आजबाट दूधको मूल्य ६ रुपैयाँ बढ्यो, अब आधा लिटरको एक प्याकेटलाई ३५ रुपैयाँ

  २०७४ भदौ १ गते ७:१८     विकासन्युज

काठमाडौं । दुग्ध विकास संस्थानले दूध र दुग्धपदार्थको भाउ बढाएको छ। प्रतिलिटर दूधमा ६ रुपैयाँ भाउ बढेको संस्थानका प्रबन्ध निर्देशक गंगा तिमिल्सिनाले बताए। बढेको मूल्यको चार रुपैयाँ १६ पैसा किसानले दूध बिक्री गर्दा पाउनेछन्।

उद्योगको भागमा ८४ पैसा र दूध बेच्ने (बुथवाला)को कमिसन एक रुपैयाँ बढेको छ। संस्थानले तीन वर्षपछि दूधको मूल्य समायोजन गरेको हो।

भाउ बढेसँगै एक लिटर दूधको ४५/४६ रुपैयाँ पाइरहेका किसानले ५१ रुपैयाँ पाउनेछन्। यसअघि दूधको मूल्य बढ्दा बुथवालाको कमिसन २०/२५ पैसा बढ्थ्यो। यसपालि एकैपटक कमिसन बढाउनुमा बुथवालाले आर्थिक लेनदेन गरेको हुन सक्ने आशंका छ।

मूल्य बढाएसँगै आधा लिटरको प्याकेटका लागि ३२ रुपैयाँ तिरिरहेका उपभोक्ताले ३५ रुपैयाँ तिर्नुपर्नेछ। घिउ र पनिरको मूल्य प्रतिकिलो एक सय रुपैयाँ बढेको छ। घिउको मूल्य प्रतिकिलो आठ सय रुपैयाँ थियो।

मिठाइको मूल्य १२ देखि १५ प्रतिशत बढेको छ। दूधको मूल्य बढ्नु स्वागतयोग्य भए पनि यसरी डेरी उद्योगलाई फाइदा नपुर्‍याएको डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले टिप्पणी गरे। एसोसिएसनले तीन वर्षसम्म दूधको मूल्य स्थिर रहँदा किसान र उद्योग मर्कामा परेको भन्दै समायोजन गर्न दबाब दिइरहेको थियो।

तीन वर्षसम्म मूल्य स्थिर रहेका कारण हतोत्साही भएका किसानलाई चाहिँ राहत मिलेको उनले बताए। अहिले बढेको मूल्यबाट उद्योगलाई लिटरमा ८६ पैसा फाइदा भएको छ। तर दुई/दुई वर्षमा कामदारको तलब बढाउनुपर्ने भएकाले ३१ पैसा त्यसमा जान्छ, बिजुलीको पैसा बढ्न थालेकोले २० पैसा त्यसैमा जान्छ। उनले भने, ‘उद्योगका लागि तीन वर्षपछि लिटरमा ३१ पैसामात्र बढ्यो। अन्नपूर्ण पोस्टबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.