मेगा बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी)बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र एलआइसीका कायम मुकायम सीईओ अविजित घोष दस्टीदरले हस्ताक्षर गरेका छन् । यसका साथै, अब ग्राहकहरुले मेगा बैंकका जुनसुकै शाखाबाट एलआइसीमा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।
नेपाल लाइफ इन्स्योरेन्सको नाफा १५ प्रतिशत बढ्यो, लगानीबाट मात्रै झण्डै ४ अर्ब आम्दानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १५ प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा ४७ करोड ९२ लाख रुपैयाँ गरेको छ । यो कम्पनीको बिमाङकीय मूल्याँकन अघिको हो । मूल्याँकनपछि नाफा अझ बढ्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले बताए । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ६५ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले लगानी, कर्जा तथा अन्य ३ अर्ब ९७ करोड रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष २ अर्ब ५० करोड २७ लाख रुपैयाँ मात्र आम्दानी भएको थियो । गत वर्ष नेपाल लाइफले ९९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा बीमा शुल्क आर्जन ३२.३३ प्रतिशत बढेर १६ अर्ब १ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १२ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ । हालसम्म कम्पनीले ६८ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको घोषित बोनसदर प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म रहेको छ ।
अब एनआईसी एसियाबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । अब एनआईसी एसिया बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको इन्स्योरेन्स सेवा पाइने भएको छ । सोमबार दुई संस्थाबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात बैंकले उक्त सेवा दिने भएको हो । उक्त सम्झौता पश्चात प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुले एनआईसी एसिया बैंकको जुनसुकै शाखाहरु मार्फत जीवन बीमा सम्बन्धि सेवाहरु पाउन सक्नेछन् । उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमिक्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा एनआईसी एसिया बैंकका निमिक्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् । अब जीवन बीमाको प्रिमियम एनआईसी एसिया बैंकमार्फत समेत बुझाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।