२०७४ चैत १३ गते १८:४० विकासन्युज
काठमाडौं । नेपाल उद्योग परिसंघद्वारा परिसंघ–प्रवुद्ध परिषदको सहयोगमा तयार गरिएको समृद्धिको मार्गचित्र सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलिले ‘समृद्ध नेपाल सुखी नेपाली’को आफ्नो परिकल्पनालाई परिसंघले प्रस्तुत गरेको आर्थिक समृद्धिको मार्गचित्रले थप टेवापुग्ने विश्वास व्यक्त गरेका थिए । उनले मुलुक अब दीगो विकासको साथसाथै छिटो विकास नभए अन्य मुलुकहरुको तुलनामा विकासको गति पछाडी पर्ने जानकारी गराए ।
सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि एवं औद्योगिक विकासको लागि जीवन उपयोगी शिक्षाको आवश्यकता भइ मुलुकमा दक्ष जनशक्तिको खाँचो टड्कारो रुपमा रहेको बताए । ‘आफुले चाल्ने प्रत्येक कदम विकासको कदम हुनेछ,’ उनले भने ‘भ्रष्टाचारमा शून्य सहनसिलताको नीति कडाइका साथ लागू गरिने छ ।’
त्यस्तै उनले लगानीका सम्भाव्य क्षेत्रहरु निजी क्षेत्रले पहिचान गरी अझ बढी परिष्कृत र थप छलफल गर्नु पर्ने जनाए । उनको अनुसार परम्परागत प्रविधिबाट उन्मुक्ति लिदै नयाँ प्रविधि प्रयोग गर्न र सहश्राब्दी विकास लक्ष्यले अंगीकार गरेको उत्पादन र रोजगारी सृजनामा जोड दिन सकेमा मात्र व्यापार घाटा घट्नेछ । सरकार यसै वर्षदेखि व्यापार घाटा घटाउन ठोस योजना तथा कार्यक्रम ल्याउने तयारीमा गरिरहेको उनले जानकारी दिए ।
सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन औद्योगिक लगानीको लागि पूँजीको आवश्यकता हुने हुँदा सबै सम्भाव्य क्षेत्रहरु खुल्ला हुनु पर्ने बताए । उनले स्मार्ट व्यवसायको सन्दर्भमा सूचना प्रविधि लगायत सबै क्षेत्रमा नवीन प्रविधिको प्रयोगमा जोड दिइने धारणा राखे ।
दिर्घकालीन लगानीसँगै दिर्घकालीन पूँजी आवश्यक पर्ने यथार्थतालाई औल्याउदै उनले उद्योग सञ्चालनमा जग्गा प्राप्तिको समस्यालाई समाधान गर्न सरकार निजी क्षेत्रसँगै मिलेर अघि बढ्ने किसिमको नीतिगत व्यवस्था हुने जानकारी गराए ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्यसँगै मुलुकमा बहुप्रतिक्षित राजनीतिक स्थायीत्वको सम्भावना बढेर गएको विचार व्यक्त गरे । यो सम्भावनालाई एउटा सक्तिशाली आर्थिक तथा सामाजिक रुपरेखाको अवसरमा परिणत गर्दै मुलुकलाई दिगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पुर्याउने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारको काँधमा आएको बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.