२०७४ असोज ६ गते १२:०४ भीष्मराज ओझा
न्यूयोर्क, अमेरिका । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मुलुकभित्र बहुलवाद र अन्तर्राष्ट्रिय सम्बन्धमा बहुध्रुवीय नीतिलाई अनुशरण गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री देउवाले बिहीबार कोलम्बिया विश्वविद्यालयमा आयोजित ‘समावेशी लोकतन्त्र र विकासतर्फ नेपालको रुपान्तरण’ विषयक वल्ड लिर्डर्स फोरम (विश्व नेता मञ्च) लाई सम्बोधन गर्दै भने– ‘‘नेपालको यथार्थ बहुलवाद हो र यसको राष्ट्रिय शक्ति ऐक्यबद्ध संस्कृति र यहाँका जनताको धैर्यता हो ।’
यसै विश्वविद्यालयमा उहाँले दुई दशकअघि विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई सम्बोधन गरेका िथए । नेपालले शान्तिपूर्ण सहअस्तित्वसहितको पञ्चशीलको सिद्धान्तलाई अंगीकार गरी आएको बताउँदै उहाँले यसै सिद्धान्तले अनिश्चय र आरोहअवरोहबीचमा सुमधुर सम्बन्ध कायम राख्न मार्गनिर्देश गर्ने विश्वास प्रकट गरे।
शान्ति, प्रगति र समृद्धिका लागि विश्वासको वातावरण निर्माण गर्न क्षेत्रीय सहयोग अपरिहार्य रहेको बताउदै प्रधानमन्त्री देउवाले सहयोग विस्तार तथा सबै पक्षको जीतका लागि ‘कनेक्टिभिटी’ पूर्व सर्त हो भने । उहाँले भने – “ऐतिहासिककालदेखि स्वतन्त्र रहन पाएकामा नेपाल गौरवान्वित छ । नेपालले स्वतन्त्र परराष्ट्र नीतिलाई अनुशरण गर्दा नेपालले कुनै भय र झुकावबिना गुणका आधारमा हरेक मुद्दामा निर्णय लिने गरेको छ ।”
सबै पक्षसँग मित्रता कायम गर्नु र शान्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्नु नेपालको लामो समयअघि देखिको नीति रहँदै आएको पनि उहाँले स्मरण दिलाए
प्रधानमन्त्री देउवाले भने– “नेपाल आफ्ना मित्रहरुको चिन्ता र चासोप्रति सदा सजग रहेको र आफ्नै चासोमा पनि यसै किसिमको सजगताको अपेक्षा राख्छ ।”
“परिवर्तित सन्दर्भमा राष्ट्रसंघको ठूलो भूमिका र जिम्मेवारी रहेको तथ्यलाई नेपालले महसुस गरेको छ, विश्वका चुनौतीको शीघ्रातिशीघ्र सामना गर्ने कार्यलाई अझ प्रभावकारी बनाउन हामीले राष्ट्रसंघको सुधार गर्नैपर्छ” – उनले ।
विश्वभर जटिल र ध्रवीकृत वातावरण सिर्जना भएको र आर्थिक तथा वित्तीय संकटले भूराजनीतिक प्रतिस्पर्धाका लागि नयाँ सुरक्षा तथा आर्थिक परिवेश खडा गरिदिएको पनि उल्लेख गरे।
सन् २००६ मा सरकार र माओवादी विद्रोहीबीचमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि विद्रोहीले सबै निर्वाचनमा भाग लिएको र सरकारको नेतृत्वसमेत गरेको स्मरण दिलाउँदै उनले भने, ‘‘सन् २००८ मा नेपाली जनताले समावेशी चरित्रको संविधानसभालाई चुनेको र त्यसैले २४० वर्षको राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा ग¥यो ।’’
सन् २०१५ को दोस्रो संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक तथा समावेशी संविधान जारी गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने, ‘‘त्यसले शान्ति प्रक्रियालाई टुंग्याएको र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको मात्र नभई शान्ति, स्थायित्व र विकासको नयाँ युगको सूत्रपात पनि ग¥यो ।’’
Copyright © 2024 Bikash Media Pvt. Ltd.