३६ हजार एनजीओ मासेर ५ हजार उद्योग खोलौं

  २०७४ माघ १७ गते १४:२७     हरिभक्त शर्मा

हरिभक्त शर्मा

अहिले राजनैतिक दलहरुको काँधमा ठूलो जिम्मेवारी आएको छ । दलहरुले जनतालाई समृद्धिको मार्गमा हिडाउँछौ, आर्थिक समृद्धि दिन्छौँ भनेर आश्वस्त पार्न खोजिरहेका छन् । अब बन्ने सरकारलाई अर्थतन्त्र चलाउन त्यति सहज छैन । प्रशासनिक संरचनाहरु बढेकाले खर्च पुर्याउन धेरै चुनौतिहरु छन् ।

हामीले समयमै चुनौतिलाई सामना गर्न तयारी गर्यर्यौ भने सम्भवत् हामी अहिलेकोभन्दा ठूलो चुनौतिहरुलाई समेत अवसरको रुपमा प्रयोग गर्न सक्छौं । त्यसकारण नेपाल केमा चुक्यो मूल्याङ्कन गर्ने समय आएको छ ।

मलाई लाग्छ हामी नेपालमा आयात गरेर मात्रै खाने नीति बनाएकोमा चुकेका छौं । हाम्रो देशमा २०१२ साल, २०१८ सालको कानुन लाग्छ । म जन्मनुभन्दा पहिलेको कानुन लाग्छ । हालसम्म चारवटा संबिधान बने ती पुराना नीति र कानुनहरु संसोधन भएनन् ।

अबको पहिलो प्राथमिकता सरकारले लगानी योग्य वातावरण बनाउने, नेपालीले नेपालमै काम गरेर खाने परिस्थितिको सृजना गर्ने हो । नेपालीहरुले आफुसंग भएको पैसा एनआरएन भएर विदेश लगेर फेरी नेपालमै ल्याउने होइन, नेपालमै लगानी तथा उपयोग गर्ने हो ।

अब बन्ने सरकारले नेपालमै रोजगारीको अबसर सृजना गरेर देश समृद्ध बनाउने नीतिमा परिवर्तन गर्ने हामीले आशा गरेका छौं । म अत्यन्त अभिलाशाका साथ निजी उद्योग नेपाली जनताको तर्फबाट अब बन्ने सरकारलाई अनुरोध गर्दछु ।

संसारमा यति धेरै प्रविधिको विकास भएको छ । म हाम्रो फ्याक्ट्रीभित्र हामी कसरी औषधिको विकास गर्छौ ? कसरी औषधिको गुणस्तर व्यवस्थापन गछौं ? कुनैबेला समय मिलेको अबसरमा हाम्रो औषधि प्लान्टको भ्रमण राजनैतिक दलका शीर्षनेताहरुलाई गराउन चाहन्छौं । प्रविधिहरु कसरी संयोजन गर्न सकिन्छ ? नेपालमा हामी आफै काम गरेर कसरी खाने वातावरण बनाउन सकिन्छ ? व्यवसायको समृद्धिलाई राष्ट्रको समृद्धिसँग गाँस्न सकिन्छ भन्ने देखाउन चाहन्छौं ।

तमाम नीति निर्माताहरुलाई हाम्रो फ्याक्ट्रीमा एक पटक आएर अध्ययन गरेर यसबाट निस्किने सुझाबहरुलाई नेपालका सबै क्षेत्रमा लागु गर्न आवश्यक रहेको ठान्दछु । औषधि मात्र बनाएर पुग्दैन । धेरै कुरा गर्नु छ । प्रविधि तथा कृषिको क्षेत्रमा । प्रविधिको समायोजनमार्फत संसारमा अभूतपूर्व परिवर्तन भइरहेको छ । चौथो इण्डस्ट्रीयल रिभोलुशन आएको छ भनेर धेरै विद्धानहरुले भनिरहेका छन् । आइटीले गर्ने काम हाम्रो हातहातमा मोबाईलमार्फत हुदैछ । म कहाँ उभ्भिएको छु भनेर, अमेरीकामा बसेको मान्छेले चाह्यो भने स्याटालाईटमार्फत हेर्न सक्छन् । हामी त्यस्तो परिवर्तनको संघारमा आएका छौं जुन २ सय बर्षपछि सम्भवत् पहिलो पटक प्राप्त भएको हो ।

संघियतामा देश गएको छ । जनताले जनप्रतिनिधि चुनेका छन् । जनप्रतिनिधिहरुको ठूलो प्रतिवद्धता छ । समृद्धिको प्रतिबद्धता छ । ठूला पार्टीहरुको दस्ताबेजहरुमा सबैभन्दा अगाडी समृद्धि र सुशासन लेखिएको छ । अहिले दुई चिज ल्याउन सकियो भने हाम्रा दाजुभाइहरुले एनआरएन हुन जरुरी छैन । हाम्रा भाइबहिनीहरु संसारका गए गुज्रेका काम गर्न बाध्य हुनुपर्ने छैन । हामी नेपालमै असल काम गर्न सक्छौ, असल वातावरण भएका संस्थाहरु निर्माण गर्न सक्छौं । निजी क्षेत्रकोतर्फबाट भन्न पर्दा त्यस्ता यावथ कामहरुमा सरकारले खुट्टा नकमाओस् ।

नेपालको समृद्धिलाई ड्राइभ गर्न सक्ने ठूलो जमात नेपालमा तयार छ । यहाँ छैन भने पनि कहिले समय आउला भनेर बाटो हेरिरहेका छन् । त्यस्ता लगानीलाई भित्रउन पर्ने हुन्छ । विदेशी संस्था विदेशी उत्पादनहरुलाई जबरजस्ती नेपाली बजारमा अवसर दिन हुदैन । नेपालमा उत्पादित वस्तु, प्रविधि र काम गर्ने मान्छेलाई प्रवद्र्धन गर्न सकियो भने यो देशबाट दश वर्षमा गरिबी निवारण गर्न सक्छौं । नेपालमा एउटा पनि गरिब नहुने गरी काम गर्न सक्छौंं । हामी अहोरात्र २४ घण्टा काम गर्न चाहन्छौं । त्यस्तो वातावरणको निर्माण गरौं हामी आफ्नोतर्फबाट सहयोग गर्न चाहन्छौं ।

संसारको धेरै मुलुकमा जाँदा उनीहरुले के भन्छन् भने हामी गरिब नरहने गरी काम गर्छौ । त्यसकारण गरिबीका कुराहरु हामीलाई नसुनाउ । हाम्रो देशमा हाम्रो कार्यक्रम नीतिहरुनै कसरी गरिबलाई संरक्षण गर्ने, कसरी गरिबै राख्ने, कसरी माथि आउनै नदिने गरी सारा भएभरको सरकारी तथा निजी संयन्त्र त्यसैमा लगाएर काम गर्छौ । त्यसकारण धनी हुन नसकेका हौं । दुई चार जना मान्छे धनी हुँदैमा यो देशको समस्या समाधान हुँदैन । नेपालमा अहिलेको अवस्था विकासको लागि डु एण्ड डाईको अवस्था हो । कि विकास गर्न सक्न पर्याे कि मर्न पर्याे । हामीसँग अर्को विकल्प छैन ।

अहिले हाम्रो स्थिति मागेर खाने, विदेशीहरुले दिएकोमा भर पर्ने हो ? ३६ हजार एनजीओ भएको हाम्रो देशमा, एनजीओ विकास गर्नेे हो भने हामी संसारको सबैभन्दा धनी राष्ट्र हुन्थ्यौं । ३६ हजार एनजिओको साटोमा ३६ हजार उद्योग भए नेपालको काँयापलट हुन्थ्यो । देउराली जनता जस्तो ५ हजार मात्रै नेपालमा उद्योग स्थापना गर्न सकेको भए हाम्रो प्रतिव्यक्ती आय ५ हजार डलर पुग्थ्यो । ५ हजार हाम्रो जस्तो कम्पनी स्थापना गर्न नसक्नेले ३६ हजार एनजिओ स्थापना गरेका छौं । अब हामीले ‘बोल्ड’ निर्णय गर्न सक्नुपर्छ नेपाल अब एनजिओले होइन काम गरेर खाने उद्योगले चलाउन पर्छ ।

त्यस्तो नीति नल्याउँदासम्म हामीले एनजीओले थालमा राखिदिएको भात, माछाको भरमा बाच्ने छौं ।राजनैतिक दलहरुले बुझ्न पर्छ ३६ हजार एनजिओ चलाएर पनि धनि नभएको हाम्रो मुलुकलाई सुधारेर धनि बनाउन पर्ने बेला आएको छ । यो सहज काम होइन । राजनैतिक दलहरुले गर या मरको नीति ल्याउनुपर्छ ।

साउथ एशियामा सबैभन्दा गरिब राष्ट्रको उद्यमी भएर म बोलिरहँदा मलाई सदैव पिडा हुन्छ । म देउराली जनतामा काम गर्न सुरु गर्दा पहिले बंगलादेशको कम्पनीसँग काम गर्यौं । पहिलो पटक म बंगलादेश जाँदा उक्त देश ४० प्रतिशतले गरिब थियोे । हाम्रो नेपाली रुपैयाँ बलियो थियो । बंगालीहरु दुःखकासाथ बसेको देखिन्थे । हेर्दाहेर्दै बंगलादेश चार गुणा धनी भयो । आज नेपालभन्दा बंगलादेश ४ सय प्रतिशत धनी छ ।

त्यस्तै हाम्रो छिमेकमा रहेको भारतसंग हाम्रो आर्थिक अवस्था समजदुरी थियो । हामी अलिकति मात्र भारतभन्दा गरिब थियौं । आज हामी भारतभन्दा साढे तीन गुणाले गरिब छौं । भारतको अर्थतन्त्र संसारको छैटो ठूलो अर्थतन्त्र भइसक्यो । हाम्रो उत्तरमा रहेको छिमेकी संसारको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकासँग तुलना गरिने देश बनेको छ । भारतको अर्थतन्त्रभन्दा साढे चार गुणाबढी अर्थतन्त्र चिन र अमेरिकाको छ । छिमेकी मुलुकहरुमा अरबौं लगानी गर्न योग्य रकम लगानी लिएर बसेका लगानीकर्ताहरु छन् । त्यसलाई नेपालमा ल्याउने र नेपालमा ल्याएर समृद्धिको मार्गमा प्रयोग गर्ने नेतृत्वको खाँचो छ । मलाई विश्वास छ अब बन्ने सरकारले त्यो लगानी भित्र्याउन सक्नेछ ।

अहिले नेपालको दुरावस्था छ । कलंकीदेखि थानकोट पुग्न दुई घण्टा लाग्छ । नौविसेबाट मुग्लिन पुग्दा ज्वरो आउछ । मुग्लिनबाट नारायणघाट पुग्न गाह्रो छ । हामीले सानो १० देखि १०० मिटरको बाटो बनाउन सक्दैनौं । १४० मिटरको पूल नौं महिनामा चिनले बनाएर देखाएको छ । हाम्रो कर्मचारी संयत्र, ईन्जिनियर, कन्ट्याक्टर्सहरु ३५ किलो मिटरको बाटो चार वर्षमा पनि बनाउन सक्दैनन् । अब काम नगर्नेलाई दण्डीत गर्ने समय आएको छ । त्यसकारण जो-जो मान्छे यसमा सहभागी छन् तिनीहरुलाई एक पटक दण्डीत गर्नुहोस् । हामी पनि त्यसमा सहभागी छौं भने हामीलाई पनि दण्डीत गर्नुहोस् अनि मात्र बल्ल डु अर डाईको परिस्थिति सृजना हुन्छ । त्यसोे नभएसम्म अगाडी बढ्न सकिदैन ।

हामी नेपालमा २ करोड ८० लाख जनसंख्या छौं । जसमा ५० हजार जना भाषण गर्न मात्र जान्ने छौं । मैले अमेरिकाको विश्व विद्यालयमा अध्ययन गर्दा बेलायतको अक्स्पोर्डमा हेर्दा बेलायतमा राजनैतिक दलको कायकर्ता पत्ता लाउन सकिन । बेलायतमा जनता र राजनीतिज्ञ मात्रै रहेछन् । कार्यकर्ता रहेनछन् । नेपालमा हरेक दलमा ४ देखि १० लाखसम्मको संख्यामा कार्यकर्ताहरु छन् । जसकारण हाम्रोमा कर्मचारी छैनन् । कर्मचारी पाउन गाह्रो छ । कि सबै कार्यकर्ता नेता छन् ।

जनतालाई, प्रध्यापक, उद्यमीलाई कार्यकर्ता बनाउने होइन उद्यमीलाई उद्यमी नै बनाउनुहोस् । हामीलाई काम गरेर खाने बनाउनुहोस् । काम नगरी मागेर खाने, मागेर समाजसेवा गर्ने, संस्था चलाउने, मागेरै एचआइभिको ट्रीटमेन्ट गर्ने, स्वास्थ्य सेवा संञ्चालन गर्ने यावत बिकृतिहरुलाई ‘अबोलिष्ट’ गर्नुहोस् । ३५० मिनेटमा नेपालको एकछेउदेखि अर्को छेउसम्म आनन्दसँग रेल अथवा गाडी चढेर जान मिल्ने गरी यातायातको विकास गर्न सम्भव छ । त्यसको लागि हाम्रो रगत पसिना बगाउन तयार छौं ।

हामी दुईओटा चिजबाट टाढा रहन सकौं । एउटा मागेर खाने मागेर ठूलठूला प्रोजेक्ट बनाउने । माग्नका सट्टा हामी आफै बनाऔं । बरु कहाँनिर ट्याक्स लगाउनु पर्छ लगाइयोस् । हामी तिर्न तयार छौं । हामी हाम्रा सानासाना भत्केका पूल बनाउनलाई विदेशी खोज्नेबाट वाक्क दिक्क भएका छौं ।

दोस्रो नेपालीहरुले कम्तिमा पनि गएगुज्रेको मुलुकमा श्रम सम्झौता गर्न हुँदैन । साच्चै श्रम सम्झौता गर्ने हो भने जापान, कोरिया, अमेरिका, बेलायत, अष्ट्रेलियासँग गरौं । जनतालाई हेर्ने दृष्टिकोणले दुई लाख डलरसम्म प्रतिव्यक्ति आय भएको मान्छेले नेपालीलाई मात्र दुई सय डलर दिएर काममा लगाउछन् । त्यस्ता निकृष्ट हिसाबले मजबुर नहुने गरी नीति बनाउन पर्छ । यस्ता चिज अबको सरकारले बन्द गरोस् ।

नेपालमा हामीले राति काम गर्न हुदैन, महिलालाई काममा लगाउन हुदैन भनेर नीति बनाएका छौं । हाम्रो भाईबहीनी/दिदीबहिनीले अर्काको मुलुकमा (कतारमा)भने राती १२ बजेसम्म असुरक्षित तवरले काम गर्छन् । नेपालमा किन गर्न नहुने । यस किसिमको परम्परा र अभ्यासलाई अब छोडौं ।

हामी औषधि बनाउने मात्र कुरा गरिरहेका छैनौं । हाइड्रो पावर, एग्रीकल्चर टेक्नोलोजी, इन्नोभेसन टेक्नोलोजी, नयाँ विश्वविद्यालयहरुको स्थापनादेखि प्रविधिसम्ममा काम गर्न सक्छौं । त्यो अवसरको सदुपयोग गर्ने गरी काम गर्ने अवसर भयो भने नेपाल सुन्दर, समृद्ध, मागेर नखानेहरुको नेपाल बन्न सक्छ । (देउराली–जनता फर्मास्यूटिकल्सस प्रालिको २७ औं वार्षिकोत्सव समारोहमा कम्पनीका कार्यकारी निर्देशक शर्माले गरेको मन्तव्यको सार )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.