नेशनल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी तीन अर्ब नाघ्याे

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित १४.५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पूँजीको २.५ प्रतिशत बोनस सेयर र १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गरेको हो । साथै, बोनस सेयर वापतको कर प्रयोजनको लागि ३९ लाख ५७ हजार १५८ रुपैयाँ नगद लाभांश प्रस्ताव पारित भएको छ । आ.व. २०७४/७५ मा कम्पनीले कूल ६ लाख ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, कूल दावी भुक्तानी २०५ करोड रुपैयाँ र ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको सभामा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले जानकारी गराएका छन् । उनले इन्स्योरेन्सको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ नाघेको छ । यसैगरी, २०७५ असार मसान्तसम्ममा कम्पनीको कुल लगानी २३.५४ प्रतिशतले वृद्धि भई २० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बीमा कोष गत वर्षको तुलनामा २४.१६ प्रतिशतले वृद्धि भई २१ अर्ब ४७ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गरी कम्पनीको प्रतिफल वृद्धि गर्ने तर्फ कम्पनीको प्रयास केन्द्रित रहेको परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ९.५८ प्रतिशत पुगेको अध्यक्ष सिंहले जानकारी दिइन । साथै, व्यवसाय विस्तारसँगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको कम्पनीले जनाकारी दिएको छ ।

२० प्रतिशत हकप्रद सेयर बिक्री गर्दै लुम्बिनी जनरल इन्स्योरेन्स, क-कसले भर्न पाउँछन् ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको आइतबार(आज)देखि २० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । इन्स्योरेन्सले अंकित मूल्य एक सय रुपैंयाँ दरका १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । कम्पनीका अनुसार आगामी असोज २६ गतेसम्म सेयर खरिद गर्ने सेयरधनीहरुले सो मात्राको हकप्रद भर्न सक्नेछन् । उक्त सेयरधनीले आगामी मंसिर २५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिविआईएल क्यापिटल लिमिटेड रहेको छ । उक्त हकप्रदको लागि इन्स्योरेन्सको केन्द्रिय तथा सम्पूर्ण शाखा कार्यालयहरु र काठमाडौंको डिल्लीबजारमा रहेको सिविआईएल क्यापिटलबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ । साथै, सी–आस्वा प्रणाली मार्फत समेत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

राष्ट्रिय बीमा संस्थानले सम्पन्न गर्यो जीवन बीमा अभिकर्ताको आधारभुत तालिम

काठमाडौं । राष्ट्रिय बीमा संस्थाद्वारा विराटनगरमा जीवन बीमाको अभिकर्ता तालिम कार्यक्रम सम्पन्न भएको छ । गत कात्तिक २१ गतेदेखि २३ गतेसम्म गरी सो कार्यक्रम सम्पन्न गरिएको हो । उक्त तालिममा ३३ जनाले सहभागीता जनाएका छन् । सो तालिममा बीमाको महत्व र सिद्धान्तका विषयमा छलफल गरिएको थियो । यस्तै, बीमा सम्बन्धी हाल नेपालमा लागू भएका ऐन, नियमावली तथा विनियमहरुको बारेमा छलफल भएको पाइन्छ । कार्यक्रममा राष्ट्रिय बीमा संस्थानमा प्रचलित बीमालेखहरु तथा अभिकर्ताहरुको सेवा सुविधाको विषयमा चर्चा भएको थियो । बीमा बजारीकरण र अभिकर्ताको व्यवसाय वृद्धीका तरिकाहरुमा समेत कार्यक्रम केन्द्रित भएको पाइन्छ । सोही तालिम कार्यक्रमको अवसर पारेर राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थाको भावी कार्यदिशाको विषयमा सहभागीलाई प्रशिक्षित गराएका थिए । साथै,  कात्तिक २४ देखी २६ गतेसम्म विर्तामोडमा जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन हुने पाइएको छ ।