२०८० जेठ ७ गते १८:२३ विकासन्युज
काठमाडौं । पछिल्लो समय अर्थतन्त्र सहज बन्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन पनि बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप झण्डै ५५ खर्ब रुपैयाँ पुगेको छ ।
गत जेठ ४ गते बैंक तथा वित्तीय संस्थाहरुको ७ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएर ५४ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो दिन अर्थात् जेठ ३ गते बैंक तथा वित्तीय संस्थाहरुसँग ५४ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप थियो । अघिल्लो दिनको तुलनामा बैंकहरुले एकै दिन ७ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन् ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको ७ अर्ब रुपैयाँ बढेर ४८ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । अघिल्लो दिन बैंकहरुसँग ४८ खर्ब ३८ अर्ब रुपैयाँ थियो । यस्तै, अन्य बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब ४९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुले एक अर्ब रुपैयाँ कर्जा बढाएका छन् । गत जेठ ४ गते ४८ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरुले जेठ ३ गते ४८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
वाणिज्य बैंकहरुले ४२ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो दिन ४२ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अन्य बैंक तथा वित्तीय संस्थाहरुले भने ५ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बैंकहरुको निक्षेप संकलनमा वृद्धि भइ कर्जा प्रवाहमा कमी आउँदा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो पनि सहज हुँदै गएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंकहरुको सीडी रेसियो ८४.८२ प्रतिशत रहेको छ । अन्तर बैंक ब्याजदर ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.