२०७४ असोज ४ गते १८:५१ विकासन्युज
काठमाडौं । नेपाल खाद्य संस्थानले दसैंतिहारका लागि मुस्ताङबाट पाँच सय च्यांग्रा काठमाडौं ल्याएको छ । बुधबार विहान खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालय (धान गोदाम) मा आइपुगेको हो ।
संस्थानले खसीबोका र च्यांग्रा दुवैको मूल्य पनि तय गरेको संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । संस्थानको बुधवार बसेको संचालक समिति बैठकले खसोबोका र च्याङग्राको मूल्य निर्धारण गरेको हो । निजी व्यवसायीले बिक्री गर्ने भन्दा किलोमा ३५ रुपैयाँ सस्तो छ । संस्थानले बिहिवारदेखि च्याङग्रा बिक्री सुरु गर्नेछ भने खसीबोका भने आउनेवित्तिकै बिक्री गर्ने जनाएको छ। संस्थानले १५ सय खसीबोका र एक हजार च्याङग्रा ल्याउनेछ ।
संस्थानले जिउँदो खसी किलोको ४ सय ५५ रुपैयाँ र बोका किलोको ४ सय ५० रुपैयाँमा बिक्री गर्नेछ । संस्थानले ल्याएको च्याङ्ग्रा किलोको ६ सय ७५ रुपैयाँमा बिक्री गर्ने भएको छ । उनले भने, ‘हामीले च्यांग्रामा उपभोक्तालाई १० रुपैयाँ छुट दिएका छौं ।’ निजी व्यवसायीले खसी किलोको ४ सय ९० रुपैयाँमा बिक्री गरिरहेका छन् । सापकोटाले अरु च्याङग्रा आइतबारसम्ममा आइपुग्ने जानकारी दिए। दुर्इ सय खसीबोका बिहिबारसम्ममा काठमाडौं आइसक्ने उनले जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.