मुक्तिनाथको आकर्षक लाभांश प्रस्ताव, वितरण हुँदै गरेको हकप्रद समेतको पाउने

  २०७६ कार्तिक ८ गते १४:२३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई १८.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई चुक्ता पुँजीको १७.६० प्रतिशत बोनस र ०.९३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने घोषणा गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल वितरण भइरहेको २० प्रतिशत हकप्रद सेयर ६१ करोड २९ लाख रुपैयाँबाट लाभांश दिन लागेको हो । त्यसैले, प्रस्तावित लाभांश हकप्रद किन्ने सेयरधनीले पनि पाउने छन् ।

हाल बैंकको चुक्ता पुँजी तीन अर्ब ६ करोड रुपैयाँ रहेको छ । १७.६० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी तीन अर्ब ६० करोड रुपैयाँ नाघ्ने छ । हालको चुक्ता पुँजी अनुसार संस्थाको लाभांश २२ प्रतिशत हुने छ ।

संचालक समितिको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्रै अन्य तथा हकप्रद सेयर किन्ने दुबैले पाउने छन् ।