२०७९ फागुन २५ गते ८:३३ विकासन्युज
काठमाडौं । माई खोला हाइड्रोपावरले आज फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७ सय रुपैयाँ बराबरका १ सय दरका ३ लाख ९२ हजार १५७ कित्ता आयोजना प्रभावित क्षेत्र इलामका बासिन्दाका लागि निष्कासन गरेको हो । यस्तै, १ लाख ५२ हजार ९४१ कित्ता सेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा चैत ९ गतेसम्म आवेदन सदन सकिनेछ । यदि कम्पनीको आइपीओमा पूर्ण आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीय बासिन्दाले हाइड्रोपावरको कार्यालय, प्रभु बैंक, सेञ्चुरी बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालयका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइन व्यवस्थाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र अनलाइनमार्फत ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्युअर बिबी प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाममा तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान भई बिक्रीसमेत गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.