अब बोलीले होइन, कामले देखाउने छौं : रवि लामिछाने (पूर्णपाठसहित)

नेपाली जनताले यसपटक ऐतिहासिक रेकर्डका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब दुई तिहाईको मतादेश दिएका छन् । म जनतालाई आभार मात्रै प्रकट गर्न उभिएको छैन । मैले यही रोस्ट्रमबाटै मतको गुन पुरा गर्ने प्रतिज्ञा गर्दछौं । यो मतमा जनताको आशा पनि छ, आक्रोश पनि छ । मलाई थाहा छ, हामीले पाएको मत समर्थनको मात्र होइन, परिवर्तनको मत हो । हामीलाई जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन मात्र होइन सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु, हामीले बदल्न सुरु गरिसकेका छौं । सभामुख महोदय सत्तारूढ दलको सभापतिका रूपमा अब हामीले बोलेर मात्र पुग्दैन । मैले मात्र होइन रास्वपाका हरेक मन्त्रीले कामबाटै आफूलाई, पार्टीलाई र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामी राम्रै बोल्नुभन्दा पनि हाम्रा कामहरु र सरकारका कामहरु आफै अत्यन्त राम्रोसँग बोल्ने छन् । ती बोल्न सुरु गरिसकेका कुरा फेरि पनि म निवेदन गर्न चाहन्छु ।  सभामुख महोदय हामीलाई हनिमुन पिरियडको सुविधा पनि चाहिँदैन । हामी दिन गनेर होइन सेकेन्ड गनेर काम गर्न चाहन्छौं र गर्न सुरु गरिसकेका छौं । तपाईहरूले सरकारको रफ्तार देखिरहनु भएको छ । अब कर्मचारीतन्त्र सहित सिंगो देशले यो रफ्तारसँग गति मिलाउनुको विकल्प छैन । हामी आफ्ना मात्र होइन जायज छन् भने विपक्षी दलका चुनावी प्रतिबद्धताको पनि स्वामित्व लिन तयार भएर आएका छौ । यसको सार्वजनिक घोषणा पनि हामीले गरिसकेका छौं । सभामुख महोदय सरकारका प्राथमिकता योजना र दिशा सविस्तार सम्माननीय प्रधानमन्त्रीज्यु बाटै आवश्यक परे बोलेर र आवश्यक नपर्दा नबोलेरै कामबाट बाट प्रस्तुत हुने कुरा पनि म सम्मानित सदनलाई जानकारी गराउँदछु । म आज केवल केही राजनीतिक विषयमा प्रवेश गर्न चाहन्छु । सभामुख महोदय, यो सम्मानित संसदमा यस अघि पनि पटक पटक एकल बहुमतका सरकार नबनेका होइनन् । तर ति सरकारहरु इतिहासका अङ्क बने इतिहास बदल्ने औजार बन्न सकेनन् । किन सकेनन् त्यहाँ दृष्टिकोणमा समस्या थियो कि प्राथमिकतामा पारदर्शिता र जवाफदेहितामा कमजोरी थियो कि कार्यान्वयनमा ? किन अवसरहरुलाई परिणाममा बदल्न सकिएन ? हामीले इतिहासबाट सिक्न लाज मान्ने छैनौं । जनताले अहिले हामीलाई दिएको विशाल बहुमतको इतिहास यो पनि फेरी गुमेको अवसर भनेर लेखियो भने हामी कलंकित हुनेछौं । हामीलाई त्यो मन्जुर छैन । रास्वपाका साथीहरुलाई म सम्झाउछु हामी यहाँ प्रश्न सोधेर आएका हौ ।  अहिले बस्ने ठाउँ फेरी होला तर आज पनि ति प्रस्नहरु प्रति हाम्रो नैतिक जिम्मेवारी उस्तै छ । अब साबित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउदैन उत्तर दिन पनि आउँछ । समस्या देखाउन मात्र होइन समाधान खोज्न पनि आउछ । प्रतिपक्षी दलहरुलाई मेरो विनम्र आग्रह छ हामी माथि २४ सै घण्टा निगरानी गरिदिनु होला । शासनमा तपाईहरुको लामो अनुभव छ हाम्रा कमजोरी उजागर गरिदिनु होला । गल्ती देखाइदिनु होला । यदि हामीले बाटो बिरायौ भने सच्याइदिनु होला। यदि हामी जनताबाट टाढा हुन खोज्यौ भने हामीलाई जनताको आवाज सम्झाइदिनु होला । हामीमा अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्, हाम्रा निर्णयहरु एकतर्फ नहोऊन् । लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन् । यिनिहरु त एक अर्काका पूरक पनि हुन् । एकले काम गर्छ अर्कोले निगरानी गर्छ । एकले योजना बनाउँछ अर्कोले कार्यान्वयन गर्छ । हामीले प्रतिपक्षको आवाज कमजोर हुन दिने छैनौं । प्रतिपक्षको आवाज कमजोर बनाइयो र उपेक्षा गरियो भने लोकतन्त्र कमजोर हुनेछ । यो हामीले अस्ति भर्खरै देखिसकेका छौं ।  यो संसद बहसको थलो हुनेछ प्रतिशोधको होइन । हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संसोधन गरिएको छ । अध्यादेश समेत ल्याइएको छ । त्यस्ता गलत क्रियाकलाप यथा सिघ्र सच्चाइने कुरा म यो सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु । प्रतिपक्ष माथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार हुने छैन । अब अन्याय पुर्वक विधिनै मिचेर सुन्न मन लागेका कुरा नसुनौ भनेर कसैको माइक काटिने छैन । संसदीय समितिहरुमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन । तर सुशासनको वेग भने रोकिने छैन ।  न्याय पाउने पहिलो हक सहिदकी आमाको हो त्यसलाई प्रतिशोध भन्न पाइने छैन । यो सरकार जेनजी बद्रोहको पनि सन्तान हो । हिजो संविधान र कानुनको को आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरुले स्वैक्षिक रुपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनु हुन म अपिल गर्न चाहन्छु । सरकार नयाँ नीति कानुन मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागु गर्न चाहन्छ । हिजो नियुक्ति लिएका सार्वजनिक सेवा र निकायका पदाधिकारीहरुले स्वेक्षाले मार्ग प्रशस्त गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गर्दछु । सभाध्यक्ष महोदय, छिमेकी राष्ट्र र मित्र राष्ट्र संघका सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैर जिम्मेवार र सस्तो खेल अब हुने छैन । प्रतिपक्षलाई समेत साथमा लिएर हामी मित्रवत परराष्ट्र नीति तय गर्ने छौ । त्यो रणनीतिक र दर्घकालिन सोचमा आधारित हुनेछ । व्यापार, लगानी, शिक्षा पर्यटन र प्रविधि मैत्री हुनेछ । त्यसले पहिला राष्ट्रहित र त्यो सँगै अन्तराष्ट्रिय सम्बन्धमा विश्वास र स्थायित्व सुनिश्चित गर्नेछ । स्वदेशी र विदेशी लगानीकर्तालाई यही रोस्टमबाट मेरो अपिल छ । अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ किनकि राजनीतिक स्थिरता कानुनी सुरक्षा र पारदर्शी प्रशासनको हामी ग्यारेन्टी गर्छौं । सभामुख महोदय प्राकृतिक स्रोत प्राकृतिक स्रोत र युवा जनशक्तिको देशमा अभाव छैन । नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अपिल गर्छु नेपालमा केहि गरौ तपाई नेपालको आर्थिक विकासमा जोडिनुस । हामी एक पटकको नेपाली सधैको नेपालीको वाचा पुरा गरेरै छाड्छौं । नेपाली जनताले नेपालको विकास सँग तपाईको पुँजी, सिप, अनुशासन र आत्मविश्वासलाई जोड्न जे गर्नुपर्छ हामी त्यही गर्छौ । जसरी पनि गर्छौ । तपाईहरुको लगानी सुनिश्चित बनाउने छाैं । तपाईहरुको सम्मान सुनिश्चित गर्नेछौं । देश भित्र म निजी क्षेत्रलाई पूर्ण आस्वस्त पार्न चाहन्छु बिचौलिया र माफियाहरुले बिगारेको व्यवसायिक वातावरण हामीले सुधार गर्न सुरु गरिसकेका छौं । नीतिहरु अब बजारमा बेचिने छैनन् । निर्णयहरु कसैको दबाबमा बन्ने छैनन् ।  व्यवसायिक क्षेत्रमा तपाईहरुले अनुभव गरेको असुरक्षा अनिश्चितता र दबाब सबैका लागि समाप्त हुनेछ । बिचौलिया र माफियागिरी अब रहने छैन । समान अवसर पारदर्शिता निष्पक्षता र व्यवसायिक स्वतन्त्रताको जिम्मा हामी लिन्छौं । सरकारले लिन्छ । म एउटा प्रसङग यहाँ प्रस्तुत गर्न चाहन्छु सभामुख महोदय मेरा मित्र माननीय खगेन्द्र सुनुवार निर्वाचित भएर खगेन्द्र सुनार यहाँ आउनु भएको छ ।  चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आए । थाहा छैन उहाँले गल्ति गर्नु भयो गर्नु भएन तर उहाँले माफी माग्नु भयो । यति छिटै माफी माग्दै भन्नुभयो मबाट त्यस्तो गल्ति भए जस्तो मलाई लाग्दैन तर गल्ति भएको रहेछ भने माफी माग्नु भयो । म आज यो सिंगो सदनबाट सिंगो देशलाई भन्न चाहन्छु, गल्ती गरेको हो कि होइन भन्ने अन्योल हुँदा पनि खगेन्द्र सुनारले माफी माग्नु भयो । खगेन्द्र सुनारहरु माथि युगौं युगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौं । यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमा याचनाका साथ केहि भन्नु छ । यो सरकार शताब्दीयौ देखिको विभेदको अन्यायको अत्याचारको इतिहास सँग पहिलो पटक सामुहिक र सार्वजनिक माफी माग्दै छ त्यो पनि यो सदनबाट । आज सम्मको विभेद सामाजिक गल्ति थिएन । संगठित अपराध थियो । यो देश किन बनेन ? किनकि जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौ । अब कुनै पनि नेपाली जातका नाममा झुक्नु पर्ने छैन । म सिंगो पार्टी, सम्माननीय प्रधानमन्त्री ज्यु र  सरकारको तर्फबाट पनि माफी माग्छु ।  यो माफीको मूल्य अब न्यायले गर्ने छ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु । यो रोस्ट्रमबाट मैले आमा र दिदीबहिनीहरुलाई पनि केहि भन्नु छ । यो देशमा तपाईहरुले सबैभन्दा धेरै जिम्मेवारी बोकेर पनि सबैभन्दा कम अवसर पाउनुभयो । घर सम्हाल्नुभयो, परिवार बचाउनुभयो, समाज चलाउनु भयो । तर त्यसलाई काम मानिएन । महिलालाई अवसर अब अनुग्रह होइन अधिकार हुनेछ । हामी सुनिश्चित गर्नेछौ शिक्षा र रोजगारीमा बराबर पहुच । हामी ग्यारेण्टी गर्नेछौं । राज्यका हरेक तहमा अर्थपूर्ण प्रतिनिधित्व कर्मस्थल र समाजमा सुरक्षा र सम्मान । अनि महिला विरुद्धका हिंसामा सुन्य सहनशिलता । कुनै छोरीले अब आफ्नो सपना सानो बनाउनु पर्ने छैन । अबको यात्रा केवल समानताको होइन सशक्तिकरणको हुनेछ । सँगसँगै जेष्ठ नागरिकहरुको आर्थिक सुरक्षा सामाजिक कल्याण र आत्म सम्मान पनि हाम्रो कर्तव्य हुनेछ ।  आजको संसदको जनादेशको वास्तविक रचयिता हुनुहुन्छ बैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु । यो देशमा आज सम्म सधै तपाईहरुले पठाएको रेमिटेन्सको कुरा भयो । तर आज म पैसाको होइन तपाईहरुले तिर्नु भएको व्यक्तिगत मूल्यको कुरा गर्छु । परिवारबाट अलग्निु भयो । आमा बुवाको साथ गुमाउनु भयो । कलिला छोराछोरीकोको बाल्यकाल गुमाउनु भयो । चाड पर्वको रमाइलो, परिवारको माया आफ्नो गाउँ घरको न्यानोपन गुमाउनु भयो । कतिले आमा बाबुको मृत्युमा काँद थाप्न पाउनु भएन । कतिले सन्तानको पहिलो पाइला देख्न पाउनु भएन ।  आज म यहीबाट क्षमा याचनाका साथ स्वीकार गर्छु । यो देशले तपाईहरुको त्यागको उचित सम्मान गरेन । अब तपाईहरुको पिडा केवल कथा बन्ने छैन । नीति बन्ने छ राज्यको प्राथमिकता बन्नेछ । बिचौलिया र श्रम माफिया अब कारबाहीका भागीदार हुनेछन् । अबको नीति तथा कार्यक्रम र बजेट तपाईहरुको हुनेछ । खाडी क्षेत्रमा अब जाने हाम्रा राजदूतहरु बिचौलिया सँगको डिनर टेबलमा हैन श्रमिकका शिविरहरुमा भेटिनेछन् । मैले युवा साथीहरुलाई विशेष अपिल गर्नु छ ।  यो परिवर्तन पनि तपाईहरुको हो । यो सरकार पनि तपाईहरुको हो । संसद पनि तपाईहरुको संघर्ष तपाईहरुको आवाज र तपाईहरुको विश्वासको परिणाम हो । तपाईहरुलाई दक्ष र आत्मनिर्भर बनाउन रोजगारी र उददमशीलतासँग जोड्न नवप्रवर्तन र नेतृत्वका अवसरहरु पैदा गर्न यो संसद र सरकार प्रतिबद्ध छ । माननीय सांसद ज्यूहरु जुनसुकै पार्टीबाट चुनिएर आए पनि हामी जनतालाई प्रतिनिधित्व गर्दछौ । त्यसैले अब हाम्रो लक्ष्य एउटै हुनुपर्छ देशको समृद्धि जनताको जीवनमा सुधार र न्यायपूर्ण समाजको निर्माण । मलाई विश्वास छ यो सहकार्य उत्तरदायित्व र परिवर्तनको प्रतिक हुनेछ धन्यवाद । (बिहीबार नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा रास्वपा सभापति रवि लामिछानेले राखेको विचार)

सुहाङको जित, बादललाई बधाई

काठमाडौं । नेपालको राजनीतिमा बुधबार फेरि एक पटक रोचक र जनभावनाभन्दा पृथक निर्णय भयो । जहाँ नेताहरूको निर्णय र जनताको चाहनाबीच लामो दूरी देखियो । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध चयन भए । पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहेका बादल समानुपातिक सांसद हुँदै संसदमा प्रवेश गर्दै पार्टीको संसदीय दलको नेता बने ।  यसले नेपाली राजनीतिमा गहिरिँदै गएको पुस्तान्तरणको बहस, जनअपेक्षा र दलगत संरचनाबीचको द्वन्द्वलाई पुनः उजागर गरेको छ । किनकि पार्टीका युवा सांसद सुहाङ नेम्वाङको दाबी अन्तिम आवरसम्म रहँदा पनि उनले पार्टीका नेता र सांसदहरूबाट समर्थन पाएनन् । अर्थात् उनले पार्टीको संसदीय दलको नेता बन्न न प्रस्तावक पाए नत समर्थक नै । ‘म केही गर्छु, अगाडि बढ्न देऊ’ भन्ने एउटा युवा सांसदको आज खुट्टा तानिएर लडाइयो ।  तपाईं हामीले बाहिरबाट हेर्दा यो एउटा संगठनात्मक निर्णय जस्तो लाग्न सक्छ । तर, यसको भित्री तहमा प्रवेश गर्दा धेरै प्रश्नहरू जन्माउँछ कि के दलहरू अझै पनि पुरानो खेलमै व्यस्त छन् ? के दलहरू अझै पनि सुध्रिन तयार छैनन् ? के उनीहरूले जनताको मनोभावना सुन्न छाडिसकेका हुन् ? यी सबाल र जिज्ञासा आज बसेको एमालेको संसदीय दलको बैठकले उब्जाएको छ ।  रामबहादुर थापा ‘बादल’ निर्विरोध रूपमा संसदीय दलको नेता चयन हुनुमा हाम्रो कुनै विमति, विरोध, आलोचना र आपत्ति होइन । तर, आमयुवा र जनताहरूले युवाको नेतृत्वको माग गरिरहँदा नेकपा एमाले भने पुरानै ढर्राबाट आफ्नै पारामा अगाडि बढ्दा प्रश्न भने अवश्य उठ्छ, प्रश्न गर्न पाइन्छ । सुहाङ नेम्वाङजस्ता युवा नेताले संसदीय दलको नेतामा दाबी गर्नु आफैमा ठूलो साहस हो । बादल, पद्मा अर्याल लगायतका पाका नेताहरूका अगाडि म बन्छु संसदीय दलको नेता भनेर सुहाङले खुट्टा उचाल्नु आफैमा ठूलो हिम्मत हो । तर, त्यो साहस एमालेका नेताहरूले निमिट्यान्न पारे ।  एमालेको संसदीय दलको बैठक जारी रहँदा हामीले विकासन्युज डटकमको फेसबुक पेज मार्फत एउटा सानो सर्वेक्षण गर्यौं । ‘एमालेको संसदीय दलको नेता को बन्दा राम्रो होला भन्ने हाम्रो प्रश्न र जिज्ञासामा प्रतिक्रिया दिने सतप्रतिशत पाठकहरुले सुहाङको नाम लिएका छन् । बरु केहीले त बादलको आलोचना गरेका छन् ।  सतप्रतिशत पाठक तथा दर्शकहरूले सुहाङ नेम्वाङलाई रोज्नु उनीहरूले सुहाङप्रति गरेको विश्वास हो । उनीहरूले सुहाङले गर्न सक्छन् भन्ने विश्वास राखेका छन् । उनीहरूको अर्को चाहना भनेको एमालेको नेतृत्वमा सुहाङलाई देख्ने हुन सक्छ । उनीहरुले सुहाङलाई रोज्नुले पनि देखाउँछ कि अहिलेको जनमत युवा नेतृत्वतर्फ झुकेको छ । कुनैबेला राजनीतिमा कुनै चासो नराख्ने नेपाली युवाहरू अहिले क्रिकेट, क्यारम र कराते छोडेर राजनीतिक समाचार र सूचनामा व्यस्त भएको हामीले महसुस गरेका छौं । यो नेपाली राजनीतिको सुखद पक्ष हो । युवालाई जागरुक बनाएर अब देश विकासमा हातेमालो गर्दै सँगै अगाडि बढ्ने यो उत्तम समय हो ।  यही बेला युवाहरूको चाहना, रुचि र मागलाई बेवास्ता गर्नु राजनीतिक दलहरूको लागि दीर्घकालीन रूपमा घातक हुन सक्छ । रामबहादुर थापा ‘बादल’ को राजनीतिक यात्रा लामो र उतारचढावपूर्ण छ । माओवादी आन्दोलनबाट आएका उनी पछि एमालेमा समाहित भए ।  उनको अनुभव, संगठनात्मक पकड र राजनीतिक रणनीतिमा दक्षता निर्विवाद छ । तर, यही अनुभव आजको सन्दर्भमा प्रश्नको घेरामा पनि छ । के पुरानो अनुभवले नयाँ चुनौतीहरू समाधान गर्न सक्छ ? कि अब नयाँ सोच, नयाँ ऊर्जा र नयाँ दृष्टिकोण आवश्यक छ ? संसदीय दलको नेतामा बादलको चयनले एमालेभित्र स्थायित्व र अनुभवलाई प्राथमिकता दिएको देखिन्छ । तर, यसले परिवर्तनको चाहनालाई कति सम्बोधन गर्छ भन्ने प्रश्न पनि उब्जाएको छ । सुहाङ नेम्वाङ एमालेभित्रका आशा लाग्दा नेताका रूपमा हेरिएका छन् । बुबा सुवास नेम्वाङको निधनपछि उपनिर्वाचनमार्फत संसद प्रवेश गरेका उनले आफ्नो गहन र अब्बल क्षमता संसदमा देखाए । परिणामस्वरूप प्रतिनिधिसभा निर्वाचनमा एमाले देशभर हायलकायल हुँदा पनि सुहाङले सजिलै जिते । युवाहरूले उनलाई रोजेको र खोजेको यस उदाहरणबाट बुझ्न सकिन्छ ।  नेपालमा पुस्तान्तरणको बहस नयाँ होइन । वर्षौंदेखि ‘युवालाई अवसर’ भन्ने नारा उठ्दै आएको छ । तर, व्यवहारमा भने पुरानै अनुहारहरू नेतृत्वमा दोहोरिँदै आएका छन् । युवाहरूको यो माग र चाहना नबुझ्दा एमाले र त्यसको नेतृत्वले इतिहासमै यस पटक अप्रिय पराजय भोग्नु र बेहोर्नु पर्यो ।  आजको युवा पुस्ता दर्शक बन्न तयार छैनन् । उनीहरू नेतृत्वमा सहभागिता खोजिरहेका छन् । उनीहरू प्रश्न गर्छन्, बहस गर्छन् र आफ्नो आवाज व्यक्त गर्छन् । त्यसको उदाहरण आज सुहाङ देखिएका छन् । उनले स्पष्ट र इमानदार साथ आफ्नो दाबी प्रस्तुत गर्दा पनि सफल हुन सकेनन् । किनकी नेतृत्व तहमै ‘पुराना’ रोग व्याप्त थियो, बहुत थियो ।  संसदीय दलको नेतामा बादल चयन भएपछि प्रतिक्रिया दिँदै सुहाङले अपेक्षा गरेअनुसार निर्णय नभए पनि लोकतान्त्रिक अभ्यासलाई अवलम्बन गर्दै जनभावना अनुसार आफू अगाडि बढ्ने बताए ।  पार्टीले जुनसुकै र जस्तोसुकै निर्णय गरे पनि सुहाङले युवा र आम जनमानको मन जितेका छन्, जनमानसको मन जित्नु नै वास्तविक जित हो । तर, संसदीय दलको नेतामा भने बादलले बधाई पाएका छन् ।  ‘एमालेका कमजोरीलाई सुधार्दै र हिजोका कमजोरीमाथि आत्मालोचनाका लागि एक पाइला चालेको हुँ । अपेक्षित नतिजा नआए पनि निरन्तर संघर्ष गरेर अगाडि बढ्ने हो । यो एक पाइला मात्रै चालेको हो, अब चाल्दै गर्छु,’ निराश हुँदै उनले भने ।  सुहाङजस्तै इच्छा रुचि र चाहना राख्ने युवाहरू पछारिएकै कारण आज जनता, युवा र राजनीतिक दलबीचको दूरी बढेको हो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई केवल चुनावी सफलता भनेर बुझ्नु पर्याप्त छैन । यो परम्परागत दलहरूप्रति जनताको असन्तुष्टि र नयाँ विकल्पको खोजीको परिणाम हो ।  युवाहरूको सहभागिता, नयाँ अनुहारहरू र फरक राजनीतिक शैलीले जनतालाई आकर्षित गरेको छ । यसले स्पष्ट संकेत दिएको छ कि यदि पुराना दलहरूले परिवर्तन स्वीकारेनन् भने अर्थात् युवाहरूलाई स्थान दिन सकेनन् भने नयाँ शक्तिहरूले ठाउँ लिनेछन् ।  एमाले अहिले संक्रमणको मोडमा छ । योबेला सुहाङले म संसदीय दलको नेता बन्न सक्छु भन्ने आँट र विश्वास आफूलाई गरे, त्यसका लागि उनी धन्यवादका पात्र बनेका छन् । भलै उनले आफ्नो पक्षमा निर्णय गराउन नसके पनि यो जित सुहाङको हो । पहिलो प्रयासमा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्दै जित निकाल्नु र दोस्रो पटक पनि सहजपूर्ण रूपमा प्रत्यक्षतर्फको सांसद बन्नुलाई लामो रेसको घोडाका रूपमा बुझ्न सकिन्छ । पार्टीले जुनसुकै र जस्तोसुकै निर्णय गरे पनि सुहाङले युवा र आम जनमानको मन जितेका छन्, जनमानसको मन जित्नु नै वास्तविक जित हो । तर, संसदीय दलको नेतामा भने बादलले बधाई पाएका छन् ।  एमालेको यो निर्णयलाई तत्कालका लागि राजनीतिक रणनीतिका रूपमा बुझ्न सकिए पनि दीर्घकालमा भने पार्टीलाई नोक्सान नै हो गर्ने । पार्टी संक्रमण मोडमा रहेको बेला युवाको मतलाई नजरअन्दाज गर्नु पार्टीका लागि पुनः ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । संसदीय दलमा बादलको चयनले तत्कालीन सन्तुलन कायम राखेको हुन सक्छ । तर, दीर्घकालीन रूपमा पार्टीले युवालाई कसरी समेट्छ भन्ने प्रश्न पनि उठाएको छ । यदि एमालेले जनता र युवाहरूको मनोभावना बुझ्न सकेन भने उसले आफ्नो आधार गुमाउने जोखिम बढ्दै जानेछ ।   फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षमा ९, समानुपातिकबाट १६ सीट जितेर प्रतिनिधि सभाको तेस्रो दल बनेको छ । कुनै बेला देशकै ठूलो पार्टी बनेको एमाले अहिले तेस्रोमा सीमित बनेको छ । यसरी नै युवाहरूको मत र मनोभावनालाई कुल्चेर अगाडि बढ्यो भने एमालेलाई टर्च बालेर खोज्नुपर्ने दिन नआउला भन्न सकिन्न ।

राजनीतिको केन्द्रमा सधैं गोरखा : सुधन गुरुङलाई शुभकामना र गोर्खाली जनताको अपेक्षा

नेपालको इतिहास, राष्ट्रिय चेतना र राजनीतिक परिवर्तनका प्रत्येक अध्यायमा गोरखाको नाम विशेष सम्मानका साथ लिइन्छ । यो केवल एउटा जिल्ला मात्र होइन, यो नेपाली आत्मसम्मान, साहस र राष्ट्रिय एकताको प्रतीक हो । नेपालको आधुनिक इतिहासको सुरुवात यही भूमिबाट भएको थियो । यही माटोले नेपाली राष्ट्र निर्माणको सपना देख्यो र त्यसलाई व्यवहारमा उतार्ने नेतृत्व पनि जन्मायो ।  त्यसैले नेपालको राजनीतिक इतिहासको चर्चा गर्दा गोरखालाई अलग गरेर हेर्न सम्भव छैन । गोरखाको नाम आउँदा नेपाली जनताको मनमा स्वाभाविक रूपमा एउटा गर्वको भावना पैदा हुन्छ ।  यो गर्व केवल विगतका घटनाहरूको सम्झना मात्र होइन, वर्तमान र भविष्यप्रतिको जिम्मेवारी पनि हो । गोरखा त्यस्तो भूमि हो जहाँबाट नेतृत्व, संघर्ष र राष्ट्रिय चेतनाको आवाज बारम्बार उठेको छ । यही कारणले गर्दा गोरखालाई नेपालको राजनीतिक केन्द्रको रूपमा पनि लिने गरिन्छ । गोरखाली जनताको स्वभाव पनि विशेष प्रकारको छ । उनीहरू साहसी, स्पष्ट र आत्मसम्मानप्रति सजग हुन्छन् । उनीहरू आफ्नो भूमि, संस्कृति र पहिचानप्रति अत्यन्त गर्व गर्छन् । यही कारणले गर्दा यहाँका जनताले राजनीतिमा पनि सधैं जिम्मेवार र सचेत भूमिका निर्वाह गर्दै आएका छन् । जब देशमा परिवर्तनका आन्दोलनहरू भएका छन्, गोरखाली जनता सधैं अग्रपंक्तिमा देखिएका छन् । लोकतन्त्रको आन्दोलन होस्, सामाजिक न्यायको पक्षमा आवाज उठाउने विषय होस् वा राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने सवाल होस्, गोरखाली जनताको सहभागिता सधैं उल्लेखनीय रहँदै आएको छ । यही राजनीतिक चेतना र परम्पराको बीचबाट अहिले नयाँ पुस्ताका नेताहरू उदाउँदै छन् । उनीहरूमध्ये एक नाम सुधन गुरुङ पनि हो ।  गोरखाबाट नयाँ राजनीतिमा अघि बढिरहेका सुधन गुरुङप्रति गोर्खाली जनताले ठूलो आशा र विश्वास राखेका छन् । कुनै पनि नेताको वास्तविक शक्ति पद वा सत्ता होइन, जनताको विश्वास हो । यही विश्वासका आधारमा नेता अगाडि बढ्छ र समाजले पनि उसबाट सकारात्मक परिवर्तनको अपेक्षा गर्छ । सुधन गुरुङलाई गोरखाली जनताले समर्थन दिनुको कारण पनि यही हो—उनीहरूले आफ्नो प्रतिनिधि देखेका छन् ।  जनता आफ्नो मतमार्फत कुनै व्यक्तिलाई केवल जिताउँदैनन्, उनीहरूले आफ्नो आवाज र अधिकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी पनि सुम्पिन्छन् । त्यसैले जनताको मतको सम्मान गर्नु कुनै वैकल्पिक कुरा होइन, यो लोकतन्त्रको आधारभूत मूल्य हो । राजनीति भनेको केवल सत्ता प्राप्त गर्ने प्रतिस्पर्धा मात्र होइन, यो समाजको भविष्य निर्माण गर्ने प्रक्रिया पनि हो ।  जब कुनै नेता जनताको मतबाट चुनिन्छ, त्यसले केवल व्यक्तिगत सफलता प्राप्त गर्दैन, उसले एउटा ठूलो जिम्मेवारी पनि स्वीकार गरेको हुन्छ । त्यो जिम्मेवारी भनेको जनताको आशा, सपना र विश्वासलाई व्यवहारमा उतार्नु हो । गोरखाको इतिहासले सधैं एउटा सन्देश दिन्छ—यो भूमि नेतृत्व जन्माउने भूमि हो, तर त्यो नेतृत्वले जनताको विश्वासलाई कहिल्यै कमजोर बनाउन हुँदैन ।  गोरखाली जनताले आफ्नो मत दिनु भनेको उनीहरूले आफ्नो सम्मान र भरोसा सुम्पनु हो । यदि त्यो विश्वासको सम्मान गरियो भने नेता र जनताबीचको सम्बन्ध अझ बलियो बन्छ। तर यदि त्यो विश्वासलाई उपेक्षा गरियो भने त्यो केवल राजनीतिक असफलता मात्र होइन, जनताको भावनाको अपमान पनि बन्न सक्छ । आजको नेपाली राजनीति धेरै चुनौतीहरूले घेरिएको छ ।  कतिपय ठाउँमा नेताहरूले जनताको अपेक्षा पूरा गर्न नसकेको कारणले राजनीति आलोचनाको विषय बन्ने गरेको छ । यस्तो अवस्थामा नयाँ पुस्ताका नेताहरूले फरक सोच र व्यवहार देखाउनु अत्यन्त आवश्यक छ । उनीहरूले राजनीतिलाई व्यक्तिगत लाभको साधन नभई जनताको सेवा गर्ने माध्यम बनाउनु पर्छ । सुधन गुरुङ जस्ता नेतृत्वका लागि अहिले ठूलो अवसर पनि छ र जिम्मेवारी पनि । अवसर यस अर्थमा कि उनीहरूले जनताको विश्वास जितेर नयाँ उदाहरण प्रस्तुत गर्न सक्छन् ।  जिम्मेवारी यस अर्थमा कि उनीहरूले त्यो विश्वासलाई कायम राख्न निरन्तर मेहनत गर्नुपर्छ । गोरखाको विकास र समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिनु आवश्यक छ । आज पनि धेरै ग्रामीण क्षेत्रहरू विकासका दृष्टिले पछि परेका छन् । सडक, विद्यालय, स्वास्थ्य सेवा र आर्थिक अवसरहरूको विस्तार बिना कुनै पनि क्षेत्रको वास्तविक विकास सम्भव हुँदैन । त्यसैले नेतृत्वले यी विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्नु जरुरी छ । गोरखाको गौरव केवल इतिहासको पानामा सीमित रहनु हुँदैन । त्यो गौरव आजको पुस्ताले पनि अनुभव गर्न सक्नुपर्छ । यदि विकास, सुशासन र सामाजिक न्यायका क्षेत्रमा ठोस काम गर्न सकियो भने गोरखा फेरि पनि उदाहरणीय जिल्ला बन्न सक्छ । गोर्खाली जनताको एउटा विशेषता छ—उनीहरू सम्मान दिन जान्दछन्, तर अपमान सहेर बस्ने स्वभाव राख्दैनन् ।  उनीहरू स्पष्ट र इमानदार नेतृत्व चाहन्छन् । त्यसैले कुनै पनि नेताले जनताको मतलाई हल्का रूपमा लिनु हुँदैन । जनताको मत भनेको केवल चुनावी अंकगणित होइन, त्यो जनताको आत्मसम्मानको प्रतिनिधित्व पनि हो । सुधन गुरुङलाई गोर्खाली जनताको सन्देश स्पष्ट छ—गोरखालीको शिर सधैं उच्च राख्नुहोस् । जनताको मतलाई सम्मान गर्नुहोस् । राजनीतिलाई सेवा र जिम्मेवारीको मार्ग बनाउनुहोस् । यदि नेतृत्वले इमानदारी, पारदर्शिता र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्न सक्छ भने राजनीति प्रति जनताको विश्वास पनि पुनः स्थापित हुनेछ। त्यसले गोरखालाई मात्र होइन, सम्पूर्ण देशलाई सकारात्मक दिशा दिन सक्छ । ती अग्रज नेताहरूले देखाएको मार्गदर्शन आजको पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनेको छ । उनीहरूले राजनीतिको अर्थ केवल सत्ता प्राप्ति नभई समाजको परिवर्तन र न्यायको स्थापना हो भन्ने सन्देश दिएका थिए । यही कारणले गोरखाको राजनीति केवल शक्ति केन्द्रित राजनीति नभई विचार र चेतनामा आधारित राजनीति पनि रहँदै आएको छ । गोरखाको अर्को विशेषता भनेको यहाँबाट जन्मिएका अग्रज नेताहरूको योगदान हो । विभिन्न कालखण्डमा गोरखाबाट धेरै सक्षम, दूरदर्शी र प्रभावशाली नेताहरू उदाएका छन् । ती नेताहरूले केवल स्थानीय स्तरमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनीहरूले संघर्ष, समर्पण र नेतृत्वद्वारा देशलाई नयाँ दिशा दिन प्रयास गरेका थिए ।  ती अग्रज नेताहरूले देखाएको मार्गदर्शन आजको पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनेको छ । उनीहरूले राजनीतिको अर्थ केवल सत्ता प्राप्ति नभई समाजको परिवर्तन र न्यायको स्थापना हो भन्ने सन्देश दिएका थिए । यही कारणले गोरखाको राजनीति केवल शक्ति केन्द्रित राजनीति नभई विचार र चेतनामा आधारित राजनीति पनि रहँदै आएको छ । आजको समयमा पनि गोरखाको राजनीतिक चेतना उस्तै सक्रिय र सचेत रहेको देखिन्छ । यहाँका जनताले राजनीतिक घटनाक्रमलाई गहिरो रूपमा विश्लेषण गर्छन् र सही निर्णय लिन प्रयास गर्छन् ।  लोकतन्त्रमा जनताको चेतना नै सबैभन्दा ठूलो शक्ति हो । जब जनता सचेत हुन्छन्, तब राजनीति पनि जिम्मेवार बन्न बाध्य हुन्छ । यसै सन्दर्भमा गोरखाबाट उदाउँदै गरेका नयाँ नेतृत्वहरूबाट जनताले धेरै आशा राखेका छन् । नेतृत्व केवल पद प्राप्त गर्ने माध्यम होइन, समाजलाई सकारात्मक दिशा दिने जिम्मेवारी पनि हो । अन्ततः गोरखाली जनताको आशा यही हो—गोरखाको नाम सधैं सम्मानका साथ उच्च रहोस्, जनताको मत कहिल्यै अपमानित नहोस् र नेतृत्वले सधैं जनताको विश्वासलाई आफ्नो मार्गदर्शक बनाओस् । सुधन गुरुङलाई गोर्खाली जनताको यही शुभकामना छ—उनले आफ्नो राजनीतिक यात्रामा सधैं जनताको पक्षमा उभिन सकून्, गोरखाको गौरव अझ उज्यालो बनाऊन् र गोर्खाली जनताको विश्वासलाई कहिल्यै कमजोर हुन नदिऊन् ।