रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि आईपीओ जारी गर्दै
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत साउन १६ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।
७५ करोडको साधारण सेयर निष्काशन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्न लागेको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ७५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । सिटिजन लाइफले सार्वजनिक निष्काशनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता–पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता भईसकेको । सर्वसाधारणका लागि छुट्टाईएको रकम रु ७५ करोड निकट भविष्यमा सर्वसाधारणलाई शेयर जारी गरी कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्दैछ । सिटिजन लाइफ गत आ.व. २०७६/७७ मा आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले र कुल बीमा शुल्क आर्जनमा ६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ ले वृद्धि गरी ४९ करोड ६१ लाख र लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी ३३ करोड ८३ लाख रुपैयाँ पु¥याउन सफल भएको छ ।
कोरोना संक्रमण फैलिएको ठाउँमा बीमा कम्पनीका कार्यालय खोल्ने कि बन्द गर्ने ? यसो भन्छ बीमा समिति
काठमाडौं । बीमा कम्पनीहरुले कोरोना महामारीको असर बढिरहेको बेलामा आफ्नो सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् । बीमा आफैले जोखिम बहन गर्ने संस्था भएको तथा बिमितको आर्थिक सरोकार हुने भएकाले सेवा थप प्रभावकारी हुनुपर्ने निष्कर्ष कम्पनीहरुको निकालेका हुन् । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलका अनुसार अहिलेको अवस्था विपतको अवस्था भएकाले बीमा कम्पनीहरुले आफैले बुझेर सुरक्षा मापदण्ड अपनाई आवश्यकता अनुसार कार्यालय संचालन गरिरहेका छन् । ‘अहिलेको अवस्था भनेको केही संकटको अवस्था पनि हो, यस्तो बेलामा हामीले अनिवार्य रुपमा कार्यालय खोल वा बन्द गर भनेका छैनौं, बीमा कम्पनीका म्यानेजरहरुले आफै सल्लाह गरेर सुरक्षा मापदण्ड अपनाई काम गर्न हामीले सुझाएका छौं,’ कार्यकारी निर्देशक तथा प्रवक्ता पौडेलले विकासन्यूजसँग भने । समितिले बीमा कम्पनीहरुलाई शाखा खोल्ने वा बन्द गर्ने विषयमा कुनै लिखित निर्देशन नदिएपनि मौखिक रुपमा भने सुझाव दिइरहेको बताएको छ । ‘सिफ्टमार्फत संचालन गरेपनि, वोर्क फ्रम होम गर्दा होस् वा बीमा कम्पनीमै आएका काम गर्दा होस्, जनस्वस्थ्यसँग खेलबाड गर्नु हुदैन भन्ने हाम्रो भनाइ हो, बीमा कम्पनीहरुलाई पनि यही कुरा भनिरहेका छौं, सुरक्षित रहेर सेवा दिनु अहिलेको आवश्यकता हो’, कार्यकारी निर्देशक पौडेलले थपे । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रकीका अनुसार बीमा कम्पनीहरुले बिमितलाई दिने सेवामा कुनै समस्या आएको छैन । ‘हामीले कोरोना महामारीका कारण सिल भएका क्षेत्रमा समेत बीमा सेवा प्रवाह गरिरहेका छौँ, त्यस्ता स्थानमा हामीले वर्क फ्रम होमको अवधारणा अपनाई रहेका छौँ, कोरोनाकोे प्रभाव कम भएको स्थानमा भने ५० प्रतिशत कर्मचारीहरु कार्यालयमा बोलाएर काम गरिरहेका छौँ’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भने । उनले कोरोनाको जोखिम हरकोहीलाई भएपनि यस्तो अवस्थामा बिमितलाई पैसाको समेत अवश्यकता उत्तिकै हुने भएकोले दाबी भुक्तानीमा कुनै समस्या नआउने गरी द्रुत सेवा दिएको जानकारी दिए । कोरोना महामारीको असर प्रत्यक्ष्य–अप्रत्यक्ष रुपमा कलकारखाना, कम्पनीहरुलाई समेत परेको छ । सामान्य रुपमा काम गर्न समेत सहज छैन । यस्तो अवस्थामा नेपालका बीमा कम्पनीहरुपनि कोरोनाको कहरबाट अछुतो छैनन् । असरबारे अध्ययन हुँदै बीमा समितिले पनि कोरोनाले बीमा क्षेत्रमा पारेको असरको बारेमा अध्ययनपछि मात्र आँकलन गर्न सकिने बताएको छ । अहिले कोरोनाबाट अन्य क्षेत्र प्रभावित भइरहेको अवस्थामा बीमा क्षेत्रले समेत यसको असर प्रत्यक्ष रुपमा भोग्दै आएको छ । केही कम्पनीहरुले २ सिफ्टमा सेवा दिइरहेका छन् भने केही कम्पनीमा अत्यावश्यक कामका लागि थोरै कर्मचारी कार्यालय आइरहेका छन् । जोखिम बढेका ठाउँमा कार्यालय बन्द बीमा कम्पनीहरुले कोरोना संक्रमण देखिएको अवस्थामा कार्यालय बन्द गर्दा पनि हुने आशय व्यक्त गरेको छ । आवश्यक परेको अवस्थामा स्वस्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरेर सेवा दिन समितिले भनेको छ ।