख भएर आउनुअघिको नेतृत्वको कामकारबाहीबारे जिम्मेवार हुन नसक्ने बताउँदै आफ्नो नेतृत्वमा क्याम्पसको सबै कामकारबाही पारदर्शी रहेको दाबी गरे । स्ववियु अध्यक्ष सुशान्त बस्नेत र सचिव मदनराज उपाध्यायले केही समूहले क्याम्पस प्रशासन र लेखा प्रमुखसँग मिलेर आर्थिक अपचलन गरेको आरोप झुटो भएको बताए । उनले स्ववियु निर्वाचनपछि आफूहरुले विभिन्न रचनात्मक र सिर्जनात्मक कार्य गर्दै आएको पनि बताए ।
शैक्षिक पात्रो सुधार गरी कार्यान्वयन गर्छु : उपकुलपति बराल
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक पात्रो सुधार गरी त्यसलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले शैक्षिक पात्रो सुधारअनुरूप काम गरिरहेको र तयारी भइरहेको जानकारी दिए । ‘कसरी त्रिविको परीक्षा पात्रो सुधार गर्नुहुन्छ, कसरी परीक्षालाई सुधार गर्नुहुन्छ भन्ने यहाँहरुको जिज्ञासा स्वाभाविक हो,’ उनले भने, ‘प्रत्येक प्रदेशमा परीक्षा गर्ने र उत्तरपुस्तिका त्यही संकलन र जाँच गर्ने संरचना भन्दै छ, परीक्षालाई विकेन्द्रीकरणलाई व्यावहारिकरुपमै कार्यान्वयन गर्ने हाम्रो योजना छ ।’ उपकूलपति प्राडा बरालले विद्यार्थीलाई जतिसक्दो चाँडो परीक्षाफल दिनका लागि आइटीको प्रयोग गर्ने योजना सुनाए । बजारको मागअनुसार पाठ्यक्रम विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गर्ने बताउँदै उनले त्यसपछि बजारले मागेको जनशक्ति उत्पादन गर्नका निम्ति नयाँ नयाँ कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । नेपाल सरकारको शिक्षा नीति, २०७६ मा विदेशी विद्यार्थीलाई आकर्षण गर्नेगरी त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्नुपर्ने उल्लेख गरिएको छ । कमाउँदै पढ भन्ने आफ्नो योजना रहेको बताउँदै उनले प्रमाणपत्र मात्रैभन्दा पनि व्यावहारिक र रोजगारमूलक शिक्षा बनाउने तयारी भइरहेको बताए । उनले भने, ‘त्रिभुवन विश्वविद्यालयले नेपालको उच्च शिक्षामा करिब ८० प्रतिशत ओगटेको छ, यो विश्वविद्यालय बिग्रिँदा देशको समग्र शिक्षा क्षेत्र नै बिग्रिन्छ भन्ने मेरो योजना, सोँच पत्रमा राखेको छु र अहिले पनि हाम्रो मान्यता त्यही नै छ ।’ उनले शैक्षिक पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा र समयमा परीक्षफल प्रकाशित नहुँदा पछिल्लो समयमा विश्वविद्यालयप्रति विकर्षण बढ्दै गएको स्वीकार गर्दै अभिभावक र आमजनतामा विश्वविद्यालयप्रति नकारात्मक किसिमको भावना सिर्जना गरेको बताए । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै उनले उपकुलपतिलाई विभिन्न समयमा विभिन्न किसिमका धम्की आउने गरेको बताए । उनले भने, ‘यो नेपालको ठूलो विश्वविद्यालय हो, यसको ७७ जिल्लामै नेटवर्क छ, त्यसैले विश्वविद्यालय सुधार गर्नका निम्ति हामीले यसको ‘स्ट्रक्चर रिफर्म’ गर्नुपर्छ भन्ने छ, यो नेपाल सरकारको नीतिमा पनि छ ।’
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ । मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ ।