यसरी बनाउन सकिन्छ विराटनगर-धनकुटा-भेडेटार मोनोरेल-डा होमनाथ चालिसे

  २०७४ चैत २० गते २०:०६     डा होमनाथ चालिसे

प्रदेश नं १ तुलनात्मक रुपमा पर्यटन व्यवसायको लागि धेरै राम्रो गन्तव्य हो । यो प्रदेशको तराइ भूभाग एवं पहाडी भूभाग सबै हराभरा र रमाइलो छ । तराईदेखि पहाडसम्मनै यातायातको सञ्जाल राम्रै बिस्तार भएको छ । तेस्तै धार्मिक पर्यटनको लागि त झनै प्रशिद्ध छ । यो प्रदेश पूर्वतर्फ दार्जलिङ्ग र दक्षिणमा बङ्गाल, र बिहारसंग जोडिएको छ । स्थलमार्ग भएर पूर्वबाट नेपाल प्रवेश चाहने तेस्रो मुलुकका पर्यटकका लागि काकडभित्ता प्रवेशद्वार हो ।

यो प्रदेश जलस्रोतमा पनि धनी छ । यहाको नदी नालाबाट ठूलो मात्रामा बिजुली निकाल्न सकिने सम्भाबना छ र यो दिशामा काम पनि अगाडी बढी रहेको देखिन्छ । यो प्रदेश नगदे बाली को लागि पनि प्रशिद्ध छ । चिया, अलैची, अदुवा, अम्रिशोको लागि यहाको पहाडी धरातलीय भूभाग उपयुक्त छ ।

भेडेटार

भेडेटार बजार क्षेत्र पूर्वाञ्चलको रमणीय स्थलको रूपमा प्रख्यात छ । भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा अवस्थित भएकोले मानिसहरू तराईको गर्मीबाट बच्न चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न आउने गर्दछन । उच्च पहाडमा रहेको बाह्रैमास चिसो हावा बहने हुनाले यहाँ गर्मी मौसममा शीतल हावा खान र जाडो मौसममा पिकनिकको लागि आउने मानिसहरूको भीड लाग्दछ । यहाँको चिसो हावापानी र मनोरम प्राकृतिक दृश्य अवलोकनका लागि तराई क्षेत्र र भारतका गर्मी ठाउँहरूबाट पनि मानिसहरू आउने गर्दछन् ।

भेडेटारको शिरमा शैलुङ्गडाँडा नामक एउटा अग्लो चुचुरो छ । २०३८ सालमा वेलायतका युवराज चाल्र्स शैलुङ्गडाँडाको टुप्पोमा चढ्नु भएको हुदाँ यस डाँडालाई चाल्र्स प्वाइन्ट नामकरण गरिएको हो । चाल्र्स प्वाइन्टको संरक्षण तथा पर्यटकको सुविधालाई ध्यानमा राखी जिल्ला विकास समिति धनकुटाबाट डाँडाको टुप्पोसम्म पुग्ने सिंढी निर्माण पुरा भएको छ र दृश्य अवलोकन टावर निर्माण भइरहेको छ ।

भेडेटारको मुख्य विशेषता भनेकै घाम र बादलको लुकामारी हो । छिनछिनमा मौसम परिवर्तन हुने विषेशता रहेको भेडेटारमा पाँचवटा ठूला सेमिनर हल सहितका ३५ वटा सुविधा सम्पन्न होटल खुलेका छन । त्यसैगरी निकट भविष्यमा सञ्चालनमा आउने तयारीमा १० वटा तारे होटल निर्माणधीन अवस्थामा छन । भेडेटारमा दैनिक दुई हजारदेखि २५ सयको संख्यामा पर्यटन घुम्न आउने गरेका छन । घुम्न आउने कुल पर्यटकको संख्याको ४० प्रतिशत भारतीय हुने गरेको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी घुम्न रुचाउने पर्यटकीय गन्तव्यका रुपमा भेडेटारलाई लिन थालिएको छ ।

भारतबाट नजिकै

भेडेटार भारतीय नाका बिहारको जोगबनीबाट झन्डै ६७ किमीको दुरीमा रहेको छ । बिहारको जनसंख्या झन्डै १० करोड छ जुन नेपालको भन्दा साढे तीन गुणा बढी हो । नेपाल को भू–बनोटको कारणले नेपालको अन्य भागबाट भेडेटार पुग्नु भन्दा बिहारको विभिन्न भागबाट छिटो एवं सस्तो किसिमले भेडेटार पुग्न सकिन्छ । उत्तरी बिहारमा बस्नेहरुले बास्तबमै भेडेटारको सौन्दर्यबाट लाभान्वित हुने मौका उठाउने सम्भाबना बढी छ । यसको लागि नेपालको पर्यटन बोर्ड, १ नं प्रदेश एवं स्थानीय निकायहरु, पर्यटन व्यवसायीहरुले त्यही किसिमले यो क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकाशमा जोड दिनुपर्नेछ । सबै कुरा अनुकुल भएको अबस्थामा वार्षिक लाखौ बिहारीहरूले भेडेटार तथा नेपालको हिमालयको दृष्याबलोकन गरी आनन्द लिन सक्ने छन ।

कसरी लाखौ पर्यटन भारतबाट आउन सम्भब छ त ?

भेडेटार भारतको उत्तरप्रदेश, बिहार र पश्चिम बङ्गालबाट नजिकै पर्दछ । अहिले उत्तरप्रदेशको जनसंख्या २० करोड, बिहारको १० करोड र पश्चिम बंगालको जनसंख्या ९ करोड छ । बिहारबाट एक दिनको समयमै पनि भेडेटार १–२ घण्टा घुमेर मज्जाले फर्किन सकिन्छ । यस्तो अवस्थामा यी छिमेकी मुलुकका सीमाबर्ती जिल्लाबाट गर्मीको समयमा दिनहुँ हजारौ पर्यटक भेडेटार आएर यहाको छिनछिनमा बदलिने मौसमको आनन्द लिन सक्ने देखिन्छ ।

जोगबनी हुदै भेडेटार पुग्ने क्रममा विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र धरान नगरपालिका पार गरेपछि मात्रै भेडेटार पुगिन्छ । तसर्थ भारतबाट वार्षिक लाखौ पर्यटक भित्र्याउने कार्यको लागि यी तिनवटै नगरपालिकाले भेडेटारसंग समन्वय गरेर कार्य गर्नु आवश्यक छ । विराटनगरबाट सिधै भेडेटारसम्म पुग्नको लागि यातायातको राम्रो व्यबस्था गरिनु आवष्यक छ । यसको लागि नया पूर्वाधार निर्माणमा पनि केन्द्र सरकार र स्थानीय सरकार मिलेर काम गर्नु आबश्यक छ ।

विराटनगर–भेडेटार मोनोरेल

मोनोरेल बिजुलीबाट चल्छ । यो बस भन्दा केही ठूलो र डिब्वा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बीमको सहारामा एउटै ट्रयाकमा यो रेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेल वातावरणमैत्री मानिन्छ । वायु र ध्वनी प्रदुषण कम हुन्छ । नागरिकको स्वास्थ्यमै सुधार आउँछ । डिब्वाको संख्या अनुसार ५० देखि ४ सयजना सम्म एकैपटक यात्रा गर्न सक्छन् ।

मोनोरेलको निर्माण गर्न केहि महँगो पर्नसक्छ । एउटा अध्ययनले एक किमी मोनोरेलको निर्माण गर्न झन्डै २ देखि ३ अरब रुपैयाँ लाग्ने देखाएको छ । यो हिसाबले विराटनगरदेखि धरानसम्म समथर जमिन भएको ४६ किमीमा प्रति किमी २ अरब ले हिसाब गर्दा झन्डै एक खरब रुपैयाँ लाग्ने देखिन्छ । धरानदेखि भेडेटारसम्मको उकालो र घुमाउरो १६ किमी बाटोमा झन्डै आधा खरब गरी मोटामोटी झन्डै एक खरब पचास अरब रुपैयाँ लाग्ने देखिन्छ । धरानदेखि भेडेटारको घुमाउरो बाटोमा सिधै ठाडो किसिमले मोनोरेल चलाउन सकेमा यो दूरी अझ कम भई झन कम लागतमा बनाउन सकिने सम्भावना पनि छ । यो मोटामोटी अनुमान मात्र हो, कति खर्च लाग्ला भन्ने कुरा त बिस्तृत अध्यन प्रतिबेदन तयार गरेपछि मात्र थाहा हुन्छ ।

के यो सम्भब छ त ?

यस्तो किसिमको पूर्वाधार विकासमा राज्यले दीर्घकालिन सोच राखेर कार्य गर्नुपर्छ । भेडेटार पुगेका व्यक्तिको एक दिन बसाइ लम्ब्याउन हिले, तीनजुरे मिल्के र जल्जलेमा समेत पुर्याउने सोच राख्नुपर्छ । यहि किसिमले भेडेटारदेखि धनकुटा, हिले र त्यो भन्दा उत्तरतिरको बाटोको विकास हुनु जरुरी छ ।

यो करिडोर विकाश दीर्घकालिन रणनीतिक उद्देश्यले ध्यान दिनुपर्ने र यसका प्रमुख साझेदार बिराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, धरान नगरपालिका र भेडेटार हुन् । यसका अतिरिक्त धनकुटा नगरपालिकालाई पनि सहभागी बनाउन सकिन्छ । यिनीहरुले नै नमुनाको रुपमा यो करिडोर र पर्यटकिय विकासको लागि बिशेष पहल गर्नु आबश्यक छ ।

यसको लागि यी माथि उल्लेखित स्थानीय निकायहरुको सहभागितामा एउटा पब्लिक कम्पनी खोल्न सकिन्छ । तीन वर्षको लागि सबैले बजेट छुट्टाउने अथवा सफ्टलोनको लागि दातृनिकायसंग, नेपाल सरकारलाई अनुरोध गर्ने, निजी क्षेत्रलाई पनि सहभागी बनाउने, नेपाल सरकारले अगाडी सारेको पब्लिक प्राइभेट पार्टनरशिप मोडालिटी र सर्बसाधारणलाई सेयर निस्कासन गर्न सकिन्छ । सर्बसाधारणलाई सेयर निष्काशन गर्दा राज्यले दिने रकम अनुदानमा परिणत हुने गरी नाफामा जाने प्रत्याभूति गरिनुपर्छ । यदि यो मोडालिटीमा यस परियोजना बनाउने सकेमा विकास निर्माणमा नेपालमा यो एउटा नयाँ प्रयोग गर्नसक्छ ।

मोनोरेलको विकासले बिहारदेखि भेडेटारसम्म जाने भारतीय पर्यटकलाई सहज मात्र बनाउने होइन, यसले दिन प्रतिदिन तेहा घुम्न आउने पर्यटकको संख्यामा पनि धेरै वृद्धि हुन्छ । यो सँगै भेडेटारको सुन्दरतामा कमि नआवोस भन्नको लागि अहिले देखि नै गुरु योजना बनाई जथाभाबी घर बनाउने कार्यलाई निरुत्साहित गर्ने, खुल्ला जमिनलाई बचाएर राख्ने र रात बिताउन चाहने पाहुनाहरुका लागि स्तरीय होटलमा लगानी बढाउनु आबस्यक छ । यसका अतिरिक्त त्यस क्षेत्रमा बस्ने जात जातीहरुको सास्कृतिक पक्षलाई पनि संरक्षण र सम्वद्र्धन गर्नु आवस्यक छ ।

(डा चालिसे जीवन विकास समाजको अनुसन्धान संयोजक तथा नेपाल जनसंख्या संघको उपाध्यक्ष छन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.