निर्जीवन बीमाकाे बजार प्रदेश ३ मा ५९ प्रतिशत, कर्णाली प्रदेशमा शुन्य दशमलव ८८ प्रतिशत

काठमाडौ । बीमा पुहँचको आधारमा विभिन्न प्रदेशहरुबीच व्यापक असमानता देखिएको छ । बीमा समितिका अनुसार देशभरका ७ वटै प्रदेशमा निर्जीवन बीमाकाे लेख संख्या, बीमा रकम, शाखा सञ्जाल लगायत सूचकमा उच्च असमानता रहेको छ । बीमा कम्पनीहरूले कुल बीमा शुल्क मध्ये प्रदेश नम्बर ३ बाट मात्र करिब ५९ प्रतिशत संकलन छन् । चालु आर्थिक वर्षकाे पहिलाे छ महिनामा सबै बीमा कम्पनीहरूले देशभर कुल ९ लाख ४० हजार ३१३ निर्जीवन बीमालेख बिक्री गरी ९ अर्ब ७३ करोड ९१ लाख बीमा शुल्क आर्जन गरेका छन् । जसमध्ये प्रदेश ३ मा ४ लाख २८९ हजार वटा बीमा लेख बिक्री गरी ५ अर्ब ७३ करोड ८२ लाख रुपैंया आर्जन गरिएको छ । त्यस्तै कर्णाली प्रदेशमा १२ हजार ७७२ वटा बीमा लेख बिक्री मार्फत् ८ करोड ५९ लाख रुपैंया बीमा शुल्क आर्जन भएको छ । बीमा कम्पनीहरूले प्रदेश नम्बर ३ बाट मात्र ५८.९२ प्रतिशत बीमा शुल्क उठाएका छन् । बीमा शुल्ककाे आधारमा हाेइन, बीमा लेख संख्याको आधारमा पनि ३ नम्बर प्रदेशकाे हिस्सा उच्च छ । यस प्रदेशमा ४५.६२ प्रतिशत बीमा लेख बिक्री भएका छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात ०.८८ प्रतिशत बीमाशुल्क संकलन भएको देखिएको छ भने यस प्रदेशमा १.३६ प्रतिशत बीमालेख बिक्री भएका छन् । यस प्रदेशमा बीमा कम्पनीहरूकाे शाखा २८ वटा (४ प्रतिशतभन्दा कम) मात्र छन् भने कर्मचारी ७५ जना अर्थात २.०२  प्रतिशत परिचालित छन् । प्रदेश ३ पछि सबैभन्दा बढी प्रदेश ५ मा १ लाख ४८ हजार ४५४ वटा बीमालेख बिक्रीमार्फत् १ अर्ब ६ करोड रुपैंया कुल बीमा शुल्क उठेको छ । यो संख्याको आधारमा १५.७९ प्रतिशत र बीमाशुल्कको आधारमा १०.९३ प्रतिशत हो । त्यस्तै, प्रदेश १ मा १ लाख २८ हजार ६१५ बीमालेखमार्फत् १ अर्ब २ करोड रुपैंया संकलन गर्दा सो प्रदेशको हिस्सा बीमालेख संख्याका आधारमा १३.६८ प्रतिशत र बीमाशुल्कका आधारमा १०.५६ प्रतिशत रहेको छ । बीमालेख र बीमा प्रिमियमका आधारमा प्रदेश २ भने चौथो स्थानमा देखिएको छ । प्रदेश २ मा ९८ हजार १३३ बीमालेख बिक्री हुँदा ७७ करोड ८४ लाख रुपैंया बीमा शुल्क आर्जन भएको छ । यो बीमालेखका आधारमा १०.४४ प्रतिशत र बीमाशुल्कका आधारमा ७.९९ प्रतिशत हो । अरु सवालमा प्रदेश ३ सँग प्रतिस्पर्धामा उत्रिएको गण्डकी प्रदेश बीमा बिस्तारको सवालमा भने सो प्रदेशभन्दा निकै पछाडि परेको छ । तथ्याङ्क अनुसार यो प्रदेश ५ औं स्थानमा रहँदै ८२ हजार १९३ बीमालेख बिक्रीमार्फत् ७५ करोड बीमा शुल्क उठाउँदा कुल हिस्सामा बीमालेख ८.७४ र बीमा शुल्कमा ७.७५ कायम भएको छ । छैटौं नम्बरमा परेको सुदुरपश्चिम प्रदेशमा ४१ हजार १४५ बीमालेख बिक्रीमार्फत् २९ करोड ३६ लाख उठाएको छ । यो हिस्सा बीमा लेख र बीमा शुल्कका आधारमा क्रमशः ४.३८ र ३.०२ प्रतिशत हो । राष्ट्रिय योजना आयोगको चौधौं त्रिवर्षीय योजनाको समीक्षाले प्रति व्यक्ति आय र मानव विकास सूचकांकमा प्रदेश ३ सबैभन्दा बलियो र त्यसपछि प्रदेश ४ लाई बलियो माने पनि बीमाका गतिविधिहरुमा भने प्रदेश ४ निकै कमजोर देखिएको हो । तथ्याङ्क अनुसार देशभर रहेका ७१९ शाखा र ३ हजार ७१३ कर्मचारी मध्ये प्रदेश ३ मा २२६ शाखा कार्यालय र २०६१ कर्मचारी रहँदा प्रदेश ४ मा ९५ शाखा र २८६ कर्मचारी कार्यरत रहेको तथ्याङ्क देखाइएको छ । किन प्रदेश ३ बलियो, कर्णाली कमजोर ? नेपालकाे अर्थतन्त्र राजधानीबाट नियन्त्रित भएकाेले बीमा लेखहरू राजधानीबाट नै जारी हुने गरेकाेले प्रदेश नम्बर ३ मा बीमा बजार उच्च देखिएकाे नेपाल इन्स्याेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह बताउँछन् । विराटनगर, विरगञ्ज, चितवन, पाेखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायत जुनसुकै क्षेत्रमा ठूला उद्याेग व्यवसाय भएपनि तीनकाे कर्पाेरेट कार्यालय काठमाडाैंमा हुने, मुख्य मान्छे काठमाडाैंमा बस्ने र जाेखिम न्युनिकरण सम्बन्धि निर्णय उनीहरूले नै गर्ने भएकाेले बीमा बजार काठमाडाैं केन्द्रीत भएकाे उनकाे भनाइ छ । सबै बीमा कम्पनीकाे केन्द्रीय कार्यालय काठमाडाैंमा भएकाे,  ९० प्रतिशत बैंक तथा वित्तीय संंस्थाकाे मुख्यालय पनि काठमाडाैंमा भएकाेले पनि बीमा बजारकाे ठूलाे हिस्सा काठमाडाैंमा रहेकाे उनले बताए । बीमा व्यवसायकाे शुरूवात काठमाडाैंबाट भएकाे र धेरै वर्षसम्म बीमा कम्पनीहरू विराटनगर, विरगञ्ज, चितवन, पाेखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा रहेकाे अनुभव सुनाउँदै शिखर इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे भन्छन्-‘मुख्य सहरभन्दा बाहिर बीमा कम्पनी जान थालेकाे तीन वर्ष मात्र भयाे । अब ३ नम्बर वाहेक अरू प्रदेशमा पनि बीमा बजार बढ्दै जान्छ ।’ यसै वर्ष मात्र शिखर इन्स्याेरेन्सेल जुम्ला जस्ताे दुर्गम  जिल्लाबाट पनि २ कराेड बीमा शुल्क संकलन गरेकाे उनले सुनाए । अनिवार्य मानिएको सवारी साधनको महत्वपूर्ण हिस्सा प्रदेश ३ ले नै ओगट्नु, हवाइ बीमा काठमाडाैंबाट मात्र हुनु, स्वास्थ्य बीमा पनि यहि क्षेत्रमा बढी हुनुले बीमा शुल्ककाे ठूलाे हिस्सा ३ नम्बर प्रदेशमा देखिएकाे सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैद्यवार बताउँछन् । हाल यो प्रदेशमा मात्रै १५ लाख भन्दा बढी मोटरसाइकल, साढे २ लाख भन्दा बढी निजी सवारी र अरु धेरै संख्यामा सार्वजनिक सवारी रहेको अनुमान गरिएको छ । भूगाेलकाे हिसावले कर्णाली प्रदेश सबैभन्दा ठूलाे भएपनि  सुर्खेत बाहेक अन्य स्थानमा आर्थिक गतिविधि ज्यादै कम हुनु, अहिलेसम्म पनि यातायात कार्यालय स्थापना नहुनु जस्ता कारणले बीमालेख संख्यामा कम आएको हुनसक्ने अनुमान गरिएको छ । एकात्मक राज्यप्रणाली अन्तर्गत राजधानी काठमाडौं र यसको वरपरको आर्थिक गतिविधि धेरै हुने गरेकाेमा संघीयता सँगै आर्थिक गतिविधि पनि विकेन्द्रीत सँगै बीमा बजार पनि विकेन्द्रीत हुने अनुमान गरिएकाे छ ।

माछापुच्छ्रे बैंकबाट सिटिजन लाइफइन्स्योरेन्सको बीमा सेवा पाइने, दुई कम्पनीले गरे संझौता

काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच ‘बैंकास्योरेन्स’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा हुने विश्वास दुवै कम्पनीले लिएका छन् । सम्झौता अनुसार ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफइन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

ज्योतिलाईफका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेकोे छ । उक्त सम्झौता अनुसार ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्करराज पन्तलगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।