बजार बढ्न थालेपछि बैंकहरु धमाधम सेयर कर्जा दिदै

  २०७५ असोज ८ गते १२:५३     विकासन्युज

बुटवल । रुपन्देहीमा विकास बैंकले सेयर कर्जा प्रवाह गर्न थालेका छ । सेयर बजारमा सुधारका सङ्केत देखिन थालेपछि कर्जा माग गर्न लगानीकर्ता विभिन्न बैंकमा धाउन थालेका छन् ।बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित सहुलियत ब्याज दरमा सेयर कर्जाको योजना सार्वजनिक गरेको बेला मोफसलका बैंकले सानो आकारमा भए पनि सेयर बजारमा लगानी विस्तार गरेका छन् ।

 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सकिने प्रावधान छ ।राष्ट्र बैंकका अनुसार बैंकले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत सेयर धितोमा कर्जा उपलब्ध गराउन सक्छन् ।

कैलाश विकास बैंकले ‘कैलाश सेयर लोन योजना’ अघि सारेर लगानीकर्तालाई आकर्षित गर्ने योजना बनाएको छ । आवश्यक कागजात पेश गरेपछि सात दिनभित्रै कर्जा प्रवाह हुने बताइएको छ । बैंकले १२ प्रतिशतमा दिने गरी सेयर कर्जामा बजार मूल्यको ५० प्रतिशतसम्म एक वर्षका लागि ९० करोड रुपैयाँसम्म लगानी गर्नेछ । कैलाश विकासका क्षेत्रीय कार्यालय, बुटवलका प्रमुख कृष्ण अर्याल सेयर रजिष्ट्रारको कार्यालय बुटवल नभएका कारण ठूलो आकारमा सेयर कर्जा प्रवाह नभएको उल्लेख गर्दै कारोवार बुटवलमा कम भएको बताउछन् ।

उनले भने, “सेयर कारोवार गर्न आफै काठमाडौँ जानुपर्ने भएकाले लगानीकर्ताले झण्झट व्यहोरेको छैन ।” प्रमुख अर्यालले बुटवल र आसपासमा कम्तीमा २५ लाख सेयर कर्जा प्रवाह भएको जानकारी दिँदै यो लामो समय रहँदैन भने । साइन रेसुङ्गा बैंक, प्रधान कार्यालय बुटवलका नायब महाप्रबन्धक लोकराज पनेरुले राष्ट्र बैंकले तोकेको नियमानुसार साधरण सेयरको ५० प्रतिशत कर्जा प्रवाह भएको बताए । उनले सेयर कर्जाका लागि ९० प्रतिशत लगानीकर्ता काठमाडौँ धाउने गरेको उल्लेख गर्दै बुटवलमा ब्रोकर कम्पनी भर्खरै सञ्चालन भएकाले सेयर कर्जामा आकर्षण कम भएको तर्क गरे।

“हामीले पनि अन्य कर्जाजस्तै यसलाई प्राथमिकतामा राखेर लगानी गरेका छैनौँ,” उनले भने। अहिलेसम्म १० जनाले १० लाखदेखि २५ लाख रुपैयाँसम्म सेयर कर्जा लिएको जानकारी दिए । सो बैंकले दुई वर्षदेखि सेयर कर्जामा लगानी गरेको जनाएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जामा विशेष छुट दिएको छ । आवश्यक कागजात पेश गरेको दुई दिनमा नै सर्वसुलभ दरमा सेयर कर्जा उपलब्ध हुने जनाएको छ । राष्ट्र बैंकले लागू गरेको मौद्रिक नीतिमा सेयर धितोकर्जा ५० प्रतिशत तोकिएको छ ।

चालु आर्थिक वर्ष २०७५÷७६ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले शेयरको धितोमा प्रवाह गर्न ‘मार्जिन’ प्रकृतिको कर्जा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । यो व्यवस्थापछि बैंकले झण्डै १ खर्ब रुपैयाँसम्म मार्जिन कर्जा प्रवाह गर्ने क्षमता राख्छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.