२०७३ फागुन ९ गते २२:३२ विकासन्युज
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । संविधानसभाबाट संविधान जारी भएको डेढ बर्षपछि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गरेको छ ।
राजनीतिक दलहरुबीच निकै लामो रस्साकस्सी पछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्नको लागि पहिलो चरणमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो । सरकारले निर्वाचनको मिति घोषणासँगै भोली मंगलवार बस्ने संसदको बैठकमा संविधान संशोधन विधेयक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
सरकारले निर्वाचनको मिति घोषणा गरे आन्दोलनका लागि मधेस फर्कने रणनीतिसहित मधेसी मोर्चाका नेता दिनभर तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेका थिए। सरकारले निर्वाचनको मिति तय गरेपछि उनीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।
निर्वाचन गर्ने निर्णय गरे लगत्तै मधेसी मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा सहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। मोर्चाले फागुन १० बाट मधेसमा आन्दोलन गर्ने निर्णय गरेको हो। मोर्चाले १० गते जुलुस, ११ गते मधेस बन्द र १२ गते देखि १५ दिनसम्म भण्डाफोर कार्यक्रम चलाउने घोषणा समेत गरेको छ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.