२०७४ फागुन २५ गते १५:४३ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर संघको उपाध्यक्षमा किशोर प्रधान विजयी भएका छन् ।
महासंघको शुक्रबार सम्पन्न निर्वाचनमा प्रधानले ६५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उपाध्यक्षका उमेदवार एवं वर्तमान कार्यकारिणी समितिका सदस्य निरक केसीले ३३ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित उपाध्यक्ष प्रधान महासंघमा यसअघि विक्रम सम्बत् २०७०–७३ को कार्यकालमा जिल्ला/नगर उपाध्यक्ष थिए ।
नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई महासंघका अध्यक्ष भवानी राणाले आजै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।
राणाले रिक्त जिल्ला/नगर उपाध्यक्षमा नवनिर्वाचित उपाध्यक्ष प्रधानलाई बधाई दिँदै महासंघको वर्तमान पदाधिकारीले पूर्णता पाएको र अब मुलुकको आर्थिक विकासमा आफ्नो टिम पुरा समय लाग्ने प्रतिवद्धता जनाएकी छिन् । निजी क्षेत्रका अगाडी निकै धेरै चुनौतीहरू रहेको विद्यमान अवस्थामा आफ्नो टिमले सशक्त भूमिका निर्वाह गर्ने उनले बताइन् ।
नवनिर्वाचित उपाध्यक्ष प्रधानले महासंघमा आफ्नो लामो अनुभव र उद्योग व्यवसायलाई समेत आफूले नजिकबाट बुझेकाले आफ्नो कार्यकालमा महासंघलाई अगाडी बढाउन आफूले पुरा समय दिने बताएका छन् । उनले अव महासंघका जिल्ला/नगर उद्योग वाणिज्य संघहरु र प्रदेश उद्योग वाणिज्य महासंघलाई मुलुक नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा सोही अनुसार अगाडी बढाउने धारणा राखेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.