महालक्ष्मी विकास बैंकको एजीएम कात्तिक २९ गते, १७ प्रतिशत लाभांश सहित सञ्चालकको भत्ता वृद्धि गर्ने प्रस्ताव

  २०७६ कार्तिक ८ गते १२:२५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आगामी कात्तिक २९ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । सो प्रयोजनको लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म (१० दिन) संस्थाको बुक क्लोज हुने छ ।

सभामा संस्थाले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव लैजाँदै छ । संस्थाले सेयरधनीलाई गत आर्थिको वर्षको नाफाबाट चुक्ता पुँजीको ९.८९ प्रतिशत नगद(कर समेत) र ८ प्रतिशतका दरले बोनस सेयर दिने प्रस्तावलाई सभामा पारित गर्ने छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुबिधा वृद्धि गर्ने विशेष प्रस्तावलाई पनि अनुमोदन गर्ने छ ।

बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा प्राप्ती/गाभ्ने वा गाभिने प्रक्रियाको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ ।

त्यस्तै, बैंक सञ्चालक समितिको निर्णय तथा नेपाल राष्ट्र बैंकको स्वीकृत पत्र बमोजिम सेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५२.४९ प्रतिशत र सर्वसाधारण समूहको ४७.५१ प्रतिशत कायम गर्ने प्रस्ताव रहेको छ । हाल संस्थापक सेयरधनीको स्वामित्व ५३.९८ र सर्वसाधारणको ४६.२ प्रतिशत कायम रहेको छ ।