युनाइटेड इन्स्योरेन्सको विशेष साधारण सभा, २४० % हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौँ । युनाईटेड ईन्स्योरेन्स कं. नेपाल लि. को विशेष साधारण सभा बिहीवार बबरमहल स्थित कार्की ब्याङ्गक्वेटमा सम्पन्न भएको छ । कम्पनी संचालक समितिको ३२३ औँ बैठकले पेश गरेका विशेष प्रस्तावहरु माथि छलफल सहित पारित भएको छ । बिशेष साधारण सभाको निर्णय बमोजिमकम्पनीको वर्तमान चुक्तापूँजी तीस करोड चौविस लाखको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै कम्पनीको अधिकृत पुँजी दुई अर्व तथा जारी पूँजी र चुक्तापूँजी एक अर्ब दुई करोड एकासी लाख साठ्ठी हजार रुपैयाँ कायम गर्ने निर्णय भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा पारित भएको कम्पनी सचिव बिदुरबहादुर भुजेलले जनाएका छन् ।
सिटिजन लाइफको नयाँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक
काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवनबीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिमबहनगर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पुर्याउने उद्देश्यले वार्षिक रुपमा बीमाङ्कको पाँच प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ । यस विशेषताले ग्राहकहरुलाई बीमा योजनाअनुसारको आफ्नो बीमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउने छ । साथै कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ। २०७४ कार्तिकदेखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमाशुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पुस मसान्त सम्ममा २४५ करोडको लगानी गर्न सफल भएको छ ।
नेपाल इन्स्योरेन्सको सञ्चालकमा दुई जना नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा दुई जना नियुक्त भएको छ । कम्पनीको सञ्चालकमा नेपाल बैंकको संस्थापक समुह तर्फबाट लक्ष्मण पौडेल र सर्वसाधरण सेयरधनी समूहको तर्फबाट विष्णुबहादुर जि.सी नियुक्त भएका छन् । फागुन १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनी सञ्चालकमा दुई जनालाई नियुक्त गरेको हो ।