ज्योति लाईफ इन्स्योरेन्सकोे प्रादेशिक कार्यालय धनगढीमा, बीमा समितिका अध्यक्षद्वारा उद्घाटन

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष चापागाँईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानिय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारीता बढाउन बीमा समिति आफै लागि परेको कुरा जानकारी गराएका छन् । साथै, अहिलेसम्म नियामकिय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको भएतापनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने बताए । यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा समेत जानकारी गराए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरुको हकमा पुराना कम्पनीहरुलाई पनि चुनौती दिन सफल भएको बताए । यसैगरी, सुदुर पश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुला सहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गराएका थिए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले छोटो समयमानै बीमाको दायरा ६ % बाट २२ % पुर्याउन बीमा समितिको अहम भूमिका रहेको कारण समितिप्रति कृतज्ञता ज्ञापन गरे ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सको पहिलो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको एक वर्ष पुरा गरेको छ। नेपालको बीमा बजारमा चालिसौं र जीवन बीमा कम्पनीहरुमा १९ औं कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो। कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा ६० वटा शाखा र उपशाखा संचालन गरिसकेको छ। त्यसैगरी ६० जिल्लामा अभिकर्ता तालिम संचालन गरी बीमा समितिबाट इजाजत लिएर ७,३२३ अभिकर्ताहरु यस कम्पनीमा कार्यरत रहेका छन। कम्पनीले १ वर्षको छोटो अवधिमा महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी सावधिक आजीवन बीमा, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा, महालक्ष्मी जीवन हेरचाह बीमा, महालक्ष्मी सावधिक बीमा, महालक्ष्मी सरल बीमा, महालक्ष्मी जीवन सुरक्षा म्यादी बिमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बिमा र महालक्ष्मी सामूहिक म्यादी जीवन बीमा गरी ९ वटा बीमा पोलिसी प्रचलनमा ल्याईसकेको छ । कारोबार प्रारम्भको १ वर्षको छोटो अवधिमा कुल ५६ करोड बीमा शुल्क संकलन गर्न कम्पनी सफल भएको छ। २०७६ आषाढ मसान्त सम्म रु ११ करोड १३ लाख र २०७६ पुस मसान्तमा ५ करोड १८ लाख खुद मुनाफा गरेको छ । एक वर्षको कारोबारमा कूल बीमा प्रिमियम आयको तुलनामा कम्पनीको जीवन बीमा कोष ७९ प्रतिशत र बैदेशिक रोजगार पुल दाबी वाहेक कम्पनीको दाबी भुक्तानी शुन्य प्रतिशत रहेको छ। जुन सबै जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट रहेको छ। कम्पनीले आ.व. २०७६ ०७७ को अन्त सम्ममा थप २५ वटा शाखा र उपशाखा संचालन गरी प्रथम बीमा शुल्क संकलनमा अरब क्लबमा पुग्ने लक्ष्य लिएको छ। कम्पनीले १ महिना भित्र शाखा रहित बीमा पोलिसी जारी गर्ने गरी टेवलेट इन्स्योरेन्सको कार्यक्रम संचालन गर्ने गरी तयारी गरिरहेको छ । वार्षिक उत्सवको अवसर पारेर कम्पनीले रु ५० लाख सम्म दाबी भुक्तानी गर्ने गरी घातक रोग पुरक सुविधा योजना संचालनमा ल्याएको जानकारी गराएको छ ।

एभरेष्ट र प्राईम लाईफ इन्स्योरेन्सले शुरू गरे घुम्ती बीमा सेवा

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ती बीमा सेवा संचालन गरेको छ । ठाकुरवावा मन्दिर परिसर बर्दियाबाट शुरु गरिएको उक्त कार्यक्रम घरदैलोबाटै बीमा सेवा प्रदान गर्ने उद्देश्यले शुभारम्भ गरिएको हो । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको सभापतित्वमा सञ्चालित कार्यक्रमा भट्टराईले ग्राहकको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बीमा योजना प्रस्तुत गरिएको जानकारी दिए । घुम्ती बीमा सेवा शुभारम्भ कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरी व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गरेका छन् । उक्त समारोहमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बीमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडि बढाइएको जानकारी दिए ।