अध्ययन समितिको निष्कर्षः काठमाडौंका दुई रुटमा स्वचालित रेल

  २०७४ भदौ २० गते १५:०३     नारायण पौडेल

काठमाडौं । काठमाडौं उपत्यकाको दुई रुटमा स्वचालित(आफैँ गुड्ने) रेल बनाउन सकिने अध्ययन रिपोर्ट तयार भएको छ । लगानी बोर्डले गठन गरेको अध्ययन समितिले काठमाडौं उपत्यकाका २ वटा रुटमा अटोमेटिड गाइडवे ट्रान्जिट(स्वचालित रेल) निर्माण गर्न सकिने निष्कर्ष निकालेको हो ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गत पुस २४ गते बसेको लगानी बोर्डको बैठकले राष्ट्रिय योजना आयोगका पुर्वाधार हेर्ने सदस्य हिरेन्द्रमान प्रधानको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । तीन महिनाको समय पाएको सो समितिले ६ महिना लगाएर अध्ययन गरेको प्रतिवेदनले उपत्यकाका २ वटा रुटमा स्वचालित रेल बनाउन सकिने निष्कर्ष निकालेको हो । ‘उपत्यकाका २ वटा रुटमा स्वचालित रेल(अटोमेटिड गाइडवे ट्रान्जिट) बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालेका छौं’, अध्ययन समितिका संयोजक प्रधानले विकासन्युजसँग भने ।


उनको अध्ययन समितिले ती दुई रुटमा स्वचालित रेल निर्माणका लागि तत्काल डिपिआर निर्माण र वित्तिय व्यवस्थापनका लागि नितीगत निर्णयसँगै विकास साँझेदार, योजना आयोग, अर्थ मन्त्रालय र अन्य सम्बद्ध निकायहरुसँग सल्लाह गर्न पनि सरकारलाई सुझाव दिएको छ । एक नम्बरका रुटका रुपमा थानकोट, कलंकी, त्रिपुरेश्वर, बानेश्वर, तिनकुने, कोटेश्वर हुँदै भक्तपुरको जगातिसम्म त्यस्तो रेल बनाउन सकिने जनाएको छ ।

दोश्रो रुटका रुपमा बुढानिलकण्ठदेखि रत्नपार्क हुँदै लगनखेलबाट गोदाबरीसम्म निर्माण गर्न सकिने जनाएको हो । समितिलाई सुरुमा तीन महिनाको समय दिइएको थियो भने पछि फेरी अर्काे तीन महिना समय थपिएको थियो । यतिबेला भने समितिको समय सकिएको छ र समितिले केहि दिन समय थप गरिदिन आग्रह पनि गरेको छ ।‘हामीले ६ महिना लगाएर अध्ययन गरेका हौं, अब निर्वाचित जनप्रतिनिधीसँग एक चरण छलफल गर्न मात्रै बाँकी छ, अध्ययन सबै सम्पन्न गरिसकेका छौं, केहि दिन समय थपिदिन लगानी बोर्डमा आग्रह गरेका छौं’, प्रधानले भने ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पनि काठमाडौंमा मेट्रो/मोनो वा अन्य प्रकारको रेल निर्माण सम्बन्धी अध्ययन अन्तिम चरणमा पुगेको बताए ।‘बोर्डले गठन गरेको समितिले अध्ययन सम्पन्न गरिसकेको छ, औपचारिकताका लागि समय थपिदिएर प्रतिवेदन ग्रहण गर्दैछौं’, अधिकारीले भने ।

काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणका लागि लगानी सम्मेलनमै चिनियाँ लगानी कर्ताहरुले प्रतिवद्धता व्यक्त गरेकाले पनि चाँडै अध्ययन प्रतिवेदन सार्वजनिक गरेर डिपिआर निर्माण थाल्ने अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.