२०७९ भदौ १ गते १५:३५ विकासन्युज
काठमाडौं । पूँजी बजारमा लगानीकर्तामा अन्यौलता देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३६ प्रतिशत घटेर २०४०.७० अंकमा बन्द भएको छ । लगानीकर्तामा अन्यौलता देखिएपछि बजार सामान्य घटेको हो । यसअघि हिजो दोहोरो अंकले घटेको थियो ।
बजार घट्ने वा बढ्ने भन्ने स्पष्ट रुपमा लगानीकर्ताले छुट्याउन नसक्दा बजारमा यस्तो अवस्था आएको लगानीकर्ता बताउँछन् । पछिल्लो समय सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा असन्तुष्ट बनेका लगानीकर्ता मंगलबार राष्ट्र बैंकले आर्थिक गतिविधि सार्वजनिक गरेपछि अन्यौलता कायम भएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देशको अर्थतन्त्र सुधार हुँदै गएपछि पनि लगानीकर्तामा प्रभाव परेको हुन सक्ने सेयर विज्ञ बताउँछन् ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि ह्वात्तै घटेको छ । बुधबार दिनभरिमा २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर २६ हजार १९९ पटक किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि मंगलबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार बैंकिङ्ग समूह ०.२८ प्रतिशत, ट्रेडिङ्ग समूह ०.१८ प्रतिशत, होटल एण्ड टुरिजम समूह ०.०१ प्रतिशत, अन्य समूह ०.२२ प्रतिशत, जीवन बीमा समूह ०.४८ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.२ प्रतिशत घटेको छ ।
यस्तै, विकास बैंक समूह ०.६१ प्रतिशत, हाइड्रोपावर समूह ०.६८ प्रतिशत, फाइनान्स समूह ०.४४ प्रतिशत, निर्जीवन बीमा समूह ०.४१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.०५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२ प्रतिशत बढेको छ ।
बुधबार दिनभरिमा स्वेतगंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, मन्दाकिनी हाइड्रो, अपर हेवीखोलाको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यस्तै, बुधबारका दिन सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य ५.१४ प्रतिशत घटेको छ । आज पनि रिडी पावरको २ लाख ८६ हजार ८६० कित्ता सेयर १ हजार १४८ पटक किनबेच हुँदा १८ करोड ४३ लाख ११ हजार ८९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.