प्रिमियम तिर्न ढिला भएपनि महालक्ष्मी लाइफ इन्स्योरेन्सले जरिवाना नलिने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्न ढिला भएमा जरिवाना नलिने भएको छ । कम्पनीले असार मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी बिलम्ब भए वापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कोरोना भाइरस रोकथामका निमित्त लागू भएको लकडाउनको कारण नेपालीमा सृजना भएको अप्ठयारो परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुट दिने भएको हो । समयमा तिर्नु पर्ने नविकरण बीमाशुल्क नतिरेको कारण लाग्ने बिलम्ब शुल्क यहि असार ३१ गते भित्र नविकरण बीमाशुल्क भुक्तान गरेमा बन्दाबन्दी शुरु अवधि अर्थात चैत ११ गतेदेखिको बिलम्ब शुल्क पूर्ण रुपमा छुट दिएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ-आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफुसँग आवद्ध सबै बीमितहरुलाई आग्रह गरेको छ । साथै, बीमितहरुले आफुलाई पायक पर्ने समयमा घरबाटै इसेवा मार्फत नै बीमाशुल्क भुक्तानी गर्न सक्ने छन् ।

माउन्टेन इनर्जी नेपालले आईपीओ जारी गर्न पायो बोर्डको अनुमति

काठमाडौं । माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्न अनुमति पाएको छ । हाइड्रोले स्थानीय र सर्वसाधारणलाई अंकित मूल्य एक सय रुपैयाँको दरले कूल ३९ लाख ३६ हजार ५४ कित्ता सेयर निष्काशन गर्न नेपाल धिताेपत्र बोर्डको अनुमति पाएको हो । जसमध्ये स्थानीयलाई १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणलाई १९ लाख ६८ हजार २७ कित्ता सेयर जारी गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ जारी गर्दै, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सो मात्राको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । संस्थाले सिभिल क्यापिटल मार्केटमार्फत सो मात्रो सेयर बिक्री गर्ने अनुमति मागेको छ ।