नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डकाे अनुमति

काठमाडौं । नेको इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । मंगलबार मात्रै कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६२ रुपैयाँ रहेको थियो ।

प्रिमियर इन्स्योरेन्सले १३.५२% बोनस र ३६ लाख नगद लाभांश दिने, एफपीओ किन्नेले पनि पाउने

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १३.५२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीले एफपीओ जारी पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश दिने भएको छ । एफपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५१ करोड ४४ लाख रुपैयाँ पुग्ने छ । सोही पुँजीमा १३.५२ प्रतिशत बोनस सेयर वितरणा पछि कम्पनीको पुँजी ५८ करोड ४० लाख रुपैयाँ नाघ्ने छ । साथै, हालै इन्स्योरेन्सले जारी गरेको एफपीओ किन्नेले पनि सो मात्राको लाभांश पाउने छन् ।

सगरमाथा इन्स्योरेन्सको नाफा ३३.५९ प्रतिशतले वृद्धि, पुँजी १ अर्ब पुर्याउने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत अार्थिक वर्ष खुद नाफा ३३.५९ प्रतिशतले वृद्धि गरेकाे छ । कम्पनीले उक्त अार्थिक वर्ष २७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । साथै, कम्पनीले गत आर्थिक वर्षमा व्यवसायमा २६.७० प्रतिशत वृद्धि गरि एक अर्ब ४० करोड ९० लाख रुपैयाँ प्रिमियम आर्जन गरेको शुक्रबार सम्पन्न कम्पनीको २१औँ वार्षिक साधारणसभामा जानकारी गराइयाे । साथै, कम्पनीले पुस २० गतेसम्म ८१ करोड ८८ लाख रुपैयाँ बीमा प्रिमियम संकलन गरिसकेको र लक्षित प्रिमियम हासिल गर्न सफल हुने बताएको छ । कम्पनीको कूल लगानी १ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको छ । बीमा समितिबाट चालु आवको असार मसान्त सम्ममा पुँजी एकअर्ब पुर्याउने निर्देशन बमोजिम कम्पनीले गत आवको खुद नाफा र चालु आवको मुनाफाबाट एक मुष्ठ बोनस सेयर जारी गर्ने कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले बताएका छन् । त्यसपश्चात नपुग रकम बराबर हकप्रद सेयर जारी गरी कम्पनीको चुक्ता पुँजी एक अर्ब पुर्याउने निर्णय गरेको छ । कम्पनीले आफ्नो पुँजी वृद्धि योजना बीमा समितिमा पेश गरिसकेको छ । साथै, चालु आवको मुनाफाबाट एक मुष्ठ लाभांश वितरण गर्ने गरि समिक्षा वर्षको वितरण योग्य मुनाफा १६ करोड ५३ लाख रुपैयाँ वासलातामा सारेको कम्पनीका अध्यक्ष मानन्धरले बताएका छन् ।