बीमाको प्रिमियम अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । अनलाइन प्रिमियम भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । जीवन बीमाको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोन पेका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘सहकार्यले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ ’ बताए । यस्तै मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले, ‘ग्राहकलाई अनलाईनबाट प्रिमियम भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा एकदमै हर्षित छौँ । ग्राहकको प्रतिक्रिया अनुरुप हामीले इसेवा संगको सहकार्यमा यो सेवा सुचारु गरेका हौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा, थप डिजिटाइजिङ तिर जाँदैछौं साथै ग्राहकहरूको सुविधाको लागि हाम्रो प्रक्रियालाई सरल बनाउनेछौं ’ भने । देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । यस्तै १ सय ५० वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् ।

नेशनल लाईफ र कामना सेवा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६८ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन । सम्झौतासंगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । बैंक देशभरि ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाई व्याकिङ्ग, सी एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउंदै आएको छ ।

आइएमई र माछापुच्छ्रेबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक आशिष सिंह र माछापुच्छ्रे बैंक लिमिटेडका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापछि सर्वसाधारण तथा बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।