एसईईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए । कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’ को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भई कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
तामाङको एकता भैँसी र्फामले एसपीए स्टार्टअप फण्डबाट १० लाख पाउने
काठमाडौं । धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ थालनी गरेको स्टार्टअप फण्डको पहिलो विजेता मेखराज तामाङ बनेका छन् । सोमबार भएको ग्य्राण्ड फिनालेमा एसपीए कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययनरत छात्र तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडिया छनौटमा परेको हो । तामाङको स्टार्टअप आइडिया उत्कृष्ट १ मा छनौट भए सँगै उनलाई कलेजले १० लाख रुपैयाँ प्रदान गर्ने छ । २०८० साउन १७ गते एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरे सँगै २०८० भदौ २५ गते सम्म विद्यार्थिहरु लाई आफ्नो आइडिया सहितको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । सोही अनुसार प्रस्तावित आइडियाहरू माथि विद्यार्थिहरुले विभिन्न चरणमा प्रकाश पारेसँगै त्यस बाट उत्कृष्ट ५ ओटा आइडिया छनौट गरी कलेजको पेजमा उनीहरूका आइडिया सार्वजनिक गरी त्यसबाट सर्वसाधारणको प्रतिक्रिया लिइएको थियो भने २०८१ असार १० गते तीन जना जज सहितको भव्य ग्राण्ड फिनाले कार्यक्रम मार्फत उत्कृष्ट स्टार्टअप आइडिया छनौट गरिएको छ । उक्त कार्यक्रमको प्यानल अफ जजमा आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय रहेका थिए । फाइनल राउन्डमा उनीहरूले आफ्नो आइडिया प्रस्तुत गरे सँगै अनलाइन भोटिङ, आइडिया प्रस्तुत गर्ने शैली, आत्मविश्वास, बजारले स्वीकार गर्ने योग्य सम्भाव्यता र जजहरूको दिएको नम्बरको आधारमा नवीन सोच, योजना, विचार लाई उत्कृष्ट स्टार्टअप आइडिया घोषणा गरिएको कोषका संयोजक मनोज भट्टले बताए । भट्टका अनुसार उत्कृष्ट ५ स्टार्टअप आइडिया मध्ये पहिलो भएको मेखराज तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडियाले कलेजबाट प्रदान गरिने स्टार्टअप फण्ड मार्फत दश लाख नेपाली रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो रोशन सिंहको धनगढी गट फार्मिङ, तेस्रो यशोदा जोशीको इमेज फुटवयर, चौथो आयुस्मा जोशीको फारवइस्ट डेकुरेसन हब र रमेश रानाको प्रिन्स पोल्ट्री र्फाम स्टार्टअप आइडियाले पाँचौँ स्थान हासिल गरेको थियो । एकता भैँसी र्फाम स्टार्टअप आइडिया प्रस्तुत गरी विजेता बनेका मेखराज तामाङले यो विशेष अवसरका लागि एसपीए कलेज परिवार लाई धन्यवाद दिँदै आफ्नो आइडिया साकार पार्न शतप्रतिशत मेहनत गर्ने र लगानी कर्ता कलेजलाई दुखी नबनाउने बताएका छन् । सो अवसरमा प्रतिक्रिया दिँदै जज समेत रहेका कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले एसपीए कलेजले प्राइभेट क्षेत्रबाट पनि नव उद्धमीहरु को नवप्रवर्तनको निम्ति आफ्ना विद्यार्थिहरु लाई प्रोत्साहन गर्नु नौलो र उदाहरणीय काम भएको बताउँदै यस कार्यको लागी कलेज परिवारलाई स-धन्यवाद बधाई दिएका छन् । यस्तै, उक्त कार्यक्रमको जज समेत रहेका आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकीले यो उत्कृष्ट कार्यको लागी एसपीए कलेजलाई बधाई दिँदै विजेता तथा टप फाइनलिष्टहरु ले आफ्नो आइडियामा निरन्तर काम गरे सदैव सहयोग गर्न तयार रहेको बताएका छन् ।
जागिर गर्नका लागि पढ्ने कि जागिर दिनका लागि पढ्ने ?
काठमाडौं । अहिले शिक्षा क्षेत्रमा मुख्यतः तीन विषयमा बहस छ । एक- व्यवहारिक शिक्षा भएन । दुई- विद्यार्थीले पढ्दै काम गर्ने वातावरणको सिर्जना भएन । र, तेस्रो- डर लाग्दो हिसाबले विदेश जाने विद्यार्थीको संख्या रोकिएन । जनमानसमा उठेका यिनै गुनासालाई सम्बोधन गर्न भन्दै विभिन्न संघ सस्ंथाले काम गरिरहेका छन् । कलेजले पनि व्यवहारिक शिक्षालाई जोड दिन थालेका छन् । हामीले पनि यही समस्यालाई समाधान गर्ने भन्दै इम्पेरियल बिजनेस कलेज सञ्चालनमा छ । सुरुमा इम्पेरियल कलेजले गरिरहेको गतिविधिको विषयमा प्रकाश पार्न चाहन्छु । यो कलेजमा व्यवस्थापन तर्फका दुइटा कार्यक्रम सञ्चालनमा छन् । जनरल म्यानेजमेन्ट अन्तर्गतको ब्याचलर इन बिजनेस एड्मिनिष्ट्रेसन (बीबीए) र ब्याचलर इन हेल्थ केयर(बिएचसीएम) कार्यक्रम सञ्चालनमा छन् । विद्यार्थीको आकर्षण दुवै कार्यक्रममा राम्रो छ । तर, ब्याचलर इन हेल्थ केयर (बिएचसीएम)प्रति विद्यार्थीको आर्कषण अझ बढी छ । सजिलै जागिर पाइन्छ भनेर कुनै पनि विद्यार्थीलाई पढ्न भन्दैनौँ । कलेजले अवसर सिर्जना गरिदिने हो । विद्यार्थीले स्नातक तहको शिक्षा पढ्दा लर्निङ र अर्निङ अथवा सिक्ने र कमाउने हुनुपर्छ भन्ने मान्यता यो कलेजको पनि हो । नेपालमा यस्तो नहुँदा उनीहरूको रोजाई नै विदेश बन्न थालेको छ । इम्पेरियल बिजनेस कलेजले विद्यार्थीलाई पढाइसँगै कामको अवसर पनि सिर्जना गर्ने गरेको छ । हामीले विद्यार्थीलाई पढाइसँगै सेमेस्टर अनुसार नन-एकेडेमिक क्यालेन्डर बनाएका छौं । जस्तै, पहिलो सेमेस्टरमा विद्यार्थीलाई पढाइ बाहेक आधारभूत ज्ञान के चाहिँन्छ भन्ने विषयमा छलफल गर्छौं । हाम्रो कलेजमा कुनै पनि विद्यार्थी स्नातक तहमा आइसकेपछि मुख्यतया दुइटा कुरामा ध्यान दिन्छौँ । एउटा एकेडेमिक पार्ट, अर्को सिकाइमुलक कार्यक्रमको आयोजना । किनकि पढेका कुरा व्यवहारमा लागु कसरी गर्ने भन्ने विषयमा जानकारी दिन यस्ता कार्यक्रम आवश्यक पर्छन् । सिक्नको लागि कक्षा कोठाभित्र मात्र होइन त्यो भन्दा बाहिर झन धेरै सिकिन्छ । हामी यात्रा गर्दागर्दै पनि धेरै कुरा सिक्न सक्छौं भने कलेजमा विभिन्न इभेन्ट गरेर पनि धेरै कुरा सिकिन्छ । बिजनेसको विद्यार्थीलाई पढाउँदै गर्दा पढाइ सकिएपछि मात्र बिजनेस गर्न सिक भनेर हामीले भन्दैनौं । हामी स्नातकमा पहिलो सेमेस्टरदेखि नै बिजनेसलाई धेरै तरिकाले सिकाउने गर्छौं । विद्यार्थीलाई सिकाउन र व्यवहारिक ज्ञान दिन हामीले गर्न सक्ने भनेकै इभेन्ट हो । त्यसैले पढाइ सँगसँगै यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । प्रिजन्टेशन, लिडरसिप, सेमिनार, वर्कसप लगायतका विषयमा प्रशिक्षण गर्ने गरेका छौं । हामीले सैद्धान्तिक र व्यवहारिक दुवै शिक्षालाई जोड दिइरहेका छौं । कलेजमा गर्ने यस्ता कार्यक्रमले दिने भनेको नेटवर्क पनि हो । पहिलो सेमेस्टरदेखि सुरु गरेको इभेन्टले विद्यार्थी आठौं सेमेस्टर पुग्दासम्म हरेक कुरामा पोख्त भइसकेका हुन्छन् । भोलि आफ्नो भविष्यको लागि अथवा स्नातक तहपछि कुनै पनि संघ संस्थासम्म काम गर्न धेरै सहज हुन्छ । यो हिसाबले पहिलो सेमेस्टरदेखि विद्यार्थीलाई यस्ता कार्यक्रममा केन्द्रित गराउँछौँ । हामीले पोखरा विश्वविद्यालयबाट मान्यता लिएर सञ्चालन गरेका छौं । पढ्दै, कमाउँदै इम्पेरियल कलेजमा अध्ययन गर्ने धेरैजसो विद्यार्थी पार्टटाइम काम गरिहेका छन् । कतिपय कुनै संघ संस्थामा इन्टर्नसिप गरिरहेका छन् भने कतिपय विद्यार्थीले आफ्नै व्यवसाय सुरु गरेका छन् । हेल्थ केयर म्यानेजमेन्टमा अध्ययनरत धेरैजसो विद्यार्थी काम गर्दै पढ्दै गरिरहेका छन् । स्वास्थ्य क्षेत्र यस्तो हो जुन २४ घण्टा चलिरहेको हुन्छ । यसमा १० बजेदेखि ५ बजेसम्म मात्र काम गर्नुपर्छ भन्ने हुँदैन । सिप्टवेसमा काम गर्न सकिन्छ । बिहान पढ्ने बेलुका अथवा राती काम गर्न पनि सकिन्छ । अहिले हामी कहाँ पढ्ने हेल्थ केयरका विद्यार्थी ५० प्रतिशत काम गरिरहेका छन् । यसमा जो काम नगरेर पढिरहेका छन् उनीहरू पनि ८ सेमेस्टरमा पुग्दा कुनै न कुनै संस्थामा आवद्ध भइसकेका हुन्छन् । विस्तारै उनीहरू पनि काममा सिफ्ट हुन्छन् । यसमा हाम्रो मुख्य काम भनेको प्लेटर्फम उपलब्ध गराइदिने मात्र हो । विद्यार्थी आफैं पढाइसँगै आफ्नो कामको खोजि गर्छन । हामीले विद्यार्थीलाई सतप्रतिशत जागिर नै दिन्छु भनेर भर्ना गर्दैनौँ । हामीले दिने प्लेटफर्म र बनाइदिने नेटवर्क जुन छ त्यो विद्यार्थीहरूका लागि फाइदाजनक हुन्छ । विद्यार्थीका लागि अनेक अवसर इम्पेरियल बिजनेस कलेजमा पढ्ने विद्यार्थीको सहजताका लागि कलेजले विभिन्न संघ सस्थासँग साझेदारी गरेको छ । बिसीएचएम कार्यक्रमका लागि स्वास्थ्य क्षेत्रका विभिन्न संघ संस्थासँग समझदारी गरेका छौं । ग्राण्डी अस्पताल, ह्याम्स अस्पताल, ब्लुक्रस अस्पताल, किष्ट अस्पतालसँग हामीले एमओयू गरेका छौँ । विद्यार्थीले चार वर्षसम्म पढ्दा पढ्दै यस्तो संस्थासँग नेटवर्क बनाएर काम गर्न सक्यौँ भने भोलि पढाइ सक्यो भने पनि विद्यार्थीहरूकै लागि सहज हुन्छ । बिजनेस अर्गनाइजेसनमा एचआर कम्पनी, स्टक ब्रोकरसँग हामीले साझेदारी गरेका छौं । विद्यार्थीलाई इन्टर्नसिप चाहियो, पार्टटाइम काम चाहियो, किताबमा पढेको कुरालाई भोलि एक्सपोज गर्ने ठाउँ होस् भनेर हामीले त्यो ठाउँ राखिदिएका छौँ । पहिलेको भन्दा अहिले ट्रेण्ड पनि फरक छ । पहिले पढिसकेपछि तपाईं के मा काम गर्नुहुन्छ भन्दा विद्यार्थीले कि बैंक कि सरकारी जागिर गर्ने भन्थे । तर, अहिले त्यसमा केही परिवर्तन आएको छ । विगतमा हामीले पनि बैंक र सरकारी जागरिभन्दा अर्को ठाउँ अवसर देखेका थिएनौं । त्यो भन्दा बाहिर पनि अवसर छन् भन्ने कुरा बुझेका थिएनौं । तर, अहिले ट्रेण्ड फेरिएको छ । अवसर र सम्भावना धेरै छन् । अहिले यहाँ पढ्ने धेरै विद्यार्थी आफैले पनि व्यवसाय सुरु गरेका छन् । पहिले विद्यार्थी जागिर खाने हिसाबमा अध्ययन गर्थे भने अहिलेका विद्यार्थी जागिर उत्पादन गर्नेतर्फ बढी सोच्छन् । अहिले पनि अभिभावकमा आफ्नो छोराछोरीले पढाइ सकेर जागिर नै खाओस् भन्ने छ । जबसम्म यो सोचलाई चिर्न सकिँदैन तबसम्म गाह्रो छ । हामीले पनि विद्यार्थीलाई जागिरको अवसरभन्दा बिजनेस कसरी गर्ने भन्ने बारेमा केन्द्रीत गर्छौं । जागिरका लागि पढ्ने भन्दा पनि जागिर दिनका लागि पढ्नुपर्छ । अहिले अर्को गलत मानसिकता भनेको व्यवसाय सुरु गर्नका लागि धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छ । यो सोचाइलाई हाम्रो कलेजले चिर्न खोजेको छ । यसका लागि हामीले सीपमा आधारित शिक्षामा जोड दिएका छौँ । व्यक्तिसँग सीप भयो भने डाक्टर र इन्जिनियर र बैंकरले भन्दा बढी कमाउन सक्छ । अहिले विद्यार्थीको रोजाई ब्रोकर हाउस बनिरहेका छन् । किनकि त्यहाँ धेरै अवसर छ । विद्यार्थी इन्टर्नसिपको लागि पनि ब्रोकर हाउस नै रोज्ने गरेका छन् । त्यसैले विद्यार्थीलाई अवसर देखाउन नसक्नु नै कलेजको कमजोरी हो । कलेजले विद्यार्थीलाई अवसर देखाउन सक्नुपर्छ । विद्यार्थीलाई कुन बाटोतर्फ लगाउने भन्ने मुख्य हात कलेज र शिक्षकहरूको हुन्छ । विद्यार्थीलाई रिसर्च गर्न लगाएर हुन्छ कि अन्य कुनै असाइमेन्टमा लगाएर हुन्छ भन्ने विषय कलेजले हेर्छ । हाम्रो कलेजमा बिबीए दोस्रो सेमेस्टरको विद्यार्थीले इन्भेष्टमेन्ट फाइनान्सको पाठ पढ्छन । इन्भेष्टमेन्ट भन्ने बित्तिकै सेयर बजारसँग सम्बन्धित हुन्छ । हामीले किताबमा पढेको कुराले मात्र सेयर बजारमा गएर इन्भेष्ट गर्न गयो भने काम हुँदैन । यसमा हामीले १५ दिनको एक्स्ट्रा क्लास लिन्छौँ । यसका लागि पाठ्यक्रम आफैं डिजाइन गरेर विज्ञहरू आएर सो विषयमा बुझाउँछन् । सेयर बजारसँग सम्बन्धित आधारभूत र प्राविधिक विश्लेषणको कुरा विज्ञहरूले सिकाउनु हुन्छ । सेयर बजारको विश्लेषण गर्न जान्यो भन्दैमा सेयर बजारमा धेरै कमाउँछ भन्ने होइन । तर, पढेर गाई पाल्नु र नपढेर गाई पाल्नुमा धेरै फरक हुन्छ । विद्यार्थीले छैठौं सेमेस्टरमा कर्पोरेट फाइनान्स पढ्छन् । त्यसको पनि छुट्टै महत्व छ । हाम्रा धेरै जसो विद्यार्थीले अनलाइन बिजनेस सुरु गरेका छन् । सबैभन्दा ठूलो सीप हो । ई-सेवा, दराज, उपाय, ब्रोकर हाउस लगायत कम्पनीमा हाम्रा विद्यार्थीहरू काम गरिरहेका छन् । हाम्रो काम भनेको विद्यार्थीलाई शिक्षा दिनुका साथसाथै विद्यार्थीको प्रतिभालाई बाहिर ल्याउनु पनि हो । विद्यार्थी पलायनका दोषी अहिले नेपालमा सबै भन्दा ठूलो चुनौती भनेको विद्यार्थीको पलायन हो । अहिले अधिकांश युवाहरू पलायन भइरहेका छन् । नेपालमा काम नगरेर हरेक युवाले विदेशमा भविश्य देखिरहेका छन् । विद्यार्थी नेपाल नबस्नुको प्रमुख कारण भनेको सरकार र सरकारी नीति नियम हो । दोस्रो कारण भनेको कलेजलाई नियमन गर्ने नियामक हो । तेस्रो कारण भनेको कलेज र विद्यार्थी हुन् । कलेजमा पढिसकेपछि मात्रै जागिर खानुपर्छ भन्ने मानसिकता छ, जुन गलत हो । पढ्दै काम गर्ने अभ्यास कलेजले पनि सिकाउनुपर्छ र विद्यार्थीले पनि सिक्नुपर्छ । जस्तै, बिजनेस अध्ययन गरिरहेको एउटा विद्यार्थीले पहिले पढ्ने त्यसपछि मात्र काम गर्ने भन्ने सोच राख्नु हुँदैन । उसले पढ्दै गर्दा कसरी बिजनेस गर्ने ? यसका लागि के-के आवश्यक पर्छ ? भन्ने बारे सिक्दै काम गर्दै जानुपर्छ । अर्को, हाम्रो विश्वविद्यालयले बनाउने एजुकेसन फर्म्याटको पनि दोष छ । हामी अहिले पनि परम्परागत ढाँचामा छौं । हप्ताभरि कलेज लाग्नुपर्छ, बिहानैदेखि कलेज आउनुपर्छ भन्ने बुझाइ छ । यति गर्दा पनि कोर्स सकिँदैन । विदेशी फर्म्यार्ट हेर्नुहुन्छ भने हप्तामा तीन दिन कलेज गएपनि कोर्स सकिन्छ । यसमा कलेजहरूको पनि दोष छ । यहाँ कलेजलाई व्यवसायका रुपमा धेरै हेरिन्छ । अर्को महत्वपूर्ण विषय विदेश नै सोलुसन हो भन्ने बुझाइ अधिकांशको छ । नेपालमा बस्ने मान्छेलाई हेर्ने आम मानिसको नजर पनि फरक छ । कहीँ जान नसकेर नेपालमा बसेको अथवा आर्थिक अवस्था कम भएर विदेश नगएको भनेर हेर्ने दृष्टिकोण छ । अझ शिक्षण पेशामा लागेका व्यक्तिलाई केही नजान्ने भन्ने छ । यो गलत मूल्यांकन र बुझाइ हो । अब झन पछिको अवस्था के होला भन्ने लाग्छ । किनभने यो विषयलाई सम्बोधन गर्ने गरी सरकारको तवरबाट कुनै पनि पहल भएको छैन । हामीले यसका लागि गर्न सक्ने भनेको कलेजबाट शिक्षाको पाटो हो । हामीले शिक्षाको विषयमा विद्यार्थीलाई लर्निङ र अर्निङको रुपमा सिकाइरहेका छौ । इन्टर्नसिपदेखि पार्ट टाइम जागिरको लागि सक्दो सहयोग गरिरहेका छौं । पार्ट टाइम बिजनेस गर्न के–के गर्नुपर्छ भन्ने विषयमा सक्दो प्रोत्साहन गरिरहेका छौं । तर, यसका लागि विद्यार्थी पनि तयार हुनुपर्छ । समयको व्यवस्थापन कसरी गर्ने ? अहिले अधिकांश विद्यार्थीको समस्या भनेको समयको व्यवस्थापन पनि हो । समयको व्यवस्थापन गर्न नसकेर धेरै विद्यार्थी अलमलिएका हुन्छन् । विद्यार्थीले पढ्नु पनि पर्यो । शिक्षकले दिएको काम पनि गर्नु पर्यो । कहिले काहीँ प्रिजेन्टेशन पनि गर्नुपर्यो । ट्रेनिङ पनि लिनु पर्यो । त्यसमा पनि सहभागी हुनै पर्यो । परीक्षाको तयारी पनि गर्नै पर्यो । यी विभिन्न कुराहरूमा विद्यार्थीहरू अल्झिएका हुन्छन् । यी सबै कुरालाई थोरै समयमा गर्न सक्ने मान्छे नै क्षमतावान हुने हो । विद्यार्थीले जागिरका लागि पढ्नुभन्दा आफ्नो रुचि भएको विषय पढ्दा राम्रो हुन्छ । म हाम्रो कलेजमा भर्ना हुन आउने विद्यार्थीलाई सबैभन्दा पहिले यही भन्छु कि तपाईं यो विषय किन पढ्ने ? जुनसुकै विषय पढे पनि सीप भएपछि अवसर अथाहा छ । अहिले यो कलेजमा करिब ५ सय विद्यार्थी छन् । हरेक कार्यक्रममा विद्यार्थीको संख्या पुरा छ । अब लगत्तै स्नातकोत्तरका कार्यक्रम सञ्चालन गर्ने हाम्रो तयारी छ । त्यसैले विद्यार्थीले सबै काम गरेर समय व्यवस्थापन गर्न सक्नुपर्छ । जसले समयको व्यवस्थापन गर्न सक्छ उ नै अगाडि बढ्ने हो । सबैका लागि समय उति नै हुन्छ । जसले समयको महत्व बुझ्दै अगाडि बढ्छ, त्यसले नै उपलब्धि हाँसिल गर्न सक्ने हो । मनोबल बढाऔं, विकल्प नखोजौं कलेज सञ्चालन गर्नु पनि एउटा व्यवसाय हो । अहिले विद्यार्थी नपाएर धेरै कलेजहरू बन्द भएका छन् । बिजनेस गर्ने वित्तिकै सबै सफल हुँदैनन् । यो एउटा साइकल हो । कहिले बढ्ने र कहिले घट्ने हुन्छ नै । घटेको बेलामा पनि मेरो कलेजमा १ सय २० जना विद्यार्थी चाहिएको छ भने नेपालमा दुई सयमात्र विद्यार्थी छन् भने २ सय जनामा पनि १ सय २० जना विद्यार्थी मेरै कलेजमा ल्याउन सक्छु भन्ने आत्मबिश्वास हुनु प¥यो । क्यानडा, अस्ट्रेलिया सरकारले भिसामा कडाइ गरेको छ । अब चाहिँ मैले विद्यार्थी पाउँछु भनेर खुसी हुनु भएन । विद्यार्थी भएन भनेपनि म मेरो कलेज चालाउँछु भन्ने कन्फिडेन्स (मनोबल) जबसम्म हुँदैन तबसम्म कलेजलाई गाह्रो हुन्छ । हरेक कुरामा मनोबल उच्च हुनुपर्छ । आफ्नो काममा विश्वास हुनुपर्छ । नाफा हुँदा खुसी हुने र नोक्सान हुँदा विकल्प खोज्ने काम गर्नु हुँदैन । त्यो विकल्प हामीले सोचेका पनि छैनौं । लर्निङसँगै अर्निङ र हामीले दिएको एक्सपोजरले हामी अवस्थामा छौँ । विद्यार्थी काठमाडौंमा आएर पढ्न थालेपछि पढाइको शुल्क परिवारले दिएपनि बस्न खान अन्य खार्च विद्यार्थी आफंैले पढ्दै कमाउन सक्यो भनेपनि धेरै विद्यार्थी विदेश जानबाट रोकिन्छ । त्यो किसिमको वातावरण कलेजले पनि सिर्जना गर्न सक्नुपर्छ । म यो कलेजको प्रिन्सिपल भएको दुई वर्ष भयो । १८ वर्षदेखि यो क्षेत्रमा लागेको छु । मैले हालसम्म १७/१८ कलेजमा पढाएँ । १७ ठाउँ पढाउँदा १७ थरिका विद्यार्थी देखेँ । हरेक व्यक्तिमा धैर्यतार इच्छा चाहिन्छ । मेरो इच्छा र रुची भनेको पढाउनु हो । विगत दुई वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छु । पढाउनु र व्यवस्थापनको जिम्मा लिनु आकाश पातालको फरक हो । म धनकुटामा जन्मे हुर्कें । कक्षा १० सम्म गाउँकै सरकारी स्कुलमा पढेँ । त्यसपछि भोजपुर गएर आइकम गरेँ । २०५७ सालमा स्नातक पढ्न काठमाडौं आएँ । नेपाल कमर्श क्याम्पसबाट स्नातकोत्तर गरेँ । मैले टिउसन पढाउँदै आफ्नो खर्च चलाएँ । त्यसपछि फर्केर कहिल्यै कसैलाई माग्नु परेन । शिक्षण पेशामा लागेको १८ वर्षको अवधिमा कसैलाई माग्नु परेको छैन । एउटा शिक्षकबाट अहिले व्यवस्थापकको भूमिकामा छु । एउटा राम्रो ब्यवस्थापक हुन नेतृत्व क्षमता चाहिन्छ । उसको कुरा गर्ने तरिकासँगै व्यवस्थापन गर्न जान्ने खुबी हुनुपर्छ । त्योसँगै नेतृत्वमा धैर्यता पनि चाहिन्छ । हाम्रो जोड भनेको विद्यार्थीलाई किताबी कुरा पढाउनुभन्दा पढेको कुरालाई कसरी व्यवहारमा लागु गराउने नै हो । त्यो प्रतिवद्धता विद्यार्थी र शिक्षक दुवैमा आवश्यक हुन्छ । (शाक्य इम्पेरियल बिजनेस कलेजका प्राचार्य हुन् । उनीसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले गरेको कुराकानीमा आधारित)