सरकारले बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप कम्पनीलाई दियो

  २०७४ जेठ ९ गते १७:२७     विकासन्युज

काठमाडौं । सरकारले चर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई निर्माण गर्न दिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले संसद्मा विशेष सम्बोधन गर्नुअघि बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री र मन्त्रीहरू बालुवाटारमा सामूहिक तस्बिर खिंचाउँदै

बूढीगण्डकी आयोजनालाई  इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले बताए ।

‘नेपालका लागि अति नै आवश्यक बुढीगण्डकी आयोजना इपीसीएफ मोडलमा बनाउन दिने मन्त्रिपरिषदले निर्णय गरेको छ’ मन्त्री काकीले भने ।

इपीसीएफ मोडल भन्नाले इन्जिनियरिङ, खरिद, निर्माण र लगानीको जिम्मा दिनु हो । यो मोडेलमा निर्माणकर्ता आफैंले लगानी जुटाउँछ ।

आयोजना निर्माणपछि यसको आयबाट नै थ्री गर्जेजलाई नेपाल सरकारले ऋण तिर्ने छ । यो आयोजनाको स्वीकृतिपछि उर्जा मन्त्रालयले चिनियाँ कम्पनीसँग यो विषयमा थप छलफल गर्ने भएको छ ।

त्यसै गरी आजैको बैठकले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो ।

त्यस्तै निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ । बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरुले सामूहिक फोटो खिचेका छन् । सामूहिक फोटो खिच्नुको अर्थ दाहाल सरकारको यो अन्तिम बैठक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.