ललितपुरको श्रमजित किशोर माविमा ‘खेताला शिक्षक’
काठमाडौं । काठमाडौं उपत्यकाकै एक विद्यालयमा ‘खेताला शिक्षक’ राखेको भेटिएको छ । ललितपुरको श्रमजित किशोर माविमा खेताला शिक्षक राखिएको भेटिएको हो । विद्यालयका तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्रराज पौडेलले अशोक यादवलाई खेताला शिक्षक राखेर वर्षौंदेखि अवैध तवरले तलब खाँदै आएको रहस्य खुलासा भएको छ । विद्यालयका एक निवर्तमान शिक्षकले त्यस विषयमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएका छन् । उनले मन्त्री श्रेष्ठलाई पत्रसँगै विद्यालयको अध्यापन तालिका (रुटिन) समेत पठाएका छन् । उनले विद्यालयका विज्ञान शिक्षक पौडेलले खेताला शिक्षक राखी वर्षौंदेखि नियम विपरीत कार्य गर्दै आएकाले उनलाई नियम बमोजिम कारबाही गर्न भन्दै मन्त्री श्रेष्ठलाई पत्र पठाएका हुन् । साथै, उनले खेताला शिक्षक यादवलाई निजी स्रोतको शिक्षक भनी ढाकछोप गर्ने विद्यालयका सम्बन्धित सबैलाई कानुन बमोजिम कारबाही गर्न पनि शिक्षमन्त्री श्रेष्ठसमक्ष माग राखेका छन् ।
शिक्षक सरुवा निर्देशिकाप्रति गाउँ र नगरपालिका संघको आपत्ति
काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सरूवा सम्बन्धी जारी गरेको निर्देशिकामा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले ध्यानाकर्षण गराएका छन् । संघीय शिक्षा विधयेक संसदमा विचाराधिन रहेको अवस्थामा शिक्षा मन्त्रीले शिक्षक सरूवा सम्बन्धी जारी गरेको भन्दै आपत्तिक जनाएको हो । गाउँपालिका र नगरपालिका महासंघले विज्ञप्ती निकाल्दै यो निदेर्शिका नै खारेज गर्नुपर्ने बताएको छ । ‘नेपालको संविधानले आधारभुत तथा माध्यमिक शिक्षालाई स्थानीय सरकारको एकल अधिकारको सूचीमा राखेको सर्बबिदितै छ, शिक्षा विधयेक संसदमा विचाराधिन रहेको अवस्थामा सरोकारवालासँग परामर्श गरी स्वीकृतीको लागि संसदमा पेश गर्न सहजिकरण गर्नु पर्नेमा २०२८ सालको शिक्षा ऐनको प्रभावमा विद्यालय शिक्षालाई केन्द्रिकृत रुपमा नै सञ्चालन गर्न खोजिएको कार्य संबिधान विपरित छ,’ विज्ञाप्तीमा लेखिएको छ । आधारभूत र माध्यामिक शिक्षा स्थानीय सरकार मातहत रहेकाले आफ्नो अधिकार माथी हस्तक्षेप नगर्न सचेत गर्दै निर्देशिका खारेज गर्न माग गरेको छ । संघले यो निर्देशिका कार्यान्वयन नगरी गाउँ/नगर सभाबाट जारी भएको स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न पनि सबै स्थानीयसरकारलाई आग्रह गरिएको छ ।
डिएभी कलेजमा ७ औँ अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन सम्पन्न
काठमाडौं । ललितपुरस्थित डिएभी कलेजमा तीन दिने अन्तर्राष्ट्रिय विज्ञान सम्मेलन, काठमाडौं च्याप्टर–२.० को सातौँ एपिसोड भव्यताका साथ सम्पन्न भएको छ । जेठ २६ देखि २८ गते सम्म सञ्चालित सम्मेलनको विषयवस्तु ‘दिगो भविष्यका लागि कृषि, जैविक, वातावरण र जीवन विज्ञानमा विश्वव्यापी दृष्टिकोण’ रहेको थियो । हाइब्रिड मोडमा सञ्चालित कन्फ्रेन्समा विश्वका १४ देशका अनुसन्धानकर्ताहरू भौतिक र भर्चुअल रुपमा जोडिएका थिए । नार्कका कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले यस्तो आशाजनक अवसरमा मुख्य अतिथिका रूपमा सहभागी हुन पाउनु ठूलो सम्मान र खुशीको कुरा भएको उल्लेख गरे । उनले विज्ञान र प्रविधि क्षेत्रका शिक्षाविद्हरूको उत्साह र सहभागिताको प्रशंसा गर्दै सम्मेलनले भावी पुस्ताको सुरक्षा र वर्तमान पुस्ताको आवश्यकता सँग सम्वन्धित प्रस्तुत भएका वैज्ञानिक समाधानका उपायहरूको प्रसंशा गरे । डिएभी कलेजका अध्यक्ष अनिल केडियाले कलेज परिसरमा बिज्ञान विषयका विद्वानहरूलाई स्वागत गर्दै दिगो भविष्यका लागि कृषि, जीवविज्ञान, वातावरण र जीवन विज्ञानको क्षेत्रमा काठमाडौँ विज्ञान सम्मेलन कोसेढुङ्गा सावित हुने विचार व्यक्त गरे । त्यसैगरी, विश्वव्यापी कृषि र वन्यजन्तु सेसनका लागि प्रस्तुत गरिएका अनुसन्धान पत्रहरूले कृत्रिम बुद्धिमत्ता र डिजिटल कृषि, नानो–सामग्रीको भूमिका, ग्लोबल मिलेट्स (श्री अन्न) कृषि र पशु चिकित्सा विज्ञान र कृषि–व्यवसाय व्यवस्थापन र मार्केटिङ प्रविधि लगायतका मुद्दाहरूलाई उठाएका थिए । उक्त सम्मेलन भारतको उत्तर प्रदेशको गाजियाबादस्थित कृषि प्रविधि विकास समाज (एटिडिएस) संयोजकत्वमा र नेपालको ललितपुरस्थित डिएभि कलेज (त्रिभुवन विश्वविद्यालय) को सहायतामा आयोजना गरिएको हो । यस सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका विश्वविद्यालय र कलेजहरूसहित कुल १४ वटा सरकारी निकाय, विश्वविद्यालय र अनुसन्धान एकाइहरू सह–आयोजकका भुमिकामा थिए । त्यसैगरी, भारतका विभिन्न राज्यहरूबाट समान सङ्ख्यामा आएका सहयोगी संस्थानहरूले सम्मेलनलाई विश्वभर पु-याउन सहयोग गरे । सबै प्रतिनिधिहरूले अनुसन्धानको उद्देश्य, परिकल्पना, विधि, परिणाम र निहितार्थ स्पष्ट रूपमा उल्लेख गर्दै सैद्धान्तिक दृष्टिकोण देखि वैचारिक र अनुभवजन्य अनुसन्धान पत्रहरू प्रस्तुत गरे । यस अनुसन्धान यात्रामा, पाँचवटा जर्नल प्रकाशन गृहहरू पनि संलग्न थिए । यसबाहेक सम्मेलनमा धेरै मौखिक र पोस्टर प्रस्तुत गरियो । सम्मेलनमा १६१७ अबधारणा प्रस्तुत गरिएका थिए । करिब १००० जनाको उपस्थिति थियो । ६५० जना भौतिक रुपमै उपस्थित थिए भने बाँकी भर्चुअल रुपमा जोडिएका थिए । मौखिक प्रस्तुतिका लागी मात्र ३६५ जनाको भौतिक उपस्थिति र ३८० जनाको भर्चुअल उपस्थिति थियो भने पोस्टर प्रतुतिका लागी २८० जना भौतिक र ४१० जना भर्चुअल रुपमा उपस्थित थिए । मौखिक र पोस्टरका विषयवस्तुहरु मुलतः सोईल साइन्स्, एग्रोनोमी, जेनेटिक्स्, प्लान्ट् ब्रिडीङ्ग, माइक्रोबायलोजी, केमेस्ट्री र वायोटेक्नोलोजी संग सम्बन्धित थिए । उक्त सम्मेलनको आयोजक कमिटीका अध्यक्ष प्रा.डा.ए.पी. गर्ग, सचिव डा. जोगिन्दर सिंह र डा. एस.पी. विष्ट, कार्यकारी अध्यक्ष र सहसंयोजक, डिएभी कलेजका प्रोग्राम कोर्डिनेटर शशि भुषण चर्तुवेदी सहसंयोजकको भूमिकामा थिए । उक्त सम्मेलनका क्रममा कुल २४ विधाका ग्लोबल इन्टरनेशनल कन्फरेन्स अवार्ड (एटिडिएस, २०२४) द्वारा योग्य प्रतिनिधिहरूलाई सम्मान समेत प्रदान गरिएको थियो । लाइफटाइम र स्थायी उपलब्धिदेखि विभिन्न तह र तप्काका वैज्ञानिकहरू, लेखकहरू र शिक्षकहरूलाई ज्ञानका विभिन्न क्षेत्रहरूमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । विज्ञान र प्रविधिको ज्ञान प्रवाहका लागि लगभग एक सय अग्रणी शिक्षाविद्, प्राध्यापक, विशेषज्ञ, संस्थापक र प्रबन्धकहरू थिए । यसबाहेक सह–संयोजकका रूपमा ३० जना र व्यवस्थापन तथा क्वेरी कमिटीका २० जना व्यक्तिको सहभागिता रहेको थियो । आयोजक कमिटीका अध्यक्ष प्रा.डा. अम्मर गर्गले कार्यक्रमलाई भव्य, सभ्य एंव दिव्य रुपमा सम्पन्न गर्न विभिन्न भुमिका र जिम्मेवारीमा रहेका सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै सम्मेलन औपचारिक रुपमा समापन गरेका थिए । कार्यक्रमलाई सफलतापूर्वक सम्पन गर्न रिचा चौधरी, सुदीप अधिकारी, श्रीलता वाग्ले, अन्जना चौधरी र सीमा अधिकारीको उल्लेख्य भूमिका रहेको थियो ।