सिद्धार्थ डेभलपमेन्ट बैंकमा फेरी चुनाव हुने, जेठ १२ गते विशेष साधारणसभा

  २०७४ वैशाख ११ गते १८:३२     विकासन्युज

काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकको सञ्चालक समितिको लागि पुनः निर्वाचन हुने भएको छ । मंसिर २४ सम्पन्न साधारणसभाले चयन गरेको सञ्चालक समितिलाई कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता नदिएपछि सञ्चालक समितिको निर्वाचन फेरी हुन लागेको हो  ।

मंसिर २४ गते सम्पन्न साधारणसभामा गणपुरक संख्या नै नपुगेको भन्दै असन्तुष्ट पक्षले कम्पनी रजिष्ट्रारको कार्यालयमा पुन साधारणसभाको माग गरेका थिए । असन्तुष्ट पक्षको माग उचित रहेको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले पुन साधारसभा गर्न बैंकलाई निर्देशन दिएको छ ।

‘मंसिरमा सम्पन्न भएको साधारणसभाको प्रक्रिया नमिलेको भन्दै केही सेयरधनीबाट उजुरी आएपछि हामीले दुबै पक्षलाई बोलाएर पुन साधारणसभा गर्न भनेका छौं । जेठ १२ गते साधारणसभा गर्ने विषयमा दुबै पक्षबीच सहमति भएको छ’ रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले विकासन्युजसँग भने ‘साधारणसभा भएपछि त्यहा सबै सेयरधनी सहभागी हुन सक्छन्, सबै विषयमा छलफल हुनसक्छ, विधि र प्रक्रियाअनुसार गर्नु पर्ने निर्णय सबै त्यहीबाट हुन्छ ।’

जेठ १२ गतेको लागि विशेष साधारणसभा गर्ने सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । विशेष साधारणसभामा सञ्चालन समितिको निर्वाचन र जनता बैंक नेपालसँग गाभिने विशेष प्रस्तावको रुपमा पेश गरिने उनले बताए । मंसिरमा सम्पन्न १७ औं वार्षिक साधारणसभाले गरेको अरु निर्णय यथावत रहने र सञ्चालक समितिको निर्वाचन पुन गरिने उनले जानकारी दिए ।

मंसिरमा सम्पन्न साधारणसभाले रामबहादुर भण्डारी, खेमराज पन्त, रतनलाल अग्रवाल, बद्री खनाल, मिलन कुमार कार्की र रबिनमान अमात्य सञ्चालक बनाएको थियो । भण्डारी, पन्त, खनाल र कार्की निर्वाचन अघि पनि सोही बैंकमा सञ्चालक थिए । रतनलाल अग्रवाल र रबिनमान अमात्य नयाँ सञ्चालक भएका थिए । पहिलाको  सञ्चालक धुब्रप्रसाद ढकाल र शंकर ज्ञवाली बाहिरीएका थिए ।

जनता बैंकमा गभिएको अवस्थामा अब बन्ने सञ्चालक समिति करिव ढेड महिना रहनेछ । दुबै बैंकले असार मसान्तसम्म गाम्ने गाभिने कार्य सम्मन्न गर्ने उदेश्यका साथ काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.