प्राइम लाइफ इन्स्योरेन्सको नाफा ४०० प्रतिशत बढ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नाफा ४०० प्रतिशत बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा प्राइमले ११ करोड ५१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ६१ लाख रुपैयाँ गरेको थियो । गत आवको तुलनामा चालु आवमा कम्पनीले नाफा झण्डै ९ करोड रुपैयाँ बढाएको छ । प्राइमले बुधबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा आम्दानी बढाएर १५ करोड ४८ लाख रुपैयाँ पुर्याएको जानकारी दिएको छ । गत आवको सोही अवधिमा कम्पनीको आम्दानी ८ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीले यो वर्ष १ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हालसम्म प्राइमले १० अर्ब ८३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको जानकारी दिएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७६ पैसाँ छ । समीक्षा अवधीसम्म प्राइमले १ अर्ब ५५ करोड ६६ बीमालेख जारी गरेको छ । हालसम्म कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीको घोषित बोनस प्रतिहजार वार्षिक न्युनतम ३५ देखि ७५ रुपैयाँ छ । गत वर्ष यस्तो बोनस दर २९ देखि ६३ रुपैयाँ थियो ।
आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकअस्योरेन्स सम्झौता
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंकअस्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुरामकुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् । सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले जनता बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । आइएमई लाइफ इन्स्योरेन्सले हाल ४२ स्थानबाट विभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । न्यूनभन्दान्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु यस इन्स्योरेन्सको मुख्य उद्देश्य हो ।
एलआइसी नेपालको जीवन अक्षय-१ योजना, पेन्सनका लागि सरकारी जागिर कुर्नु नपर्ने
काठमाडौं । एलआइसी नेपालले पेन्सन बीमा योजना ‘जीवन अक्षय-१’ ल्याएको छ । ‘पेन्सन अब नो टेन्सन’ भन्दै कम्पनीले ४० बर्षदेखि ७० बर्ष उमेर समुहका नागरिकलाई लक्षित गरेर पेन्सन योजना ल्याएको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका हुन् । बिमितले बीमा योजना सुरु हुनासाथ आजीवन र मृत्युपछि पति वा पत्निलाई पनि ५० प्रतिशत पेन्सन उपलब्ध गराउनेछ । कम्पनीले यस अघि जीवन तरंग नामको पेन्सन बीमा योजना ल्याएको थियो । सो योजना अन्तर्गत कम्पनीले बीमा योजना परिपक्क भएपछि ५ प्रतिशत रकम बार्षिक रुपमा पेन्सनका रुपमा भुक्तानी दिने गरेको थियो । जीवन अक्षय १ मा भने बीमितहरुलाई वर्तमान ब्याजदर अनुसार ११.७७ प्रतिशत र भविष्यमा पनि सोही अवधीको ब्याजदर अनुसार पेन्सन दिन लागेको हो । कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमा कम्पनीहरुले पोलिसी बेच्दा दिगो ढंगले बेच्नुपर्ने धारणा राखेका थिए । कम्पनीका का.मु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले अब पेन्सनका लागि सरकारी जागिर कुर्नुनपर्ने बताए । उनले निजी कम्पनीमा जागिर गर्नेहरुले समेत जीवन अक्षय १ योजना मार्फत पेन्सन लिन सक्ने बताए ।