जागिरे र फुर्सद नुहुनेलाई घरमै बसेर डीग्रीको व्यवस्था, एक नम्बर विश्वविद्यालय बनाउने छौं : प्रा.डा लेखनाथ शर्मा

२०७५ वैशाख २४ गते १२:३० विकासन्युज

विश्वमा ३० वर्षअघि सञ्चालनमा आएको खुला विश्वविद्यालय नेपालमा गत वर्षदेखि शुरू हुँदै छ । यो वर्षदेखि विभिन्न संकायमा स्नातकोत्तरदेखि एमफीलसम्मको अध्ययन शुरू भएको छ । विश्वविद्यालयले नयाँ विषय अध्यापन शुरू गरेको छ, जुन कुरा अन्य विश्वविद्यालयमा छैन। विश्वविद्यालयमा नयाँ ढंगबाट अध्ययन र अध्यापन हुने भएकाले घरमै बसेर अध्ययन गर्न सकिने सुविधा छ । यसबाट धेरै विद्यार्थी लाभान्वित हुने देखिएको छ । खुला विश्वविद्यालय सञ्चालनका लागि गैरआवासिय नेपाली डा. प्रमोद ढकालको पनि योगदान रहेको छ । खुला विश्वविद्यालयको सञ्चालन र भावी योजनामा केन्द्रीत भएर उपकुलपति प्रा.डा लेखनाथ शर्मासंग विकास न्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप:

प्रा.डा लेखनाथ शर्मा, उपकुलपति, खुला विश्वविद्यालय

खुला र अन्य विश्वविद्यालयमा के फरक छ ?

खुला शिक्षा र दर्शनको आधारमा सञ्चालन हुने विश्वविद्यालय नै खुला हो । खुला शिक्षा भन्ने वित्तिकै निजी जस्तै भर्ना हुने र परीक्षामा सामेल भएर प्रमाणपत्र पाउने जस्तै हो भन्ने जनमानसको बुझाई रहेकाे छ । हामीले गरेको अन्तक्रियामा सबैले यसै भने । खुला शिक्षा भन्दा पनि अहिले दुरशिक्षा हो । खुला भनेको कुनै पनि प्रमाणपत्र विना शिक्षा हासिल गर्नु हो । पढ्दै पढ्दै गएर उच्च शिक्षा हासिल गर्न मिल्ने किसिमको शिक्षा नै खुला शिक्षा हो । हामीले अहिले नै त्यसो गरियो भने आम जनमानसले कसरी प्रभाबकारी हुन्छ भनेर प्रश्न गर्छन् । अहिले हामी खुला भन्दा पनि दुरशिक्षाको दर्शन र विधिमा छौँ । हामीसँग स्रोत र साधन पनि कमी छ । पछि गएर खुला किसिमको शिक्षाको विकास हुनेछ ।

परम्परागत विश्वविद्यालयमा शिक्षक र विद्यार्थीबीच निश्चित समयमा निश्चित स्थानमा, निश्चित विषयमा पठ्नपाठ्न हुन्छ । तर खुला विश्वविद्यालयमा मुडल मार्फत शिक्षक र विद्यार्थीबीच निश्चित समय हुदैन, निश्चित स्थान पनि हुदैन, निश्चित विषयको मात्र छलफल हुदैन । यस विश्वविद्यालयमा विद्यार्थीलाई मुडलको युजर आईडी दिएको हुन्छ । अन्य विश्वविद्यालयभन्दा फरक व्यवस्था छ । शिक्षामन्त्री कुलपति हुने व्यवस्था छ । अरू विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुन्छन् । अरू विश्वविद्यालयको जस्तो सेवा आयोगको व्यवस्था यहाँ छैन, शिक्षाअध्यक्षको काम उपकुलपतिले गर्ने व्यवस्था छ । प्राज्ञिक परिषद्को अध्यक्ष उपकुलपति र आर्थिक प्रशासनिक काम कुलसचिव (रजिस्ट्रार)ले गर्छन् ।

खुला विश्वविद्यालयमा विद्यार्थीले कसरी अध्ययन गर्नेछन् ?

मुडलको युजर आईडीमा जुनसुकै स्थानमा रहेर पनि आफ्नो अनुकुलता अनुसार बुझ्न सकिन्छ । नबुझेका कुरा विद्यार्थीले पढाई भैरहेको बेला मुडलमार्फत प्रश्न गर्न सक्छ । गरेका प्रश्नको उत्तर दिन सक्ने कोही छ भनेर सोध्छौ । तर त्यसको उत्तर राम्रो आएन भने शिक्षकले नै प्रश्नको उत्तर दिने छन् । हामीले कुनै पनि विषयको पढाई हुनु भन्दा पहिले नै यो दिन यो विषयको यो शिक्षकले पढाउने छन् भनेर मुडलमा जानकारी हालेका हुन्छाैँ र विद्यार्थी त्यो समयमा आउन सकेन भने पनि उसले त्यो सामाग्री पछि मुडलमा हेर्न सक्छन् र नबुझेका प्रश्न गर्न सक्छन् । त्यसको उत्तर हामीले जति सक्दो चाडो दिने छौँ।

मुडल भनेको यस्तो चौतारी हो कि त्यसैभित्र शिक्षकले कसरी पढाउने, के विषयमा पढाउने, विद्यार्थीलार्इ कस्तो खालको असाइन्मेट दिने र यो हप्ता तपाईले यो यो कुरा सिक्नु हुने छ, र यसरी सिक्न सकिने छ भनेर नै लेखिएको हुन्छ । मुडल भित्र पनि छलफल गर्नका लागि फोरमहरु हुन्छ । पहिले यहाँ बसेर पढाएको सात वटै प्रदेशमा र विद्यार्थीले प्रयोग गरेको मोवाईल वा अन्य सामाग्रीबाट विद्यार्थीको र शिक्षकबीच मुडल मार्फत प्रत्यक्ष कुराकानी हुन्छ ।

परीक्षा कसरी सञ्चालन हुन्छ ?

विद्यार्थी प्रदेशको कार्यलयहरुमा आएर बेला बेलामा असाइन्मेटहरु गरिरहन पर्छ । हामीले कुनै बेला कुन विद्यालयमा पठ्नपाठन कसरी भएको छ । र, त्यहाँ कसरी हुनुपर्छ विद्यालयलाई सुझाव दिनु होला भनेर हामीले भन्छाै र हामीलाई उहाँहरुले बुझाउन हुन्छ वा मुडलमा पढाउनु हुन्छ । हाम्रो परीक्षा यस विश्वविद्यालयले तोकेको केन्द्रहरुमा अन्य विश्वविद्यालयको जसरी नै सञ्चालन हुन्छ ।

अहिले हामीले ९०० विद्यार्थीहरुलाई प्रवेश परीक्षामा सामेल गरेका छौ । पहिले यस विश्वविद्यालय कसरी आउछन् भनेर धेरैले प्रश्न गर्थे । अहिले विद्यार्थी आएर सबै जना दंग परेका छन् । देशैभरीका वा सातै प्रदेशकाले यसलाई आवश्यक ठानेर आएका छन् । हामीले प्रदेशमा नै विद्यार्थीको चाप हेरेर प्रवेश परीक्षाको व्यवस्था मिलाएका छौँ ।

नेपालमा धेरै विश्वविद्यालयहरु हुँदाहुँदै किन चाहियो खुला विश्वविद्यालय ?

नेपालमा पढाईबाट बञ्चित भएकालाई समावेस गराउन यो विश्वविद्यालय आएको हो । सबै विश्वविद्यालय सहर केन्द्रीत भए । पेसा ब्यवसायी वा काम गरेर पढ्ने विद्यार्थीहरुले पढ्न पाएनन् । पैसा हुनेहरुले मात्र शिक्षा हासिल गर्ने ब्यवस्थाको पनि यसले अन्त्य गर्छ । कुनै एकजना ब्यक्ति पढ्नका लागि कोठा लिएर बस्याे भने उसका लागि कोठा भाडा, क्याम्पसको शुल्क र क्याम्पस जाने समय लगाएतका कुराहरु बचत हुन्छ ।

विद्यार्थीले गरेको काम सँगसगै पढार्इ पनि अगाडि बढाउन सक्छ । त्यसैले पनि सबै शिक्षाको पहुचमा आउनेछन् । धेरै शुल्क तिर्न नसक्नेलाई सस्तो शुल्कमा डिग्री, काम गर्दै पढ्दै गरेर उच्च शिक्षा लिन सकिने, देशबाहिर लाखौँ मानिस छन्, जसले उच्च शिक्षाको चाहना राखेका हुन्छन्, विदेशमै बसेर उनीहरूले पढ्न सक्नेछन्, गृहिणीले घरमै बसेर अध्ययन गर्न सक्नेछन्, पहिले बीचमै पढाइ छाडेका र अहिले निरन्तरता दिन चाहनेले घरमै बसीबसी अध्ययन पूरा गर्न सक्ने भएकाले यो विश्वविद्यालको स्थापना भएको हो ।

आउँदा दिनमा विश्वविद्यालयका लागि चुनाैती के छन् ?

विद्याथीले यो कस्तो खालको शिक्षा हो कसरी पढाई हुन्छ भनेर राम्रोसँग बुझेका छैन। हामी निजी घर भडामा लिएर बसेका छौ । राम्रो अन्य विश्वविद्यलय भन्दा स्थापना कालमा केही धेरै खर्च लाग्छ । हामीले बनाएका आइटीहरु सपोर्ट गर्छ कि गर्दैन भन्ने कुरा पनि छ । गरेन भने फेरी त्यसलाई बनाउनु पर्यो ।

अन्य विश्वविद्यालयहरु भन्दा यो विलकुलै फरक छ । यसमा अनलाईन मार्फत सामाग्री बनाउने र मुडलमा पनि राख्न पर्ने हुन्छ । यो नेपालको लागि आफैमा नयाँ हो । सरकाले पनि कति पैसा दिन्छ भन्ने पनि एकिन छैन । हामीले अनुमान गरेर शुल्क निधारण गरेका छौ । हामीले अनुमान गरेको भन्दा कम रकम आयो भने पनि हामीले त मिलाएर सञ्चालन गर्नै पर्यो ।

धेरैले खुला विश्वविद्यालय महंगो भयो भनेका छन् नि, यहाँ के भन्नुहुन्छ ?

परम्परागत विश्वविद्यालयहरुमा भन्दा खुला विश्वविद्यालय मंहगो छैन । सबै सिकाईका सामाग्रीहरु सुरक्षित राख्न पर्यो । अन्य विश्वविद्यालयमा जस्तो विद्यार्थीलाई यसो गर भनेर भएन। विद्यार्थीका लागि चाहिने सामाग्री निर्माण पनि यसमा महंगो पर्न जान्छ । समयअनुसार कोर्ष पनि परिवर्तन गरिरहन पर्यो । हामीले अहिले जम्मा लाग्ने खर्चको ४० प्रतिशत मात्र विद्यार्थीसँग उठाउन लागेको हो ।

एउटा विद्यार्थीलाई उसको मागअनुसार भर्ना भएको समयले १ देखि ५ वर्ष सम्म आफ्नो अनकुलता हेरेर म यति समय भित्र पास गर्छु भन्न पनि सक्छ । एउटै विद्यार्थीलाई ५ वर्ष सम्म हेर्दा विश्वविद्यालयले तोकेको तलब दिनै पर्यो । हामीलाई विद्यार्थीसँग धेरै लिएर हामीलाई कुनै फाईदा गर्ने भन्ने छैन । सरकारले यो विश्वविद्यालयमा बजेट पुग्ने गरी दियो भने हामी विद्यार्थीलाई निःशुल्क पढाउछाैँ ।

विद्यार्थीलाई दुई पटक किन पिट्ने पहिलो पटक पढ्न पाएन र दोस्रो पटक पढ्न पाए पनि गुणस्तरीय भएन भने त्यो विद्यार्थीले दोहोरो पिटाई खायो त ? हाम्रो संविधानमा पनि उच्च शिक्षा निःशुल्क पनि भनेको छैन । त्यसैले पनि विद्यार्थीहरुलाई दिने शिक्षाको गुणस्तरका आधारमा लाग्ने शुल्क लिनै पर्यो । जहिले पनि अनुसन्धानको समयमा जुनसुकै चिज पनि मंहगो हुन्छ । हामी पनि त्यहि फेजमा भएर मंहगो जस्तो देखिएको हो । तर यो मंहगो छैन ।

खुला विश्वविद्यालय नयाँ विषय पढेकाहरुले के अवसर पाउँछन् ?

हामीले उत्पादन गरेका विद्यार्थीहरु सहरमा गएर कोठा लिएर अरु काम सबै छाडेर पढ्न पर्ने बाध्यता हटेर काम,व्यापारव्यवासाय सञ्चालन गर्दै पढ्ने वातावरण नै पहिलो अवसर हो । दक्षता, क्षमता पनि बृद्धि हुँदै जान्छ र गरिरहेको काममा पनि पोस्टीङ हुन्छ । पेशा परिवर्तन गर्नका लागि पनि हाम्रो शिक्षाले सहयोग गर्छ । प्राविधिक, बजार र कामको क्षेत्रलाई पनि मिल्ने किसिमको शिक्षा प्रधान गर्ने हो । यस किसिमको शिक्षाले रोजगारीमा जान र आफैले रोजगारी सिर्जना गर्ने सक्ने हुन्छ ।

खुला विश्वविद्यालयलाई समाजले सामाजिक मान्यता दिन्छ कि दिँदैन ? अन्य देशमा के छ ?

नेपाल खुला विश्वविद्यालय भनेको सरकारी विश्वविद्यालय हो । हामी अन्तरक्रियामा जाँदा पनि सबैले सोधेको यो प्रश्न हो । नेपाल सरकारले ऐन बनाएर त्यहि ऐन अन्तर्गतको संगठन हो । सरकाले नै बनाएको संबैधानिक संस्था हो । सामाजिक रुपमा खुला विश्वविद्यालयले मान्यता पाउँछ कि पाउँदैन भने प्रश्न हो ।

हामीले दिएको शिक्षा, सञ्चालमा ल्याएको पाठ्यक्रम र दिएको ज्ञानले काम गरेन वा बजारमा बिकेन भने सामाजिक रुपमा मान्यता नपाएको भन्ने पाटोको कुरा रहला तर अक्सफोर्ड, क्याब्रिज जस्ता विश्वविद्यालयहरुले पनि गुणस्तरीय शिक्षा दिएर सामाजिक मान्यता पाएका हुन । राम्रो बनाउने र राम्रो शिक्षा दिने दायित्व हाम्रो हो । त्यो भैसके पछि हाम्रो शिक्षा विश्व बजारमा बिक्छ ।

अन्य देशको तुलनामा हामी धेरै पछाडी छौ । सबैभन्दा पहिला खुला विश्वविद्यालय बेलायतबाट शुरु भएको थियो । ३० वर्ष अगाडी छिमेकी देशहरु भारतमा इन्दिरा गान्धी र चीनमा रेडियो टेलिभिजन खुला विश्वविद्यालयहरु सञ्चालमा आएका थियो । बंगलादेश, पाकिस्तान र कोरिया लगाएतका ६० भन्दा धेरै देशमा खुला विश्वविद्यालय सञ्चालन भैरहेको छ ।

अब परम्परागत शिक्षा प्रणालीबाट खुला शिक्षा प्रणालीमा जान्छ ?

अब विस्तारै बन्द कोठा भित्र बसेर हुने पठनपाठन घट्दै जान्छ । विश्व नै प्रविधिको विकासलाई पछ्याइ रहेको छ । विश्व बजारमा मानिसले गर्ने कामलाई व्यवस्थित गर्दै कलकारखाना, अस्पताल र होटेल लगाएतका ठाँउमा रोवटको प्रयोग भैसकेको छ । हामी पनि मानिसको जनजीवनसँग जोडिएका कोर्ष ल्याएर अब लिएको शिक्षा पुर्णरुपमा व्यवहारमा लागु गराैँ भनेर खुला विश्वविद्यालयको अभ्यासमा आएको हो ।

कुन कुन विषयको पढाई हुन्छ खुला विश्वविद्यालयमा ?

विश्वविद्यालयले अध्यापन गर्न लागेको ४ वटा विषय नेपालका लागि नयाँ हो । विश्वविद्यालयले लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ई-लर्निङ, मास्टर एण्ड ई-गर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गर्न लागेको छ । अहिले सामाजिकशास्त्र तथा शिक्षामा चार विषय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा दुई विषयको पढई शुरु हुन लागेको छ । आगामी शैक्षिक सत्रमा व्यवस्थापन तथा कानुन संकायमा ७ वटा विषय सञ्चालमा आउँदै छन् । पछि पछि शैक्षिक कार्यक्रम थपिदै जाने छन् ।