२४ वर्षपछि आर्थिक वृद्धि साढे ७ प्रतिशत

  २०७४ भदौ ५ गते १८:०३     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि सबैभन्दा उच्च विन्दु पुगेर साढे ७ प्रतिशत भएको छ ।

गत वर्ष उत्पादनको मूल्यमा आर्थिक वृद्धि साढे ७ प्रतिशत पुगेको हो । अघिल्लो वर्ष भारी गिरावट आई ०.४ प्रतिशतमा सीमित भएको थियो । आधारभूत मूल्यमा यथार्थ आर्थिक वृद्धि ६.९ प्रतिशत हुने अनुमान गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको ०.०१ प्रतिशतमा सीमित थियो ।

अनुकूल मौसमी वर्षा, उर्जा आपूर्तिमा भएको सुधार र आपूर्ति व्यवस्थामा सामन्यीकरण हुदा गत वर्षको न्यून आधारबाट आर्थिक वृद्धिदर उच्च रहन गएको हो । ७.५ प्रतिशतको आर्थिक वृद्धिदर आव ०५०/०५१ देखि (२४ वर्ष) पछिको उच्चत्तम वृद्धिदर हो ।

कृषि क्षेत्रको उत्पादन ५.३ र गैर–कृषि क्षेत्रको वृद्धिदर ७.७ प्रतिशत रहेकोले ऐतिहासिक उच्च वृद्धिदर हासिल भएको राष्ट्र बैंकले जनाएको छ । यसबीचमा धानको उत्पादन २१.७ प्रतिशत वृद्धि भएकोले कृषि क्षेत्रमा उक्त वृद्धिदर सम्भव भएको राष्ट्र बैंकको भनाई छ ।

समीक्षा वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर १०.९ प्रतिशत रह्यो । अघिल्लो वर्ष औद्योगिक क्षेत्रको उत्पादन ६.३ प्रतिशत घटेको थियो । समीक्षा बर्षमा सेवा क्षेत्रको उत्पादन ६.९ प्रतिशतले बढेको अनुमान छ । अघिल्लो बर्ष यो क्षेत्र २.१ प्रतिशतले वृद्धि भएको थियो । पर्यटक आगमनमा वृद्धि र व्यापार एवम् सञ्चार क्षेत्रको विस्तारका कारण सेवा क्षेत्रको वृद्धिदर बढेको हो ।

विश्व आर्थिक मञ्च (वल्ड इकोनमी फोरम) ले नेपालको आर्थिक वृद्धि दर विश्वमा तेस्रो स्थानमा रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । आर्थिक वर्ष ०७४ मा कुल राष्ट्रिय खर्चयोग्य आय १३.४ प्रतिशत बढेको अनुमान छ ।

अघिल्लो वर्ष यस्तो आय ६.५ प्रतिशत वृद्धि भएको थियो । आर्थिक वर्ष ०७४ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोगको अंश ८९.७ प्रतिशत रह्यो । त्यस्तै समिक्षा अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कुल स्थिर पूँजी अनुपात ३३.८ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात २८.८ प्रतिशत थियो ।

यसैगरी, समीक्षा वर्षमा कुल गार्हस्थ्य उत्पादनमा राष्ट्रिय बचतको अनुपात ४३.८ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अनुपात ४० प्रतिशत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.