साँग्रीला ग्रुपले पोखरामा दोस्रो नयाँ रिसोर्ट बनाउदै, १ वर्षमा सञ्चालनमा ल्याउने

  २०७४ चैत २८ गते ९:१४     विकासन्युज

काठमाडौं । साँग्रीला ग्रुपले पोखरामा दोस्रो नयाँ होटल निर्माण थालेको छ । पोखरा लेखनाथ महानगरपालिकाको ३१ स्थित वेगनासमा ५० वेडको साँग्रीला रिसोर्टको निर्माण सुरु भएको हो ।

होटल आगामी १ वर्षमा सञ्चालनमा ल्याउने गरी निर्माण सुरु भएको साँग्रीलाले जनाएको छ । रिसोर्ट निर्माण तथा सञ्चालनबाट भौतिक, जैविक, साँस्कृतिक, सामाजिक र वातावरणीय प्रभाव मूल्याँकनको काम थालेको छ । यस्तै यसअघि सञ्चालनमा आएको साँग्रीला भिलेज रिसोर्टको पनि वातावरणीय प्रभाव मूल्याँकनको काम थालेको छ ।

काठमाडौंमा रहेको ५ ताँरे साँग्रीला होटलपछि सन् १९९६ मा पोखरामा साँग्रीला भिलेज रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले वेगनासमा अर्को रिसोर्ट सञ्चालनको तयारी थालेको हो । पर्यटकीय नगरी पोखरामा विदेशीको चाप बढेपछि होटल निर्माण गर्ने क्रम बढेको छ ।

यस्तै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा १ अर्ब ८० करोड रुपैयाँ लागतमा ५ तारे सेन्चुरी होटल निर्माण सुरु भएको छ ।विराटनगर महानगर पालिकाको वडा न ६ मा रहने होटलमा १०८ कोठा रहने छ । होटल आउदो १ वर्षमा सञ्चालनमा ल्याउने तयारी छ ।

पछिल्लो समयमा होटल खोल्ने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको होटल क्षेत्रमा लगानी १८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको माघसम्म होटल क्षेत्रमा ९ अर्ब १४ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । हालसम्म होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँ लगानी गरेका छन् ।

राजधानीमा रहेका अपार्टमेन्ट बिक्री नभएपछि केही हाउजिङ कम्पनीले त्यसलाई होटलमा परिणत गर्न लागेका छन् । सिभिल समूहले निर्माण गरेका केही हाउजिङ योजना होटलमा परिणतको तयारी सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.