शिक्षक सरूवामा पहुँचवाला र पैसाको चलखेल रोक्न नयाँ मापदण्ड

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सरूवाबारे नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ । नयाँ मापदण्डमा शिक्षक सरूवाको नयाँ मापदण्ड विद्यालय व्यवस्थापन समितिको भूमिका कटौती गरेको छ । शिक्षक सरूवामा पहुँचवाला र पैसाको चलखेल रोक्न यस्तो व्यवस्था गर्न लागेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्री सुमना श्रेष्ठले पैसाको चलखेल राक्न नयाँ मापदण्ड ल्याउन लागेकी हुन् । नयाँ मापदण्डमा राखिने प्रावधानको बारेमा छलफल अझै जारी छ । मापदण्डको नियमावलीको अनुसुची १७ मा शिक्षक सरुवा गर्दा विद्यालयबाट सहमती लिनु पर्ने व्यवस्था छ । नयाँ मापदण्डमा नियमावलीको अनुसुची नै हटाएर सहमती आवश्यक नपर्ने व्यवस्था राखेपछि विरोधका आवाज उठ्न थालेका छन् । यसैबिच सामदायिक विद्यालय व्यवस्थापन समिति महासंघले यो अधिकार कटौती गरेको भन्दै आपत्ती जनाएको छ । असन्तुष्ट महासंघले शुक्रबार शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समितिलाई सक्षम र जिम्मेवार बनाउनुको सट्टा भएको अधिकार पनि कटौति गरेको भन्दै आपत्ति जनाएको छ । महासंघले विद्यार्थीको विद्यालय र कक्षाकोठा भित्रको वातावरण सबैभन्दा नजिकबाट अभिभावकलाई थाह हुने बताउँदै अभिभावकको अधिकार कटौती नगरिदिन ध्यानाकर्षण गराएको छ ।  

दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक

सिमकोट । हुम्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका-५ यारीगाउँस्थित अरनिको प्राथमिक विद्यालयमा दुई विद्यार्थी र तीन शिक्षक छन् । विद्यालयका प्रधानाध्यापक हरिनारायण चौधरीले प्राथमिक तहको विद्यालयमा बालविकासमा दुईजना विद्यार्थीले अध्ययन गर्दै आएका बताउँदै आफूसहित तीनजना शिक्षकले पठनपाठन गर्ने गरेको जानकारी दिए । उनका अनुसार तीन जनामध्ये दुई प्रावि तहको दरबन्दीका र एक बालविकास सहजकर्ता छन् । कक्षा ५ सम्म पठनपाठन हुने उक्त प्राविमा कक्षा १ देखि ५ मा अध्ययन गर्ने विद्यार्थी अहिलेसम्म भर्ना नभएका प्रअ चौधरीले बताए । बालविकासको पढाइ सकिएलगत्तै अभिभावकले ती विद्यार्थीलाई अन्यत्रै पठाउने गरेकाले अन्य कक्षामा विद्यार्थी भर्ना नभएका उनको भनाइ छ । गत वर्षसम्म सातजना विद्यार्थीले विद्यालयमा अध्ययन गरेका भन्दै प्रअ चौधरीले बालविकासमा अध्ययनरत विद्यार्थी पनि नियमित नआउने भएकाले आफूहरू कुरेर विद्यालयमा बस्ने गरेको बताए । विद्यालय खाली हुने गरी विद्यार्थीलाई अन्यत्र नपठाउन अभिभावकसँग पटकपटक आग्रह गरिरहेको उनको भनाइ छ । नाम्खा गाउँपालिका शिक्षा शाखाका प्रमुख मनराज बुढाले सानै उमेरमा विद्यालय छाड्ने समस्या पालिकाभरि देखिएको बताए । उक्त विद्यालयलाई तत्काल समायोजन गर्न नसकिने पनि उनले बताए । अभिभावकले विद्यालयमा भन्दा पनि गुम्बामा पढाउन उपयुक्त ठान्ने गरेकाले यस्तो समस्या आएको बुढाले बताए । उनका अनुसार गत वर्ष राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत दुईकोठे भवन निर्माण गरिएको थियो । यसअघि विद्यालयसँग भएका तीनवटा भवनको अवस्था पनि स्तरोन्नति गरिएको छ । नाम्खा गाउँपालिकामा विद्यार्थी नभएर विद्यालय बन्द गर्नु परिरहेको छ । यसअघि लिमीका दुई विद्यालय बन्द भइसकेका छन् ।

चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

काठमाडौं । बङ्लादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेरको समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचीमा छुटेका आठ नेपाली विद्यार्थीलाई भर्ना दिन पत्राचार गरेसँगै समस्या समाधान भएको हो । सोबारे निर्णयको पत्र नेपाल सरकारलाई प्राप्त भएको शिक्षा मन्त्रालयले जनाएको छ । बङ्गलादेश सरकारले दिने कोटामा चिकित्सा शिक्षा पढ्नका लागि नेपाल सरकारका तर्फबाट १९ एमबिबिएस र तीन बिडिएस गरी २२ जनाको नाम चिकित्सा शिक्षा आयोगको सिफारिसमा शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत बङ्गलादेश पठाइएको थियो । नाम सिफारिस गरिएकामध्ये दुई जनाले अन्तिम सूचिका लागि आवेदन दिएका थिएनन् । बङ्गलादेशबाट अन्तिम सूचीमा १२ जनाको मात्रै नाम आएको चिकित्सा शिक्षा आयोगले जनाएको थियो । यसरी सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएर आएकोबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले नेपालस्थित बङ्गलादेशी राजदूतसँग छलफल गरेकी थिइन् । नामावली हेरफेरका सम्बन्धमा परराष्ट्र मन्त्रालयले बङ्गलादेश सरकारलाई ‘कूटनीतिक नोट’ पठाएकामा त्यसको जवाफमा बङ्गलादेशले छुटेका आठ जनालाई समावेश गर्ने निर्णयसँगैको पत्र कूटनीतिक नोटमार्फत जानकारी दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले विभिन्न कारणले उत्पन्न समस्याले विद्यार्थीमा अन्योलता छाएकोमा सो समस्या समाधान गर्न अहोरात्र खटिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन् । आज सम्बन्धित विद्यार्थीलाई मन्त्रालयमा संवाद गर्दै बङ्गलादेशमा अध्ययन गर्न जाने सबैलाई शुभकामना व्यक्त गरिन् । ‘नयाँ ठाउँमा नयाँ संस्कृतिमा घुलमिल हुन समय लाग्छ । आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल गर्नुहोला । मेहनत गरेर सफल भई स्वदेशको सेवा गर्न फर्केर आउनुहोला’, संवादका क्रममा मन्त्री श्रेष्ठले भनिन् । ‘उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि बङ्गलादेशका महामहिम राजदूत, ढाकास्थित नेपाली दूतावासका महामहिम राजदूत र बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु । यो विषयलाई प्रमुखताका साथ उठाउनुहुने सङ्घीय सदनका सदस्यलाई पनि धन्यवाद छ । विद्यार्थीको गुनासो आएकै दिनदेखि समस्या समाधानका लागि खटिने मन्त्रालयका कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु’, मन्त्री श्रेष्ठले भनिन् । रासस