जनरल इन्स्योरेन्स कम्पनी नेपालको सेवा आरम्भ, बीमा समिति सहभागी भएन

  २०७५ असार ६ गते ११:२९     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले कारोबार आरम्भ गरेको छ । कम्पनीले बुधबारदेखि केन्द्रिय कार्यालयबाट कारोबार आरम्भ गरेको हो । जनरल इन्स्योरेन्स कम्पनी नेपालले १८ औं नीर्जीवन बीमा कम्पनीका रुपमा सेवा आरम्भ गरेको हो ।
कम्पनीले आगामी आर्थिक बर्षभित्रै ४५ वटा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्य तय गरेको सञ्चालक समितिका अध्यक्ष कुनाल क्यालले जानकारी दिए ।

२०६४ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको जनरल इन्स्योरेन्स कम्पनी नेपालले ११ बर्षपछि लाइसेन्स पाएर सेवा आरम्भ गरेको हो । उतिबेलै २ बर्षसम्म कार्यालय भाडामा लगाएर सेवा सञ्चालनको सबै तयारी सम्पन्न गरेको जनरलले लाइसेन्स नपाएपछि कार्यालय बन्द गरेको थियो ।

कम्पनीका महाप्रबन्धक एसके तमोटले नागरिकमा बीमाको पहुँच अभिवृद्धि गर्ने, बीमा व्यवसायलाई स्वस्थ र प्रतिष्पर्धी बनाउने बताए । जनताको घर दैलोमा बीमा सेवा उपलब्ध गराउने उदेश्यमा कम्पनी अघि बढ्ने पनि महाप्रबन्धक तमोटले जानकारी दिए ।

कार्यक्रममा बीमा समितिबाट भने कसैले पनि सहभागीता जनाएनन् । ‘हामीले बीमा समितिका अध्यक्षलाई निम्ता गरेका थियौं, अध्यक्षज्यूले बिशेष कारण बस आफु सहभागी हुन नसक्ने जानकारी गराउनु भयो’, कम्पनीका महाप्रबन्धक तमोटले भने ।

कम्पनीले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईलाई प्रमुख अतिथीका रुपमा निम्तो गरेको थियो । तर कार्यक्रममा अध्यक्ष मात्रै नभएर समितिका कसैले पनि सहभागीता जनाएनन् । नयाँ खुलेका सबै जीवन बीमा कम्पनीको कारोबार आरम्भ कार्यक्रममा अध्यक्ष चापागाईसहित समितिका उपल्लो तहका कर्मचारीले सहभागीता जनाउँदै आएका थिए ।

एक कम्पनीको पोलिसी सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष देखि तल्लो तहका कर्मचारीले समेत सहभागी हुँदै आएका थिए । तर जनरल इन्स्योरेन्स कम्पनीको कारोबार आरम्भ कार्यक्रममा भने समितिबाट कसैले पनि सहभागीता नजनाएका हुन् । १८२ जना संस्थापक सेयरधनी रहेको कम्पनीमा क, ख र ग वर्गका वित्तिय संस्थाहरुको पनि लगानी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.