एनएमबी बैंकको एफपीओमा ४२ संस्थागत लगानीकर्ताबाट १८ करोडको आवेदन, संचय कोषले किन्नला त ?

  २०७५ असार ६ गते १७:५७     विकासन्युज

काठमाडौं । संस्थागत लगानीकर्ताले एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खरिदका लागि कम दरखास्त दिएका छन् ।  हालसम्म बीमा कम्पनी, म्युचअल फण्ड र इन्भेष्टमेन्ट गरी ४२ कम्पनीले १८ करोड रुपैयाँ बराबरको एफपीओ खरिदका लागि आवेदन दिएका हुन् ।

हालसम्म नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ खरिद गर्न आवेदन दिएको बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए ।

उनकाअनुसार सानिमा म्युचअल फण्ड, एनआईबीएल म्युचअल फण्ड, लक्ष्मी म्युचअल फण्डले समेत एफपीओ किन्न आवेदन दिएका छन् । बीमा कम्पनी र म्युचअल फण्डले न्युनतम २५ हजारदेखि १ लाख कित्तासम्मका लागि आवेदन दिएको कार्कीले बताए । अझै केही बीमा कम्पनीले एफपीओ खरिद गर्ने उनले जानकारी दिए ।

कतिपयको सञ्चालक समितिबाट पारित गर्नुपर्ने भएकाले ढिलाइ भएको कार्कीको भनाई छ । यस्तै कर्मचारी संचय कोषको सञ्चालक समिति बैठक हुन बाँकी रहेको उनले सुनाए । यता कोषका प्रशासक तुल्सी गौतमले बैंकको एफपीओ खरिद गर्ने विषयमा छलफल नभएको बताए । धितोपत्र बोर्डले मंगलबार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकामा संशोधन गरेर अधिकतम् सीमा हटाएपछि बैंकले एफपीओ खरिदको अधिकतम सीमा बढाएर ५० लाख कित्ता पुर्याएको छ ।

आइतबारसम्म आईपीओ बिक्री नभएपछि सोमबारदेखि संस्थागत लगानीकर्तालाई खुला गरिएको हो । खुलेको सातौ दिन मंगलबारसम्म २ अर्ब २१ करोड रुपैयाँको आवेदन परेको छ । ५५ हजार ५०० आवेदकले आवेदकले ६६ लाख ३६ हजार ६३६ कित्तालाई आवेदन परेको कार्कीले जाकारी दिए । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ ।

बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो ।
बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.