औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई अब सरकारले कारवाही गर्ने

  २०७५ असार ५ गते १९:२५     विकासन्युज

काठमाडौँ । उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई अब सरकारले कारवाही गर्ने भएको छ ।


विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो ।

विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको जानकारी दिए । “विभागमा दर्ता भएका उद्योग सञ्चालन भए/नभएको हेर्न विवरण अद्यावधिक गर्न लागेका हौँ’, उनले भने ।

उद्योग विभागअन्तर्गत दर्ता भएका करीब सात हजार ५०० उद्योगमध्ये के कति सञ्चालनमा आएका र के कति सञ्चालनमा आएका छैनन् भन्ने बारेमा सूचना प्रकाशित गरेर विवरण अद्यावधिक गर्न लागेको भुसालको भनाइ छ ।

उनको अनुसार उद्योगको नाम, उद्योग रहेको स्थान, सम्पर्क व्यक्ति, उद्योग दर्ता नं र मिति, उद्योग सञ्चालन भएको मिति, उद्योग सञ्चालनको अवधि, कूल लगानी, विदेशी लगानी, रोजगार मजदूर, कच्चा पदार्थको प्रयोगलगायतका विषयवस्तु विवरणका साथ उद्योगले उपलब्ध गराउनुपर्ने हुन्छ ।

औद्योगिक व्यवसाय ऐनको दफा १२ ले उद्योगले तोकेको विवरण उद्योग दर्ता गर्ने निकायसमक्ष पेश गर्नुपर्ने प्रावधान रहेअनुसार विवरण पेश गर्नका लागि विभागले आग्रह गरेको हो । क्षमता र उत्पादनका आधारमा तोकिएको विवरण पेश नगर्ने उद्योगपतिलाई औद्योगिक व्यवसाय ऐनको दफा ४१ बमोजिम कारवाही गर्ने विभागले जनाएको छ ।

उद्योग विभागबाट हाल रु १० करोडभन्दा कम विदेशी लगानीका साना उद्योग, रु १० देखि २५ करोडसम्मका मझौला उद्योग र रु २५ करोडभन्दा बढी लगानीका ठूला उद्योग दर्ता हुँदै आएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.